Logo

किरात राई मुन्दुममा सौन्दर्य मीमांसा


-डा. भक्त राई

सौन्दर्य भनेको वस्तुमा निहित विशिष्ट गुण, मनोहर वा शान्त अवस्थाको अनुभूति हो । सौन्दर्य व्यक्ति, जाति, वर्ग, समुदाय र संस्कृतिमा सापेक्षित हुन्छ । संसारमा यही वस्तु राम्रो वा सुन्दर हुन्छ भन्ने कुरा हुँदैन । कसैलाई सुन्दर लागेको वस्तु कसैलाई असुन्दर लाग्न सक्छ । त्यसैले सौन्दर्य भनेको व्यक्ति अनुसार, जाति, वर्ग र समुदाय अनुसार धर्म र संस्कृति अनुसार फरक–फरक हुन्छन् । दार्शनिक हिसाबले भन्ने हो भने सौन्दर्य भनेको कुनै पनि वस्तुमा प्राप्त सुन्दर तत्व अर्थात् आनन्द प्रदान गर्ने तथा आकर्षण गर्ने कला हो । यसले कुन वस्तु किन सुन्दर भयो ? के को आधारमा भयो ? भन्ने विषयको खोजी गर्दछ । त्यसैले सौन्दर्य चिन्तनलाई पनि दर्शनको हाँगाको रूपमा स्वीकार गरिएको पाइन्छ । सौन्दर्य मीमांसाले कुनै पनि व्यक्ति, जाति, समुदाय वा भूगोलमा प्रचलित मूल्य, मान्यता तथा विशेषतः संस्कृतिमा प्रचलित सौन्दर्यचेतनाको विषयमा खोजी गर्ने गर्दछ ।

मानिसले आ–आफ्नो भोगाइ, बुझाइ, समय र सन्दर्भअनुसारको चिन्तन मनन् र ज्ञान प्राप्त गर्दछ । आ–आफ्नो परिस्थिति र पर्यावरण अनुसारको दर्शन तयार पार्दछ । त्यसैले हरेकको आ–आफ्नो रुचि, क्षमता र इच्छा हुने गर्दछ । यही कारण मानिसमा आ–आफ्नै किसिमको सौन्दर्यवोध हुने गर्दछ । त्यसैले यो संसारमा सौन्दर्य निरपेक्ष र सार्वभौम हुन सक्दैन । शुरुमा कला, साहित्यलाई हेर्ने सौन्दर्यशास्त्रको मात्र चर्चा भएको देखिन्छ । यस विषयमा धन प्रसाद सुवेदी (२०७१ ः २७) भन्छन् – कला साहित्यको सौन्दर्य बारेको दर्शन अथवा सौन्दर्यशास्त्रको अवधारणा भने अठारौं शताब्दीपछि मात्र भएको हो । अंग्रेजीमा सौन्दर्यशास्त्रलाई एस्थेटिक्स (Aesthetics) भनिन्छ । यो शब्दको प्रयोग सर्वप्रथम अलेक्जेण्डर बाउमार्टेन (ई. १७१४–१७३२) बाट भएको हो । यसलाई आधुनिक अर्थमा प्रतिस्थापित गर्ने काम भने हेगेल (इ. १७७० – १८३१) बाट भएको मानिन्छ । हेगेलले सौन्दर्यशास्त्रलाई सम्पूर्ण कलाको दर्शनका रूपमा स्थापित गरे ।

त्यसैले उनलाई आधुनिक सौन्दर्यशास्त्रका जन्मदाता मानिन्छ । यसरी हेर्दा के भन्न सकिन्छ भने शुरुमा सौन्दर्यशास्त्रलाई कला र साहित्यको सन्दर्भमा मात्र खोजी गरिन्थ्यो तर पछिल्लो समयमा भने कुनै पनि संस्कृतिभित्र रहेका वा मानिएका सौन्दर्यचेतको अध्ययन यसले गर्दछ । कुनै पनि समाजमा वा संस्कृतिमा विद्यमान साँस्कृतिक, धार्मिक मूल्य र मान्यताहरू र त्यसले अङ्गीकार गरेका सौन्दर्यबोधको विषयमा खोजी गरिन थालिएको छ । दर्शनशास्त्रमा यसैलाई सौन्दर्य मीमांसा भनिन्छ । सौन्दर्य मीमांसाले कुनै पनि संस्कृतिभित्र रहेको भाषा, संस्कार, परम्परा, रितिथिति, खानपान, वेशभूषा, नाचगान आदि विषयमा प्रचलित सौन्दर्यचेतको विषयमा खोजी गर्दछ ।


“किरात राई जातिभित्र पनि उनीहरूको आफ्नै प्रकारको भाषा, साहित्य, इतिहास, दर्शन, चिन्तन, भेषभूषा, खानपान, नाचगान, धर्मकर्म आदि प्राचीन परम्पराहरू छन् । ती प्राचीन परम्पराहरूप्रति उनीहरूको सम्मान छ, आस्था छ, श्रद्धा छ र अघोर माया छ । त्यसैले रार्ई जातिको यिनै आस्थायुक्त, श्रद्धायुक्त सम्पूर्ण साँस्कृतिक मूल्य र मान्यताहरू नै उनीहरूका सौन्दर्य हुन् ।”

किराती सौन्दर्यशास्त्र वा किरात राई मुन्दुमको सौन्दर्य मीमांसाको बारेमा भन्नुपर्दा किराती मुन्दुमी चिन्तन र परम्पराबाट निर्मित सौन्दर्यचेत नै किराती सौन्दर्यशास्त्र हो । किरात राई मुन्दुमको सौन्दर्य मीमांसाले यी जातिभित्रका सम्पूर्ण साँस्कृतिक अवयवहरू र तीभित्र पाइने सुन्दर पक्षको खोजी गर्दछ । हरेक जातिमा कुनै पनि वस्तुलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने आफ्नै प्रकारको चिन्तन, मनन् र व्यवहार हुन्छन् । किरात राई जातिभित्र पनि उनीहरूको आफ्नै प्रकारको भाषा, साहित्य, इतिहास, दर्शन, चिन्तन, भेषभूषा, खानपान, नाचगान, धर्मकर्म आदि प्राचीन परम्पराहरू छन् । ती प्राचीन परम्पराहरूप्रति उनीहरूको सम्मान छ, आस्था छ, श्रद्धा छ र अघोर माया छ । त्यसैले रार्ई जातिको यिनै आस्थायुक्त, श्रद्धायुक्त सम्पूर्ण साँस्कृतिक मूल्य र मान्यताहरू नै उनीहरूका सौन्दर्य हुन् । जस्तो कि अन्य धार्मिक समुदायले जतिसुकै भव्य मन्दिर, मस्जिद र चर्चमा पूजा गरे पनि उनीहरूले तिन चुलामै पूजा गर्न चाहनु त्यसप्रतिको उनीहरूको श्रद्धा हो, भक्तिभाव हो । चुला पूजालाई नै रोज्नुको कारण उनीहरूले त्यसैलाई सुन्दर र प्रिय ठान्नु हो । यसरी नै उनीहरूको खानपान, नाचगान, चाडपर्व र अन्य सामाजिक, धार्मिक, साँस्कृतिक गतिविधिहरू नै उनीहरूका सौन्दर्यचेत हुन् । किनभने ती कार्यहरूमा, व्यवहारहरूमा उनीहरूको अत्यन्त ठूलो आस्था छ, विश्वास छ त्यही विश्वासजन्य भाव नै उनीहरूका सौन्दर्य पक्ष हुन् । आफ्ना परम्परित संस्कृतिप्रति श्रद्धा हुनु भनेको त्यसलाई सुन्दर देख्नु हो, त्यसबाट आनन्द प्राप्त गर्नु हो, सुखको अनुभूति प्राप्त गर्नु हो ।

यसरी हेर्दा किराती सौन्दर्यशास्त्रले ती जातिमा प्रचलित जीवनपद्धतिका व्यवहारहरू विशेषतः कला, साहित्य, सङ्गीत, भाषा, भेषभूषा, वर्ण, कद आदि मौलिक तथा पृथक पहिचानहरूलाई समेटेछ । अन्य जाति र समुदायमा भन्दा फरक संस्कृति, चिन्तन, मूल्य मान्यता र व्यवहारको सापेक्षतामा राई जातिको सौन्दर्यचेत खोजिनु पर्दछ । जस्तो कि हिन्दू संस्कति र सौन्दर्यशास्त्रले ठूला–ठूला आँखा, अग्लो कद, मृगका जस्ता आँखा, दारी जुंगायुक्त मुहार र लामो कपाललाई सुन्दर ठान्छ भने किराती संस्कृति र सौन्दर्यले चिम्सो खिरिलो आँखा, होचो कस्सिएको ह्रष्टपुष्ट शरीर, चिल्लो सफा मुहार आदिलाई सुन्दर मान्छ । यसरी नै खानपान, वेशभूषा, चाडपर्व आदि अनेकौं विषयमा स्थापित आफ्नै प्रकारको मूल्यबोध वा सौन्दर्यवोध नै किराती सौन्दर्यशास्त्र हो ।

“त्यसैले किरातीहरूको सौन्दर्यको आधार र सौन्दर्य दर्शनको खोजी नै सौन्दर्य मीमांसाले गर्दछ । समग्रमा भन्दा किरात राई जातिको संस्कृति (भाषा, धर्म, चाडपर्व, नाचगान (गीत–सङ्गीत), बाजागाजा, साहित्य, कलाकौशल, खानपान, वेशभूषा तथा मूल्य र मान्यताहरूको) सुन्दर पक्षको खोजी अनि व्याख्या विश्लेषण नै सौन्दर्य मीमांसा हो ।”


किरात राई मुन्दुमले विभिन्न क्षेत्र र विषयमा सुन्दर मूल्य र मान्यतालाई स्थापित गरेको पाइन्छ । मुन्दुमले छुवाछुत तथा जातीय विभेदको मान्यतालाई स्वीकार गर्दैन । मानवीय हिसावले यो अत्यन्त राम्रो सौन्दर्य पक्ष हो । यसरी नै कुनै पनि काममा लिङ्ग विभेद गरेको पाइँदैन । कुनै पनि कार्य चाहे धार्मिक होस्, चाहे सामाजिक क्षेत्र, चाहे सांस्कृतिक होस् त्यसमा महिला पुरुष भनेर छुट्याउने गरिँदैन । मुन्दुमको अर्को सुन्दर पक्ष यसलाई मान्न सकिन्छ । भाषामा समेत समानता कायम गर्दै पुरुषलाई बोल्ने महिलालाई बोल्ने भनेर लिङ्गीय विभेद गरिएको पाइँदैन । मुन्दुमको अर्को सुन्दर पक्ष हो यो । भाषाको सम्बृद्धताको हिसाबले हेर्दा यसलाई कमजोर मानिएला तर सामाजिक एवं साँस्कतिक समानताको हिसाबले भाषिक एकरूपता हुनु आफ्नोमा सुन्दर पक्ष हो ।

यसरी नै किरात राई जातिमा आफ्नै प्रकारका अन्य कैयौं सुन्दर पक्षहरू पाइन्छन् । तिनै मौलिक सुन्दर अवयवहरूको समग्रता नै किरात राई जातिको सौन्दर्यचेत हो । राई जातिको परम्परागत खानपान, वेशभूषा, चाडपर्वहरूको आफ्नै प्रकारको चिन्तन, दर्शन र व्यवहार पाइन्छ । ती प्रत्येक व्यवहार वा पद्धतिका बारेमा आफ्नै प्रकारका चिन्तन दर्शन पाइन्छन् । त्यसैले किरातीहरूको सौन्दर्यको आधार र सौन्दर्य दर्शनको खोजी नै सौन्दर्य मीमांसाले गर्दछ । समग्रमा भन्दा किरात राई जातिको संस्कृति (भाषा, धर्म, चाडपर्व, नाचगान (गीत–सङ्गीत), बाजागाजा, साहित्य, कलाकौशल, खानपान, वेशभूषा तथा मूल्य र मान्यताहरूको) सुन्दर पक्षको खोजी अनि व्याख्या विश्लेषण नै सौन्दर्य मीमांसा हो ।

सारांश तथा निष्कर्ष
मानिस प्रकृतिमै जन्मन्छ, हुर्कन्छ, यसैको काखमा जीवनयापन गर्दछ र त्यसैको काखमा मर्दछ भन्ने दार्शनिक चिन्तन किराती जातिमा पाइन्छ । प्रकृति तथा पितृपूजक किरात राई जातिमा मानिसको शरीर मरेर गए पनि आत्मा कहिल्यै मर्दैन भन्ने विश्वास गरिन्छ । फलतः यिनीहरूले आफ्ना हरेक चाडपर्वहरूमा, धार्मिक अनुष्ठानहरूमा पितृलाई पुज्ने गर्दछन् । हरेक वर्ष उधौली, उभौलीको अवसरमा होस् या नयाँ बालीहरू भित्र्याउँदा तथा सेवन गर्दा समेत पितृलाई चढाएर मात्र सेवन गर्ने गर्दछन् । किराती जातिले यो सम्पूर्ण चराचर जगत्को सृष्टिकर्ता प्रकृतिलाई नै मान्दछन् र प्रकृतिको भोक्ता भनेको जीवात्मा हो जो अजर, अमर तथा अनन्त छ भन्ने चिन्तन राख्दछ । त्यसैले यी जातिले केवल प्रकृतिलाई र पुर्खा (जीवात्मा) लाई यो सृष्टिको निर्माता र शक्ति मान्दछ । यसरी हेर्दा के देखिन्छ भने साङ्ख्य दर्शन र किराती दर्शनको चिन्तनबिच अत्यन्त निकट सम्बन्ध रहेको देखिन्छ ।

सन्दर्भग्रन्थ सूची
चटोपाध्याय, देवी प्रसाद (ईं १९८२), लोकायत, नयाँ दिल्ली ः एमजी बसानी ।

पन्त, दिनेश राज र विष्णु प्रभात (२०७२सम्पा.), दर्शनावली, काठमाडौं ः नेपाल प्रज्ञा
प्रतिष्ठान ।
भुसाल, वेदुराम (२०६८), नेपालमा प्रचलित दार्शनिक चिन्तनहरु, काठमाडौं ः नेपाल प्रज्ञा प्रतिष्ठान ।
राई तारामणि र गणेश कुमार सम्पा. (२०७३), किराती सौन्दर्यशास्त्र, ललितपुर ः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।
राई, भक्त (२०७४–०४–०६), किरात राई मुन्दुमको तत्व मीमांसा, नेपाल प्रज्ञा प्रतिष्ठान तथा नेपाल प्राज्ञिक अनुसन्धान केन्द्रद्वारा संयुक्त रूपमा सञ्चालित दर्शन गोष्ठीमा प्रस्तुत कार्यपत्र ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्