Logo

प्रवीण पुमाको नाट्य कृति ‘सुम्निमा-पारूहाङ’को एक समिक्षा-प्राज्ञ अशेष मल्ल


नाट्य शिल्प अधुरो छ…
प्रवीण पुमा नेपाली रङ्गकर्मका सक्रिय र उत्साही साधक हो । पछिल्लो पुस्ताका अध्ययनशील, जागरुक र प्रतिबद्ध रङ्गकर्मी प्रवीण पुमाको अभिनय र निर्देशन यात्रापछि लेखनयात्रा प्रारम्भ भएको छ । उनको निर्देशनलाई मैले नजिकबाट नियाल्ने अवसर पाएको छु । नयाँ सोचका साथ प्रस्तुत हुन मनपराउने प्रवीण पुमा अभ्यास र अध्ययन क्रममा नै छन् । उनको लगनशीलता र प्रतिबद्धताले म निकै प्रभावित छु ।

प्रस्तुत नाट्य कृति ‘सुम्निमा–पारूहाङ’(२००८ सन)को प्रारम्भ विन्दुदेखि नै उनको लगनशीलतालाई स्पर्श गर्ने अवसर पाएको छु । नाटकको कथावस्तु सुनाउने क्रममा होस् वा पहिलो ड्राफट लेखनक्रममा होस्, उनले मलाई पाठकका रूपमा अघि सार्ने गरेका छन् । उनको पहिलो लेखन क्रममा नै घण्टौँ क्रियाप्रतिक्रिया भएका छन् । जब उनले झण्डै एक डेढ वर्ष अघि मलाई प्रस्तुत नाटकको पाण्डुलिपि अध्ययन गर्न दिएका थिए, मैले भनेँ– ‘प्रवीण, यसलाई तिमीले अझै परिमार्जन गर्नुछ, यसको नाट्य शिल्प अधुरो छ…आदि ।’ प्रवीण पुमाले त्यसपछि नाटकलाई परिमार्जन गर्न निकै परिश्रम गरे । सूक्ष्म रूपमा उनले केस्राकेस्रा केलाएर पुनर्लेखन गरे । प्रकाशनका लागि हतार नगरी उनले जुन परिश्रम गर्दै नाटकलाई परिमार्जन गर्ने कोशिस गरे, त्यो हो नयाँ लेखकका लागि प्रेरणा हुन सक्छ । जेहोस्, अब प्रकाशनको ढोका अघिल्तिर छ, प्रवीण पुमाको कृति ‘सुम्निमा–पारूहोङ’ ।

PRAVEEN PUMA (Actor, Director, Writer, Lecturer, Researcher so so.)

नाट्यवस्तुका चरित्रलाई सूक्ष्म रूपले चित्रण गरिएको छ, नाटकमा । खासगरी पूर्वीय नेपाली संस्कृतिलाई जीवन्तता दिने उनको प्रयास सरहानीय छ । लोककथा, लोकसंस्कृति ज्यूँदो नमुनालाई यहाँ प्रस्तुत गरिएको छ । केवल आश्चर्यताको प्रश्न मात्रै होइन, जीवनका विविध पक्षका सङ्लो अनुभूति पनि प्रस्तुत गरिएको छ । चरित्र परिवेश, घटना सम्पूर्ण रूपमा नेपाली माटोसँग सम्बन्धित छ । एउटा ज्यूँदो इतिहासजस्तो अनुभव भइरहेको छ । पढ्दैजाँदा यस्तो लाग्छ, आफै पनि पूर्वको त्यो सुन्दर भूमिमा पुगिरहेछु । अनेक अनुभव र अनुभूतिले छोएझैँ लाग्दैछ । किराती बालाको सुन्दर वर्णन प्रारम्भमै अत्यन्तै मोहक र रोचक ढ·मा भएको छ । नाटकको प्रारम्भ विन्दुदेखि नै लोकसंस्कृति झ्वाप्प मनभरि आउँछ । भाषा र संस्कृति नितान्त भिन्न छ । आफनोपन, आफनो परिचय नाटकभरि छताछुल्ल पोखिएका छन् ।

यद्यपि, प्रस्तुत नाटकको कथावस्तुलाई हेर्दा कहीकतै अस्वाभाविक महसुस नहुने होइन, तथापि नाटकमा प्रस्तुत गरिएका भाषा, प्रस्तुति, शैली र नाटकको परिवेशले नाटकलाई प्रभावशाली बनाएको छ । खासगरी पठनभन्दा पनि यसको मञ्चन पक्ष निकै शक्तिशाली छ । निर्देशनका लागि प्रवीण पुमाले प्रसस्तै ठाउँ दिएका छन् । नाटक मञ्चन भएपछि दर्शकले भिन्न अनुभव गर्नसक्ने छन् । खासगरी यसमा उल्लेख गरिएका, वर्णन गरिएका घटना, परिवेश वातावरण निकै चाखलाग्दा छन् । नेपाली संस्कृतिको ज्यूँदो ज्वरो तस्वीरलाई जीवन्त रूपमा उतार्ने कोशिस गरिएको छ, जसको मञ्च प्रस्तुति प्रभावशाली बन्नसक्ने प्रसस्तै ठाउँ
रहेको छ ।

यसै सङ्ग्रहमा सङ्गृहित अर्को नाटक ‘निनीमा’ छोटो छ । छोटोमा पूरै कथा समेट्ने प्रयास गरिएको छ । प्रस्तुत नाटकमा पनि लोककथाको गन्धलाई समेटेका छन् । तथापि नाटकको विषय हतारमा अन्त्य गरिएझैँ अनुभव हुन्छ । बालक आ’पाको खोजी क्रममा केवल सम्वादमै सीमित भएझैँ देखिन्छ । अन्य नाटकका तुलनामा घटनाक्रमको नाटकीय विकास केही कमजोर प्रतीत हुन्छ । नाटकको लेखनमा हुनुपर्ने नाटकीय द्वन्द्वको अभाव छ । तथापि कथाको सशक्त पक्ष भने सरहानीय छ ।

प्रवीण पुमाको प्रस्तुत नाट्यसङ्ग्रह ‘सुम्निमा–पारूहाङ’ ले नेपाली नाट्य लेखनमा एउटा छुट्टै विषयलाई प्रस्तुत गरेको छ । नेपाली लोक संस्कृतिको प्रश्नलाई ज्यूँदो रूपमा प्रस्तुत गरेका छन् । यो एउटा निकै आशालाग्दो सुरूआत हो । अबको नाटकमा नेपाली माटो, नेपाली संस्कृति र नेपालीपनलाई समेट्न सकिएन भने, हाम्रो नाट्य परम्परा अघि बढ्न सक्दैन । हामीसँग आफै प्रभावशाली र गौरव गर्नुपर्ने परम्परा छ । संस्कृतिका लोभलाग्दा इतिहास छन् । अरूभन्दा नितान्त भिन्न यी कथाहरू नाटकमा अब बढीभन्दा बढी समेटिनु पर्छ । यसको प्रारम्भ प्रवीण पुमाले पहिलो चोटी प्रस्तुत गरिदिएका छन् । नेपाली उपन्यास र कथामा यस खालको प्रयोग, प्रस्तुति नभएको होइन, तर नाटकमा भने निकै कम भएको छ । प्रस्तुत नाट्य सङ्ग्रहको सबैभन्दा सशक्त पक्ष भनेको यसको मौलिकता हो । मिथकको यथार्थ प्रस्तुतिलाई जसरी प्रवीण पुमाले आत्मसात गर्नसकेका छन् र जसलाई मौलिकरूपमा प्रस्तुत गरेका छन् । त्यो सबैभन्दा उल्लेख्य विषय हो । नेपाली साहित्यमा यसप्रकारको प्रस्तुति धेरै कम छ र नाटकमा सम्भवत यो पहिलो हुनुपर्छ ।

भविष्यमा नेपाली संस्कृति र परम्पराको अध्ययन अनुसन्धान गर्नेहरूका लागि प्रस्तुत नाटक सङ्ग्रह ‘सुम्निमा–पारूहोङ’ एउटा आधार खम्बा हुनसक्छ । त्यसैले यस नाट्यकृतिलाई केवल नाटककै रूपमा मात्रै सीमित राख्न मिल्दैन ।

 

यस ‘सुम्निमा–पारूहाङ’ नाटकसङ्ग्रहमा सङ्गृहित नाटकहरू ‘सुम्निमा–पारूहाङ’, ‘सुम्निमा’ र ‘निनीमा’ तीनै नाटकका विषय कथावस्तु र तिनको प्रस्तुतिमा कल्पनातत्वको कमभन्दा कम प्रयोग गरिएको छ । सम्वादका भाषा पक्ष तिनको ज्वलन्त उदाहरण बनेर देखापरेको छ । यो उत्कृष्ट पक्ष हो । यसैले मलाई लाग्छ, प्रस्तुत ती नाटकहरू केवल नाटक मात्रै नभएर स्वयम्मा एउटा ज्यूँदो इतिहास पनि हो । यस क्रममा हराउँदै जानसक्ने, बिर्संदै जानसक्ने र इतिहासकै कालखण्डमा बिलाउनसक्ने तथ्यलाई नकार्न सकिँदैन । कैयौँ लोकसंस्कृति, लोककथा यसरी नै कालान्तरमा हराउँदै गएका छन् । मिथकका रूपमा कहीँकतै बाँकी रहेका प्रसहरू अभिलेखका रूपमा नरहेका कैयौँ उदाहरणहरू छन् । यस्ता गौरवमय संस्कृति, इतिहासलाई प्रवीण पुमाले जसरी नाटकका रूपमा लेखिदिएका छन् – यो निकै प्रशंसनीय छ ।

समग्रमा भन्ने हो भने प्रस्तुत नाट्यकृति ‘सुम्निमा–पारूहाङ’ नेपाली वाङमयमा उपलब्धि हुनसक्ने कुरालाई नकार्न सकिँदैन । भविष्यमा नेपाली संस्कृति र परम्पराको अध्ययन अनुसन्धान गर्नेहरूका लागि प्रस्तुत नाटक सङ्ग्रह ‘सुम्निमा–पारूहोङ’ एउटा आधार खम्बा हुनसक्छ । त्यसैले यस नाट्यकृतिलाई केवल नाटककै रूपमा मात्रै सीमित राख्न मिल्दैन ।

जेहोस्, प्रवीण पुमाको प्रयास निकै प्रशंसनीय छ । नाट्य क्षेत्रमा अब एउटा अर्को उपलब्धि मेरा लागि खुशीको विषय हो । प्रवीण पुमाको कलममा शक्ति छ, उनले थाक्नु हुँदैन ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्