विप्लव नेतृत्वको नेकपाका जनपरिषद् प्रमुख शाही गिरफ्तार

कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको जनपरिषद्का कालिकोट प्रमुख धनराज शाहीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
पार्टी निकट भेरी कर्णाली वुद्धिजीवि परिषदका इन्चार्ज समेत रहेका शाहीलाई प्रहरीले सोमबार विहान गिरफ्तार गरेको कालिकोट प्रहरीले जनाएको छ ।
विहान ११ बजेतिर शाहीलाई कालिकोटकै रातागामबाट सोमबार विहान ११ बजेतिर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर हरि बस्नेतले जानकारी दिए ।
प्रहरीले शाही बसेको घरलाई घेरा हालेर गिरफ्तार गरेको थियो । शाहीको साथबाट महत्वपूर्ण दस्तावेज बरामद गरेको प्रहरीले दाबी गरेको छ
प्रहरीले शाहीलाई मंगलबार अदालतमा पेश गर्ने तयारी गरेको छ ।
सरकारले प्रतिबन्ध लगाएपछि जिल्लामा सुरक्षाकर्मीले नेकपाका नेता-कार्यकर्ताको निगरानी बढाएको छ । नेकपाका नेता-कार्यकर्ता भएको जानकारी पाएपछि प्रहरी जिल्लाका विभिन्न स्थानहरुमा पुग्ने गरेको छ ।
प्रहरीले गाउँमा गस्ती बढाएपछि स्थानीयबासी विगत दशवर्षे जनयुद्धलाई सम्झिरहेका छन् ।