Logo

पश्चिमी बायुसँगै एउटा चलन नेपाल भित्रियो- ‘भ्यालनटाइन् डे’


 

-इन्द्रकुमार श्रेष्ठ सरित्

 
यसो सोंच्छु, समयको गतिले राम्रो नराम्रो थुप्रै परिवर्तन लिएर आउँछ नै , यो पनि त्यसकै एउटा कडी हो । राम्रो हो कि नराम्रो छुट्याउने जिम्मा आ-आफ्नै हो  । किनकि माया,प्रेम,प्यार बाँडेर कहिलै सिद्धिदैन बरु झनै बढ्दै जान्छ । हुन त यो प्रचलन हाम्रो आफ्नो हैन, यो आयातित चलन हो  । 
आयातित प्रचलनले व्यक्ति,समाज र राष्ट्रलाई हानि गर्दैन भने त्यसलाई आफ्नो माटो, हावा र पानी अनुसार हुर्कन दिनु पर्छ, हुर्काउन हामीले जान्ने पर्छ  । उत्ताउलिएर यताउति जान खोज्ने लहरहरुलाई थाक्रामा दह्रैसंग अड्याई दिनु पर्छ । उपभोक्ता संस्कृतिले नेपाली समाजलाई शिरदेखि पाउसम्म ढाकिसकेको छ । अब एउटा व्यक्ति बिशेषको रुचि वा असन्तुष्टिले मात्र यो पश्चिमी बायु टर्नेवाला छैन ।
दिन दुनी रात चौगुनी पश्चिमी संस्कृति र सभ्यताले नेपाली संस्कृति र सभ्यतामाथि धावा बोलिरहेको छ, निरन्तर आक्रमण गरिरहेको छ  । तर  हामी थाहा पाएर वा नपाएर त्यसकैपछि लागेका छौं, लागिरहेका छौं । आफ्नो परम्परा, संस्कृति, र सभ्यतामाथि गर्व गर्दै त्यसको संरक्षण गर्नुको सट्टामा उल्टो खिसिट्युरी गर्न थाल्छौं । जातीयताको बखेडा झिकेर आपसमा व्यंग्यबाण हान्छौं, तानातिर्कुटीले घोच्न थाल्छौं  । एकापसमा भएको र भैरहेको आत्मीयता र भातृत्वको भावनालाई आफैले कुल्चिरहेका हुन्छौं ।
सद्भावलाई बिर्सेर शत्रुभावलाई मलजल गरिरहेका हुन्छौं । अनि माया र प्रेममा भोकाएर बिदेशीको नक्कल गर्दै हातमा गुलाबको फूल लिएर माया,प्रेम, प्यार, इश्क,लव, मुहब्बत खोज्न घर बाहिर निस्कन्छौं । माया खोज्नलाई ३६४ दिन कुरेर ३६५ औं दिनको प्रतीक्षा गर्नु नै पर्दैन । माया त मनमा नै हुन्छ । कसलाई माया गर्ने हो ? कसलाई प्रेम जताउने हो ? त्यो भाव हाम्रो मनमा ३६५ दिन नै हुन्छ, मात्र त्यसलाई अभिव्यक्त गर्नु पर्छ । माया प्रेम, प्यार केवल बिपरितलिंगीसँग मात्र हुँदैन  । संसारमा जसको पनि साँचो अनि पहिलो माया त आफ्नो आमाबुवासँग नै हुन्छ, जसले दश धारा दूध पियाएर हामीलाई जीवन दिन्छन, जीवनमा अघि बढ्न सिकाउछन्  । ताते गर्दै गर्दा हामी लड्न लड्न खोज्दा प्रेमले हाम्रो हात समातेर हामीलाई सम्हालिएर हिंड्न सिकाउछन्  ।
त्यसैले प्रेमको पहिलो र पहिलो प्रेमको हकदार त आमाबुवा नै हुन् । त्यसपछिमात्र श्रीमान वा प्रेमी अथवा श्रीमती वा प्रेमिकाको मायाको पालो वा प्रसंग आउँछ । किनकि जीवनमा हामी पहिला आमाबुवालाई नै चिन्छौं प्रेमिका, गर्लफ्रेन्ड, श्रीमती, प्रेमी, ब्वाईफ्रेन्ड वा पतिलाई हैन  । प्रेमका बिभिन्न रुप हुन्छन र आमाबुवालाई गरिने प्रेममा श्रद्धा हुन्छ, सन्तानलाई गरिने प्रेममा वात्सल्य हुन्छ, दिदीबैनीलाई गरिने प्रेममा शीतलता हुन्छ, दाजुभाइलाई गरिने प्रेममा भातृत्व भाव हुन्छ । प्रेमिका वा श्रीमतीलाई गरिने प्रेममा उष्णता हुन्छ, त्यस्तै प्रेमी वा पतिलाई गरिने प्रेम्ममा पनि उष्णता नै हुन्छ, त्यो प्रेम निकै तातो हुन्छ । जहाँ बिपरितलिंगीप्रतिको रागात्मक आकर्षण हुन्छ र त्यहाँ हरदम रतिले बास गरेको हुन्छ । प्रेम गर्ने दुई बिपरितलिंगीका बिचको प्रेममा रागत्मकता वा यौनाकर्षण छैन भनेर कसैले भन्छ भने त्यसको सेक्सुवालिटीमा प्रश्न गर्नुपर्ने हुन्छ ।
त्यसैले जीवनभरी हामीले प्रेम नै प्रेम बोकेर हिंडिरहेका हुन्छौं मात्र त्यसलाई चिन्न र अभिव्यक्त गर्न बाँकी हुन्छ । प्रेमी वा श्रीमान अथवा प्रेमिका वा श्रीमतीलाई आफ्नो प्रेम प्रकट गर्न आतुर हामीले आफ्नो जन्मदाता आमाबुवालाई जीवनभरिमा कतिपटक प्रेम प्रकट गरेर देखायौ होला ? एक पटक छातीमा हात राखेर सोचौं त ? प्रेमको चाहना सबैमा हुन्छ भने आमाबुवालाई पनि त आफ्ना सन्तानबाट प्राप्त हुनै पर्ने प्रेमको चाहना हुन्छ होला, के हामीले यो बिषयमा कहिलै सोचेका छौं ? आफ्नो जन्मदातालाई सानो उपहार दिएर कहिलै खुशी पार्ने प्रयत्न गरेका छौं ? जिन्दगीमा प्रेमी वा प्रेमिकाको अभाव हुने बित्तिकै जिन्दगी रित्तिदैन तर आमा वा बुवाको अभाव हुने बित्तिकै जिन्दगी रित्तो रित्तो हुन्छ  ।
यो कुरा बालाखामै आमा वा बुवा अथवा आमाबुवा दुवै गुमाएकालाई जत्तिको अरुलाई के थाहा होला र ? अरुले पनि मनन गरे यो कुरा नबुझिने हैन । किनकि हाम्रो जवानी पनि आजको दिनको मात्रै हो, भोलि त हामी पनि बृद्धवृद्धा हुनेछौं, त्यसबेला हामीलाई हाम्रै सन्तानले उपेक्षा गरे भने के हामी सहन सकौंला त ? पक्कै पनि, आजको दिन तपाइँ आफ्नो प्रेमी वा प्रेमिकाकालाई गुलाफका हजारौं फूल र हजारौं उपहार दिनुस  । तर के तपाईको चोखो प्रेमको पहिलो हकदार तपाईलाई यो सुन्दर संसार देखाई दिने तपाईका आमाबुवा हैनन् र ? खै त, तपाइले आफ्नो आमाबुवाका लागि आज रातो गुलाफ र उपहार किन्नु भयो त ?

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्