Logo

मुन्धुम भित्र यौन मनोविज्ञान खोज्दै पत्रकार प्रदीप मेन्याङ्बो


नरेश फुयाँल
०४६ सालको आन्दोलनदेखि ०६५ सालसम्म प्रदीपले निकै कविता लेखे । धरानमा कविता तथा गजल प्रतियोगिता भइरहन्थे । अधिकांश कथा, कविता तथा गजल प्रतियोगितामा उनकै कविताले बाजी मार्थे । दुईचार जनाको बधाई पाउँथे । मौका परे साँझ साथीभाइसँग बस्यो । पेग थपिँदै गएपछि गफको पारो पनि भर्याङ चढ्थ्यो । फुर्काउने फुर्किने क्रमको उचाइले पनि गति लिन्थ्यो । युवा मन, प्रदीप फुरुङ्ग पर्थे । जोशिन्थे लेख्न । लेख्थे उस्तै कविता । अनि त्यो पनि प्रथम हुन्थ्यो ।
लेख्ने क्रम बाक्लिँदै गयो । कथा, कविताको संख्या थपिँदै गयो । समकालीनहरूका पनि कथा, कविताहरू आइरहेका थिए । उनीभन्दा पछिल्लो पुस्ता पनि कविता च्यापेर आइरहेका थिए । धरानमा उनी प्रथमका सधैँ दाबेदार तर धरान मात्रै नेपाल थिएन । चारै फन्को मार्दा अचानक उनका कविता उनी आफैँलाई फिका पो लाग्न थाले । समकालीनसँगै पछिल्लो पुस्ता कवितामा छुरा भएर आइसकेको थियो । प्रदीपले तुलना गरे, आफ्ना कविता निम्छरा पाए । अरुका कविता अट्हासको हाँसो हाँसिरहेका जस्ता, आफ्ना कविता मुस्किलले ङिच्च दाँत देखाएर हाँस्न खोेजे जस्ता मात्रै ।
आम मान्छेले लेख्ने कविता लेख्नु आफू र आफ्ना पाठकका लागि समयको बर्बादी ठाने । प्रदीपको कलम कवितामा सुस्तसुस्त चल्न थाल्यो । प्रतियोगितामा भाग लिन छोडे । र छाप्न पनि ।
उनलाई अलग धारका कविता नलेखे भीडमा हराइन्छ भन्ने लाग्यो । सुरु गरे लिम्बूहरूको वेद मुन्धुम अध्ययन गर्न । जहाँ उनले भेट्टाए आफूले खोजेस्तै विषय, यौन । यौन मनोविज्ञानमा पीएचडी गर्ने सपना बोकेर हिँडेका प्रदीपको पक्षमा समयको वहाव बगेन वा उनले समयको बेगसँग तालमेल मिलाउन सकेनन् । उनको सपनामा समयले अन्तरघात गर्यो । उनले यौन मनोविज्ञानमा पीएचडी गर्न पाएनन् । यौन मनोविज्ञानमा पीएचडी गर्न भनेर भारतबाट धरानको ‘रमेश बुक’मार्फत हिन्दी भाषाका ४० हजारका पुस्तक झिकाए । तर पनि भने जस्तो भएन । पीएचडीको उनको सपना पूरा हुने बाटोतर्फ लहसिएन । त्यसैले प्रदीप मुन्धुमभित्रको यौन मनोविज्ञानमा खेल्न थाले ।
मुन्धुममा व्रह्माण्ड उत्पतिदेखि मानव सृष्टिसम्मको कुरा छ । जन्म र मृत्य संस्कारका कुरा छन् । जति अध्ययन गरे पनि नसकिने जस्तो लाग्ने मुन्धुमभित्रको यौन मनोविज्ञान भित्र पसे । त्यतै रमाउन थाले ।
सत्य हो या बनावटी रु देखेको कसैले छैन । प्रमाण पनि कतै भेटिँदैन । तर त्यसमा धेरै कुरा लेखिएका छन् । तीन दिन तीन रात वाचन गरिने तङसिङ तक्मामा लिम्बू भाषाका मिथक छन् । त्यसलाई कवितामार्फत रङ्गरूप दिने काम गरिरहेका छन् प्रदीप यतिबेला । जसले उनका कविताहरू फरक भएका छन् । कविताहरूको भीडमा फरक पहिचान र स्वाद बोकेर स्वाभीमानको दरो खुट्टो टेकेर उभिएका छन् । फरक स्वाद त पाठकलाई दिइरहेका छन् नै सँगै जाति विशेषका मिथकलाई पनि नयाँ पुस्तामाझ फैल्याइरहेका छन् । यौन सारा जगतले प्रयोग गर्दै आएको छ । फरक यति हो त्यसलाई कसरी प्रस्तुत गरिएको छ । कतै लुकाइएको छ कतै खुलेआम भन्ने प्रयास गरिएको छ ।
० ० ०
मुन्धुम भित्र मुजिङ्ना भन्ने एउटा पात्र छ । वर्णन गरिएअनुसार उनी प्रथम स्त्री पात्र हुन् धर्तीकै । उनले संभोग गरेको वर्णन मुन्धुम भित्र बडो विचित्रको छ । मुजिङ्ना त्यतिबेला यो पृथ्वीमा हुन्छिन्, जुन समय पुरुष पात्र नै हुँदैन । तागेरा निङ्वा फु माङले उनलाई बनाएर छाड्यो । उनको उमेर बढ्दै गयो । उमेर मात्रै बढेन । उमेरसँगै उनको यौन चाहना पनि बढ्दै जान्छ । यौनको भोक मेटाउन उनी चारैतिर दौडिन्छिन् । उत्तरमा पहाडतिर, दक्षिणमा तराईतिर । सुसेलिन अनेक गरिन् तर उनको यौन तृष्णा मेटिएन ।
यौन प्यास मेटाउन उनी पडहाडको माथि डाँडामा पुग्छिन् । त्यहाँ ठूलो रुख हुन्छ । कापे परेको रुखको बीचमा उनी बस्छिन् । र, सुसेल्छिन् । त्यही समय उनको योनीभित्र हावा छिर्छ । यौन तृष्णाले विक्षिप्त भएका बेला अचानक हावा झोक्का जोडले पस्दा उनको यौन प्यास मेटिन्छ । कतिले यसलाई हावा भन्दा पनि त्यो समयको राजा लेप्मुहाङ आएर यौन क्रिडा गरेर गयो तर यौनको भोकले विक्षिप्त भएकी उनले थाहा पाइनन् भनेका छन् तर यसको चित्त बुझ्दो ठोस जवाफ भने कतै उल्लेख छैन । त्यही प्रसंगको सेरोफेरोमा प्रदीपले भने कविता जन्माए
कुमारी मुजिङ्ना र सम्भोग अनुभव
फक्ताङलुङ एक्लै उभिएर
घामको रापले सृष्टीको हिउ हाँसेको बेला
प्रथम रजश्वला पछि छक्क पर्दै
कामुकताको बयेलीमा मातेर
सम्भोग सम्भोग सम्भोग अलाप्दै
उहिलै उहिलै नालिङ्गेन थाङ्बेन नहुनुरनपाउनुको पीडामा
व्याकुल भइन् रे
सिसागेन मेन्छ्या कुमारी मुजिङ्ना
अर्थात ऊ आदिम एक्लो स्त्री ।
० ० ०
क्वाण्टम थेउरी अनि सापेक्षताको कल्पना हुनु अगाडि
आदिम वैज्ञानिक तागेरा निङ्वाफुमाङ्ले
भर्खरैमात्र निराकार ग्यालेक्सीको सृष्टी गरेर फर्केका थिए ।
ग्यालेक्सीमा उसको सृजनासँगै सबैथोक दिए,
बैंसले उन्मत कुमारी मुजिङ्नाका लागि
रजश्वला पछिको सम्भोग मेट्ने
आदिम पुरुष दिन बिर्से रे ।
तागेरा निङ्वाफुमाङको सानो भूलले
कुमारी मुजिङ्ना
अर्थात उहिलेको ग्यालेक्सीको आदिम एक्लो स्त्री
आफ्नो सुन्दर सुडौल आदिम देह आफैँ सुम्सुम्याउँदै
आदिम पुरुषको खोजीमा भौतारिन रे ।
० ० ०
खुला ग्यालेक्सीमा छरिएको कुहिरो मुनि
सायद, याक्थुङ लाजेको पहाडको शिखरमा पुगेर
लालपातीको पात थरथरी कामेका कामुक ओठले च्यापिन् रे
र तृष्णाको लयमा सम्भोग गीत सुसेल्दै
इन्द्रधनुषी परेलीले सजिएका चिम्सा आँखा भित्रका
पुतली नचाएर
सिनयुक लाजे तिर नजर घुमाउँदै
वासनाको सुरिलो आवाज निकालिन् रे
सम्भोग सम्भोग सम्भोग ।

० ० ०

कहिलै नगरिएको, नजुरेको, नभएको आदिम सम्भोग स्वादका लागि
आदिम स्त्रीको आमन्त्रण आह्वान गर्दैै चिच्याउँदा
मौन निराकार क्षीतीजको भित्ताहरु थर्किएर
ओ हो सेता बादल र काला बादल एकापसमा युद्ध गर्दा
ग्यालेक्सी चम्किए
आदिम स्त्री कुमारी मुजिङ्नाको प्रतिध्वनिमात्र रित्तै फर्कियो रे ।
तन्नेरी तृष्णाले आकुल व्याकुल
कुमारी मुजिङ्ना
तेमेन लाजे तिर फर्केर
बैंशको पहिलो भोक मेटिदिने आदिम पुरुषको खोजी गर्दै
फेरि आमन्त्रण आह्वान गरिन् रे
प्रतिध्वनिमात्र आयो
मुजिङ्नाकै कामुकताले तड्पिएको आवाजमात्र ।

० ० ०

सायद, याक्थुङ लाजेको
सबैभन्दा अग्लो चुचुरोमा उभिएको रुखको कापमा बसेर
कामूकताको सुसेली मार्दै बस्दा
मदहोस कुमारी मुजिङ्नाको शरीरमा अचानक
भूइँचालो आयो रे ।
बतासले पच्छ्यौरीका पल्ला हटाउँदै
उन्नत वक्ष सुम्सुम्यायो रे
कामुकताले कामेका उनका ओठहरूमा कसैले काउकुती लगायो रे
बतासमा बयेली खेलिरहेका
आदिम स्त्रीका काला केसराशीहरू झन चलमलाए रे
तानमा बुनेर लगाएकी उनका चोलीका तुनाहरू आफैँ फुस्किए रे
कहिलै नदेखेको, नभएको रजस्वला पछिको
कुमारी ज्यानमा कम्पनसँगै हुरी वतास गतिमा
कुनै प्रथम पुरुषले अंकमाल गर्दै प्रवेश गर्यो रे ।
० ० ०
ज्यानमा आएको भूइँचालो पछि
रंगिन शीतल शान्त आनन्द महसुस गरेकी आदिम तरुनी स्त्री
मुजिङ्ना छक्क परिन्,
भुइचालोसँगै हुरी बतासमात्र आएको थाहा पाएकी
आदिम स्त्री कुमारी मुजिङ्नालाई
कसले शान्त बनायो होला
प्रकृतिलाई थाहै भएन
कुमारी मुजिङ्नालाई पनि थाहै भएन रे ।
० ० ०
सम्भोग तिर्खाले आकुल व्याकुल
आदिम कुमारी मुजिङ्ना
पुरुष विहिन ग्यालेक्सीमा
सम्भोगको भूइँचालो पछि कसले शान्त बनायो भनेर
प्रश्नै प्रश्नसरीको कौतुहुलताको भारी बोकेर अलमल्लमा परिन् रे ।
० ० ०
ओ हो श्रृष्टी थाम्न
ग्यालेक्सीका प्रथम बैज्ञानिक तागेरा निङ्वाफुमाङले
हुरी बताससँगै पठाएर
साँढे झैं डुक्रिँदै आदिम स्त्री कुमारी मुजिङ्नामाथि
सम्भोगको भूइँचालो ल्याउने
आदिम पुरुष सोधुङ् लेप्मुहाङ पो थिएछन् रे ।।

० ० ०

मुन्धुमभित्रै अर्को एउटा पात्र छ । जसले यौन मनोविज्ञानमा रुची राख्नेहरुलाई मजैले बाधेर पढ्न बाध्य बनाउँछ । जसको यौन चाहना मेटाउने आफ्नै तरिका छ । जुन सत्य हो वा असत्य तर मुन्धुममा उल्लेख छ ।
तिगेनजोङना १६ वर्ष लाग्छिन् । यौन चाहना झाँगिन्छ । यौन चाहना मेट्न उनलाई ठूलो संघर्ष गर्नुपर्छ । मलमा गुडुल्किने ठूलो हरियो खुम्ले किरा जसलाई लिम्बू भाषामा ‘याक्लापुशा’ भनिन्छ । उनले आफ्नो यौन चाहना मेटाउन पुरुष नभेटेपछि यही किराको साहरा लिन्छिन् ।
तिगेनजोङनाले आफ्ना दुबै स्तन याक्लापुशालाई चुसाएर आफ्नो यौन चाहना तृप्त गर्छिन् । दिनदिनै यौन चाहना मेटाउने माध्यम याक्लापुशा हुन्छ । याक्लाकुशालाई स्तन चुसाएको उनको माइतीले थाहा पाउँछ । उनको माइती थाक्सेराले याक्लापुशालाई मस्त स्तन चुसाएको देखेपछि काटेर मारिदिएको कथा मुन्धुममा उल्लेख छ । त्यही यौन पात्रलाई लिएर प्रदीपले बडो बेजोडको कविता आफ्नो कलममार्फत बगाएः
याक्लापुसा
झिक्राले बारेको याक्सामा–
कामायिनी बनेर
स्याउलाको ओच्छ्यानमा
उत्तानो पल्टेकी कुमारी इप्ना सरेङ्धङ्ना
आफ्नै मदमस्त स्तन चुसाइरहेकी छिन्
याक्लापुसालाई ।
न त प्रेमी, नत बलिष्ठ पुरुष,
तै पनि याक्लापुसा कति भाग्यमानी
थाहा नभएर के भो र रु
उसले चुसेको स्तनको मुन्टा
तिगेन्जङ्ना गाउँकी
कुमारी इप्ना सरेङ्धङ्ना कै हो भनेर
फाक्सेराको बैशालु बहिनी कै हो भनेर ।
० ० ०
याक्लापुसा सलबलाउँदै सल्बलाउँदै
आफ्नो बैंशालु उन्नत स्तनको
टुप्पामा चढाएर ओरालेपछि
कुमारी इप्ना सरेङ्धङ्ना
सावायेत्हाङको नीलो आकासतिर
आँखा डुलाउँदै सुसेल्दा
तृषित देह मत्थर भएको
पाषाण कथा
याङ्वरकको बारीमा डुल्ने
याक्लापुसालाई
सरेङधङ्नाको स्तनको स्वाद थाहा नहुन सक्छ ।
तम्बोर खोलाको किनार किनारमा
अग्लिन चाहने बुट्यानका पात पातमा बस्ने
याक्लापुसालाई
सरेङ्धङ्नाको उन्नत स्तनको उचाई थाहा हुन सक्छ ।
० ० ०
०५२ सालबाट सुरु भएको माओवाली द्वन्द्व पूर्वी नेपालमा ०५७ सालमा अनुभव गर्ने गरी पुग्यो । तेह्रथुमको पोक्लाबाँङमा आक्रमण पछि पूर्वमा माओवादीको बलियो उस्थिति देखियो । आन्दोलन सुरु भयो । हत्याहिंसा र हड्ताल दिनदिनै हुन थाल्यो । यसको असर सामान्य नागरिकलाई देखिने गरी पर्यो । त्यसको असर प्रदीपको कलममा पनि देखियो ।
ठेला चलाउने व्यक्ति ठेला लिएर चोकमा निष्किन्छ । उसलाई बन्दबारे थाहा हुँदैन । धरान बन्द भएपछि ऊ इटहरी त बन्द छैन भनेर ठेला गुडाउँदै इटहरीतर्फ निष्किन्छ । ठेला गुडाउँदै गरेको ठेलावाल सेनाको गोली लागेर मारिन्छ । उसलाई किन गोली हानियो रु उसैले थाह पाउँदैन । तर, उसको शवमा एउटा पार्टीले आफ्नो झण्डा ओढाएर शहीद घोषणा गर्छ । विडम्वना बाँचुञ्जले ऊ कुनै पार्टीको थिएन । र पार्टी भनेको पनि उसलाई थाहै थिएन ।
बाँझोगरास्थित काकाको घरमा बसेर महेन्द्र बहुमुखी क्याम्पसमा डिप्लोमा पढिरहेका बेला उनलाई एक साँझ कथा लेख्ने मुड चल्यो । द्वन्द्वको बेला निहत्था सर्वसाधारण जनता कसरी मारिन्छन् भन्ने प्रमाण देखाउन प्रदीपले एउटा कथा लेखे । जाडो थियो । राती १ बजेको थियो । बन्द हड्ताल देखेर वाक्क भएका उनलाई एउटा कथा लेखौँ जस्तो लाग्यो । कथा लेख्न बसे । विषय निहत्था जनता कसरी मरिरहेका छन् भन्ने फुर्यो । लेख्न सुरु गरे । करिब डेढ घण्टामै सेतो कागजमा करिब २ हजार शब्दको कथा तयार भयो । नाम दिए, ‘अज्ञात शहीद’ । भोलिपल्ट साथी देवान किराँती र जसकुमार राईलाई देखाए । पोलिटिकल थिममा राम्रो छ तर अलि छोटो भएन र रु भने । उनलाई कथा एक बसाई १०र१५ मिनटेमै सकिनुपर्छ भन्ने लाग्छ रे १ त्यसैले त्यसलाई नै ‘प्याकअप’ गरे । त्यही कथा हो अहिले बीएड तेस्रो बर्षको मेजर अंग्रेजीमा रहेको कथा ‘अज्ञात शहीद’ । बाँझोगरास्थित काकाको घरमा बसेर महेन्द्र बहुमुखी क्याम्पसमा डिप्लोमा पढिरहेका बेला लेखेको कथा ।
० ० ०
घरमा कम्प्युटर थिएन । आफूले लेखेका कथा नहराउन् भनेर उनले भानुचोकस्थित लीला चक्र गुरुङको साइबरमा टाइप गर्न दिए । सिद्धकुमारी थेबेले प्रदीपका कथा पढिछन् । उनलाई मन परेछ ।
प्रदीपलाई भनिन्, “कथा छाप्नुपर्छ भाई ।”
“म सँग पैसा छैन” उनले भने ।
“म छापिदिन्छु” थेबेले भनिन् ।
०६० सालमा ४० हजार रुपैयाँमा उनको कथा संग्रह ‘पुरुषगन्ध’ निस्कियो । वासु क्षितिजले आवरण बिना पैसा गरिदिए । एक हजारप्रति छापियो । त्यो समय पुस्तक मार्केटिङ गर्ने चलन बसिसकेको थिएन । उनले हङकङ, ब्रुनाईमा भएका साथीलाई पुस्तक पठाए । थेबेले पनि पठाइन् । लगानी मुस्किकले उठ्यो । लगानी नउठे पाप लाग्छ भन्ने पीडामा पिरोलिएका प्रदीपले शान्तीको सास फेरे ।
त्यही कथा २५ वटा कथा समेटेर प्रकाशित द्वन्द्व र युद्धका कथा संग्रहमा छापियो । डा। गोविन्दराज भट्टराई र विष्णुविभु घिमिरेले उनको द्वन्द्व र युद्धका कथा संग्रहमा समावेश गरेका थिए ।
०६५ सालमा त्यही ‘अज्ञात शहीद’ बीएड तेस्रो वर्षको अंग्रेजी पुस्तकमा समावेश भयो । उनलाई आफ्नो कथा पाठ्यपुस्तकमा समावेश भएको पनि थाहा थिएन । धरानकै एक व्यक्तिले भनेपछि उनले सुने । तर प्रदीपलाई विश्वास लागेन । द्वारिका पुस्तक पसलमा पुगे हो कि हैन भनेर हेर्न । उनको चिनजान द्वारिकामा थिएन । कहाँ छ कि छैन भनेर पल्टाएर हेर्न थाले । भेटे । छोटो उनको जीवनी र जस्ताको तस्तै अंग्रेजीमा अनुवाद थियो । पढ्दै थिए । हैन नकिन्ने भए के हेरिरहेको रु भन्दै साहूले पुस्तक खोसेर स्टलमा राखे ।

‘लो प्रोफइल’ मा बस्न रुचाउने उनले मेरो आफ्नै कथा पढिरहेको छु भनेनन् । दाम सोधे कति भनेर । पसलेले ७ सय भने । उनको खल्तिमा ७ रुपैयाँ पनि थिएन । उनी फर्किए । एक महिना पछि उनको खल्तीमा ७ सय रुपैयाँ पस्यो । अनि गएर आफ्नै कथा रहेको पुस्तक किनेर ल्याए र घरको दराजमा राखे । पूर्वको लिम्बू समुदायको कथारकविता ‘टीयू’को पाठ्यपुस्तकमा समावेश भएको प्रदीपको कथा पहिलो हो । कविता बैरागी काइँलाको ।
० ० ०
रेडियो नेपालका पत्रकार राजकुमार दिक्पाल कविता लेख्थे । प्रदीप पनि धरानका कवी । दुवैको लय मिल्यो । साथी भए । विसं ०५२ सालमा प्रदीप पनि राजकुमारको संगतले पत्रकारिता गर्न थाले ‘सयपत्री’ मा । हातैले समाचार लेख्थे । “त्यतीबेला समाचार लेखेको म सम्झिन्छुु । उद्घोषक सुरुमा बोल्थे मेरो समचार पनि उद्घोषकबाटै सुरु हुन्थ्यो । मुख्य अतिथि अन्तिममा बोल्थे । मेरो समाचारमा पनि उनले बोलेको अन्तिममा नै हुन्थ्यो,” प्रदीप हाँस्दै भन्छन्, “त्यस्तो समाचार पनि जस्ताको तस्तै छापिन्थ्यो ।”
इटहरीबाट ‘नव सञ्चार’ पत्रिका निष्किन थाल्यो । पैसा दिँदैन थियो । त्यसमा समाचार लेख्न थाले । काठमाडौंबाट बामपन्थी धारको पत्रिका निष्किन थाल्यो । उनी त्यसमै लेख्न थाले । त्यसपछि ‘प्रकाश’, ‘सौर्य’ र ‘साँघु’मा उनले काम गर्न थाले । सादा फुलिस्केपमा समाचार लेख्थे । चिठ्ठीको खाममा समाचार हालेर हुलाकबाट पठाउँथे । कुरियर गरेर पनि कहिलेकहीँ पठाउँथे । कुरियर गरेको १० रुपैयाँ लाग्थ्यो । एक हप्तापछि समाचार छापिन्थ्यो । तर पैसा भने पाउँदैन थे । पाउने भनेको बाइलाइन मात्रै थियो । मख्ख पर्थे । त्यसमै चित्त बुझाउँथे प्रदीप ।
जमिम शाहले ‘स्पेशटाइम’ दैनिक निकाल्न थाले । त्यसमा धरानबाट प्रदीपले समाचार लेख्न थाले । “महिनाको ५ हजार जति हुन्थ्यो । गमक्क पर्यो हिँड्यो । ठूलै मान्छे भैयो जस्तो हुन्थ्यो”उनी भन्छन् ।
प्रदीपले ‘स्पेश टाइम्स’मा डेढ वर्ष काम गरे । उनले ‘स्पेशटाइम्स’मा पठाएको एउटा मनोरञ्जनात्मक फिचर छापिएन । त्यही फिचर उनले कान्तिपुर साप्ताहिकमा पठाए । संयोगले त्यो दुई पेजमा बाइलाइसहित छापियो ।
पैसा लिन उनी ‘स्पेशटाइम्स’ दैनिकको कार्यालय काठमाडौं पुगेका थिए । उनको फिचर छापिएको साप्ताहिकको पेज फोटोकपी गरेर सम्पादक, व्यवस्थापक, प्रवन्धकसहित प्रत्येक हाकिमको टेबलटेबलमा पुगेको थियो । उनले त्यहाँ गाइँगुइँ सुने प्रदीपलाई कारबाही हुँदैछ । यसै नराम्रो उसै नराम्रो । उनले त्यहाँ छोड्ने निर्णय गरे । लिन बाँकी ४० हजार पैसा मागे । उनलाई भोलिपर्सी भोलिपर्सी भन्दै एक हप्ता झुलाए । केदार कोइराला समाचार सम्पादक थिए ।
प्रदीपले केदारलाई भने,“दाई पैसा दिदैनन् के गर्ने एक साता भइसक्यो ।” “प्रदीप तिमी धराने होइन रु खुकुरी ल्याएर काट कसले पैसा दिएन ।” भनेर जिस्काउँथे । खुकुरी नै हान्ने त हाँसी मजाक थियो तर प्रदीपले पैसा लिन झगडा नै गरे । झगडा गरेपछि भने उनले नगद ४० हजार बुझे ।
साप्ताहिकमा गएर सम्पादक सुवास ढकाललाई भेटे । उनले समाचार पठाउँदै गर्नु । छापिए अनुसार पैसा हुन्छ भने । प्रदीप ४० हजार लिएर धरान फर्किए । साप्ताहिकमा लेख्दा लेख्दै प्रदीपले कान्तिपुर दैनिकमा फड्को मारे ।
४० हजारको आफ्नै कथा छ उनको । ४० हजारसँगै उनले त्यो समयसम्म करिब २ लाख कमाए छन् । तर त्यो पैसा उनले पत्रिका र उपन्यास किनेरै सके । सँगै काम गर्ने उनको पत्रकार साथीले रेल्वेलाइनमा एक कठ्ठा जग्गा ४० हजारमा किने । “अहिले त्यो करोड भन्दा माथि नै पर्छ । मैले पनि किनेको भए अहिले करोडभन्दा माथि हुन्थ्यो होला मैले किताब र पत्रिका किनेरै सकेछु,” उनले आफ्नो पुरानो अतित कोट्याए ।
पछि रमेश केसीले जे पायो त्यही किताब पत्रिका नपढ तिम्रो रुची के हो त्यो मात्रै पढ्ने गर भनेपछि बल्ल उनको दिमागमा क्लिक भयो । “हो त है । मैले मेरो रुची के हो क्लियर गर्नुपर्छ ।” त्यसपछि उनले मनोविज्ञान, समाजशास्त्र र संस्कृतिमा आफ्नो रुची रहेको खुट्याए ।
उनलाई किताब किन्न पैसा खर्च गर्दा पैसा खेर गए जस्तो लाग्दैन रे १ उनी केही वर्ष अगाडि भारु १० हजार लिएर कलकता गएका थिए । उनले कलकताभरि खोजेर आफ्नो रुचीअनुसारको १६ हजारका किताब ल्याए । उनीसँगै गएका साथीले श्रीमती र छोराछोरीलाई लुगा ल्याइदिए । “मैले पनि श्रीमतीले गाली गर्छिन् होला भनेर ५ सय भारुको एकजोर कुर्तासुरुवाल ल्याइदिएँ । त्यो पनि डर नलागेको भए त्यसको पनि पुस्तक नै ल्याउँथे होला,” प्रदीप भन्छन्, “मेरै लागि मात्रै किताब ल्याएँ भनेर भन्छिन् होला भन्ने नभएको भए म त्यो एक जोर कुर्तासुरुवाल पनि किन्दिन थिएँ ।”
अहिले उनको घरमा करिब ५ लाख रुपैयाँका ७०० भन्दा धेरै किताब हिन्दी भाषाका छन् । बाँकी नेपाली किताब पनि छन् । काकाको घरमा बस्दा उनले पढेका ‘अरुन्धती राय’ लगायतका साहित्यका पुस्तक बोरामा पोको पारे दुई बोरा राखेका थिए । “काकीले बोरामा काम नलाग्ने किताब होला भनेर १ रुपैयाँ किलोका हिसाबले दिनुभएछ,” प्रदीप भन्छन्, “अरुन्धतीका अत्यन्तै मन पर्ने ति किताब म नजिकै रहेका चटपटेवालकोमा गएर हेरेँ तर भेटिएनन् ती किताव ।”–बाह्रखरीबाट

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्