हेमन्तप्रकाश पक्राउः सरकार र प्रहरी प्रशासनले ठूलै सफलता

काठमाडौं । नेकपा विप्लव समूहमाथि प्रतिबन्ध लगाएको ११ औं दिनमै शीर्ष नेता मध्येका एक पक्राउ परेका छन् । यसलाई सरकार र प्रहरी प्रशासनले ठूलै सफलता मानेको छ ।
बम विस्फोट लगायतका हिंसात्मक गतिविधि बढाएपछि मन्त्रिपरिषद्बाटै २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । स्रोतका अनुसार त्यसबेला नै विप्लव समूहका शीर्ष नेताहरुले पक्राउ गर्ने रणनीति बनाइएको थियो ।
पहिलो निशानामा परे, हेमन्तप्रकाश ओली । विप्लव समूहको मध्य कमाण्ड इन्चार्ज रहेका उनले नै १० फागुनमा नख्खुमा भएको बम बिष्फोटको जिम्मेवारी लिएका थिए । त्यसवेलै उनी प्रहरीको नजरमा परेका थिए । तर, कल डिटेलले उनलाई उपत्यकाबाहिर देखाएपछि विप्लवका पूर्वअंगरक्षक सूर्य भुजेल पक्राउ परे ।
त्यसपछि पनि बेलाबेला सञ्चारमाध्यममा छाइरहेका उनी २८ फागुनमा समूहमाथि प्रतिबन्ध लागेपछि पुनः प्रहरीको ‘हिट लिस्ट’मा परे । त्यसक्रममा मंगलबार बिहान उनलाई पछ्याउँदै प्रहरी टोली काभ्रेको काफलडाँडासम्म पुगेको थियो । तर, चार जना पक्राउ पर्दा उनी भाग्न सफल भए ।
काफलडाँडाको त्यो प्रहरी अपरेशनको तीन दिनपछि शनिबार बिहान काभ्रेकै खानीखोला–७, मिल्चेबाट वलीसहित ९ जना पक्राउ परेका छन् ।
प्रहरी स्रोतका अनुसार विकट क्षेत्र डाँडापारीमा सेल्टर बनाएर बसेको सूचनाका आधारमा सर्च अभियान चलाइएको थियो । शुक्रबार राति प्रहरी टोली त्यसतर्फ गएको थियो ।
स्रोतका अनुसार ५ वटा मोटरसाइकलमा २ जनाको दरले १० जना सिभिल प्रहरी गएको थियो भने त्यसपछि दुईवटा बोलेरो तथा एउटा भ्यानमा प्रहरी टोली खटिएको थियो । त्यही टोलीले स्कपिओ चढेर ललितपुरतर्फ आउँदै गएका हेमन्तप्रकाश वलीलाई पक्राउ गरेको हो ।