‘भोग’-कबिता
✍️हेमन्त गिरी, जापान
मलाई नौनी जस्ता छोरी हैनचट्टान जस्तो छोरो चाहिएको थियो !
छोरीहरू पिलित्त रोइदिन्छन
अनि मिसाइदिन्छन
नुनिला आँशुलाई नुनिलै पसीना संग
र
बनाइदिन्छन ज़िन्दगीलाई चर्को !
भन्नेले जे भनून
चर्को ज़िन्दगीलाई पानी खुवाइरहन
गरीबहरू संग न समय हुन्छ
न धारो, मूल र जरूवा !
त्यसैले मलाई छोरै चाहिएको थियो !
आज ओझेल नपरुन्जेल हेरिरहेछु तँलाई,
देखिरहेछु-
सानो छाप्रो अड्याइरहेको बलियो ढ़ूँगो पग्लिरहेछ
र
बगिरहेछ अरब सागर तिर !
चढाएँथें कैयौं ‘भोग’ देउताहरूलाई
तँलाई जन्माइदिन भनी
कैयौं ‘भोग’ राजाहरूलाई
तँलाई बँचाइदिन भनी
अनि
कैयौं ‘भोग’ नेताहरूलाई
तँलाई नलखेटून् भनी !
सोंचिरहें सधै-
दिइरहने म, गरीब हुँदै हैन
म गरीब कैलै छँदै थिइन !
तर आज लाग्दैछ-
यही पल देखि म गरीब हुँदैछु !
गरीबहरू रहर गर्दैनन छोरा,
गरीबहरू भाकल गर्छन !
ती निर्दोश परेवाहरू,
ती पेट काटेर चढाइएका भेटीहरू
अनि
ती रगत र पसीनासंग मुछिएका सपनाहरू
सबको साउँ-ब्याज चुकाउन भनी !
आज उपस्थित छु विमानस्थालमा
सिंगो छोरो नै ‘भोग’ चढाउन भनी !
मैले त पढिन अक्षरहरू
सिकाउनेले के सिकाएछन खै !
गाउँथिस् सधै-
‘देशले रगत मागे,मलाई बली चढाउनु
रूँदिनन मेरी आमा हुन नेपालकी छोरी’
भन्नेले भने,मान्नेले मानियो
तर
आज चुपचाप बिद्रोह गरिरहेछ मन-
‘देशले रगत माग्दैन
देशले पसीना पनि माग्दैन
देशले कहिलै केही माग्दैन
देश खाने दाह्राहरूले रहेछ सबथोक माग्ने
तँ र म दुबै ढाँटिएका रहेछम् !’
तेरा कलिला आँखाले हेरिरहन्थे
मेरा पटपटी फुटेका पैतालाहरू
र
सोधिरहन्थे मौन प्रश्नहरू-
‘बाको खुट्टामा चप्पल
कुन व्यवस्थाले दिलाउँछ ?’
प्रश्नहरू विद्रोह रहेछन
त्यतीबेला बुझ्न सकिन मैले !
ढाँटिरहें इशारै इशारामा तँलाई-
‘मेरा खाली पैतालाले
देशको माटो टेकिरहेछन बेटा,
म यसैमा खुसी छु !’
बनिन विद्रोही र गरिन प्रश्नहरू
खनिरहें एकोहोरो
आशाको बाँझो जमीन !
हिसाब नै गर्ने हो भने
आधा पृथ्वी खनें हुँला पुरै जीवन
तर
एक इंच पनि बढेन तँ खेल्ने आँगन !
र त
बनिस् होला तँ बिद्रोही
र
अटाइनस् होला आँगनमा !
कोही ’बन्न’
कोही त ‘भोग’ चढ्नै पर्छ रे छोरा !
मेरो आंगन भत्किएको आजको दिन
साइत पनि कस्तो,
‘उहाँहरू’ नीको हुन जाँदै हुनुहुन्छ !
‘उहाँहरू’ नीको हुनु पर्छ
‘उहाँहरू’ हाँसिरहनु पर्छ
‘उहाँहरू’ बाँचिरहनु पर्छ !
हामी हो-
दुख़िरहनु पर्ने
थला परिरहनु पर्ने
थातथलो छोडिरहनु पर्ने !
मलाई थाहा छ छोरा,
यो ‘महाभोग’को लागि
म सकिनसकी ‘उभिएको’ तस्वीर
कसैले खिचिरहेछ पछाडीबाट !
कसले खिच्ला त्यो दिनको तस्वीर
जुन दिन तँ, म वा तेरी आमा
बन्धकी आँगनमा
कहिलै ‘नउभिने’ गरी निदाइरहेका हुनेछौं !
खैर..
यती नैबेला भने
यो कोतमा जहाँ
दिनहुँ हज़ारौं छोरा-छोरी
भोग चढिरहन्छन,
म तँलाई ‘भोग’ चढाई
गरीबको गणना नहुने गणतन्त्रका
पितालाई हँसाउन हाजिर छु
मातालाई बँचाउन हाजिर छु !
‘उहाँहरू’ छिट्टै नीको भएर फर्किनुहोला,
तँ के कसरी फर्किन्छस् दैव जानून !
कबिता कबिको फेसबुका पेजबाट लिएको हो भने तस्बिर पत्रकार राजु स्याङ्ताङको पेसबुकबाट लिएको हो ।