Logo

किरात राई मुन्दुमको ज्ञान मीमांसा


-डा. भक्त राई 

विषय प्रवेश

मीमाङसाको अर्थ दर्शनशास्त्रमा पूजित ज्ञान वा आप्तवचन (विशिष्ट विद्वानको भनाइ) भन्ने लाग्छ, तर वर्तमान समय र सन्दर्भमा भने मीमांसा भनेको कुनै पनि विषयको विवेचना, चिन्तन वा विश्लेषण भन्ने अर्थमा बुझिन्छ । दर्शन शास्त्रमा दर्शनले कुन कुन विषयको खोजी गर्दछ अथवा कुन कुन विषयमा बताउँछ भन्ने विषयमा मतैक्यता पाईदैन यस सन्दर्भमा अभय शर्मा र रविप्रसाद गुरागाई (२०६९ : १९) भन्छन् – दर्शनको आधारभूत तत्त्वलाई समेट्ने हो भने दर्शनको व्यापक अर्थलाई लिएर परिभाषा गर्नु उपयुक्त हुन जान्छ । दर्शनले तीनवटा चरित्र बोकेको हुनु पर्छ । ती हुन् १. प्रकृति र समाजको आधारभूत तत्व के हो ? यसको सञ्चालन कसरी भएको हुन्छ ? अर्थात् सत्ता र अन्तर्वस्तुको सम्बन्धबारे बोल्नु पर्छ । २. ज्ञान कसरी प्राप्त हुन्छ ? ३. समाजको नीति के हो ? सौन्दर्य के हो ? मूल्य के हो ? दर्शनले कुन विधि अपनाउँछ । कुनै पनि कुरालाई ठीक वा बेठीक छुट्याउने आधार के ? आदि सवालको सही जवाफ दिनु पर्दछ । दर्शनका मूल पक्षलाई यसरी उल्लेख गर्न सकिन्छ । उपर्युक्त आधारमा के देखिन्छ भने दर्शनले विशेषत : तत्त्व चिन्तनसम्बन्धी, ज्ञानसम्बन्धी, सामाजिक नीति र सौन्दर्यप्रति अर्थात् तत्त्व मीमांसा, ज्ञान मीमांसा र आचार मीमांसा सम्बन्धी बोल्नु पर्दछ भन्ने देखिन्छ ।

दर्शनशास्त्रको यसै विषयमा गोविन्दशरण उपाध्याय (२०६४ : १७६) भन्छन् – समसामयिक सन्दर्भमा दर्शनशास्त्रमा अनेकौ नयाँ अध्ययन प्रवृत्तिहरू देखा परेका छन् तथापि दर्शनशास्त्रीय चिन्तनका विषयवस्तुलाई निम्न अनुसार बुझ्न सकिन्छ –
१. तत्त्वशास्त्र वा मेटाफिजिक्स
२. ज्ञान मीमांसा वा एथिक्स
३. नीति शास्त्र वा एथिक्स
४. समाज दर्शन वा सोसल फिलोसफी
५. राजनैतिक दर्शन वा पोलिटीकल फिलोसफी
६. सौन्दर्यशास्त्र वा एस्थेटिक्स
७. तर्कशास्त्र वा लोजिक
यसरी हेर्दा के देखिन्छ भने दर्शनशास्त्रले उठाउने विषय वा विवेचना अनेकन् हुन सक्छन्, तर दर्शनशास्त्रले मूलतः निम्नानुसारको विषयको खोजी गर्दछ । ती हुन् –

(क) तत्त्व मीमांसा
यस अन्तर्गत जीवन र जगत्को आधारभूत तत्त्वको खोजी गरिन्छ । प्रकृति र अन्य जगत्का संरचनाबारे अध्ययन गर्ने काम तत्त्व मीमांसाले गर्दछ । यो विश्वको मूल तत्त्व के हो ? यो चराचर जगतको निर्माण कुन तत्वले भएको छ ? यसको अर्थात् पदार्थको चेतनासँगको सम्बन्ध के छ ? यसको अन्त्य कसरी हुन्छ ? यसको उत्पत्ति प्रक्रिया र चरण के कस्ता छन् ? आदि विषयको खोजी नै तत्त्व मीमांसाले गर्ने गर्दछ ।

(ख) ज्ञान मीमांसा
यसमा ज्ञान सम्बन्धी विवेचना गरिन्छ । ज्ञान के हो ? यसको स्रोत के हो ? ज्ञान कसरी प्राप्त गर्न सकिन्छ ? ज्ञानको सीमा के हो ? ज्ञानको लक्ष्य, विकास, ज्ञाता र श्रेयको सम्बन्ध आदि विषयको खोजी नै ज्ञान मीमांसाले गर्दछ । यसरी हेर्दा के देखिन्छ भने ज्ञान विषयको समग्र खोजी नै ज्ञान मीमांसा हो ।

(ग) आचार (नीति) मीमांसा
नैतिकता के हो ? कुन कार्य उचित हो ? कुन कार्य अनुचित हो ? उचित र अनुचितको मापदण्ड के हो ? समस्त मानवीय मूल्य के हो ? आदि आचार वा नैतिकता सम्बन्धी विवेचना नै आचार मीमांसाले गर्दछ ।

(घ) प्रमाण मीमांसा
यस अन्तर्गत ज्ञानका स्रोतहरूको खोजी र प्रमाणीकरण गरिन्छ । जस्तै : ज्ञानको स्रोत के हो ? प्रत्यक्ष प्रमाण, अनुमान प्रमाण, उपमान प्रमाण वा शब्द प्रमाणमध्ये कुन प्रमाणको आधारमा दार्शनिक आधार खडा भएको छ वा ज्ञान प्राप्त गरिएको छ भन्ने खोजी नै प्रमाण मीमांसा हो । प्रमाण मीमांसाले कुनै पनि दर्शनको आधार र प्रामाणिकताको खोजी गर्दछ ।

(ङ) सौन्दर्य मीमांसा
यसले सौन्दर्य चिन्तनको खोजी गर्दछ । समाजको मूल्य, मान्यता, जायज, नाजायज , राम्रो नराम्रो आदि विविध प्रकारका वस्तु र विषयको सुन्दरताप्रतिको आम दृष्टिकोणको विवेचना नै सौन्दर्य मीमांसा हो । सुन्दरता भनेको के हो ? सुन्दर, असुन्दर नाप्ने आधार वा मापदण्ड के हो ? कुन दर्शनले कुन परम्परा, वस्तु वा विषयलाई के को आधारमा सुन्दर वा असुन्दर मान्दछ भन्ने विषयको विवेचना सौन्दर्य मीमांसा अन्तर्गत पर्दछन ।

यसका अतिरिक्त राजनैतिक दर्शन, साहित्यिक दर्शन, साँस्कृतिक दर्शन, तर्क दर्शन, गणित दर्शन, इतिहास दर्शन, शिक्षा दर्शन, धर्म दर्शन, समाज दर्शन, सङ्गीत दर्शन आदि अनेकौं क्षेत्र र विषय सम्बन्धको खोजी र दृष्टिकोण दर्शनशास्त्रमा गरिन्छ । यद्यपि यी कतिपय विषयहरू माथि उल्लिखित पाँचवटा मीमांसाभित्र समेट्न सकिन्छ । त्यसैले मूलतः यिनै पाँचवटा मीमांसीय विषयभित्र सम्पूर्ण दर्शनको मीमांसीय अध्ययनलाई समेट्न सकिन्छ ।

किरात मुन्दुमको ज्ञान मीमाम्ङ्सा 

मुन्दुम किरातीहरुको मौखिक वाङ्मय हो । मुन्दुमभित्र किरातीहरुको भाषा, संस्कार, संस्कृति, इतिहास, भूगोल, कला, साहित्य, दर्शन, चिन्तन तथा सामाजिक मूल्य र मान्यताहरु मुखरित भएका हुन्छन । त्यसैले मुन्दुम किरातीहरुको आस्था एवं विश्वासको धरोहर हो । मुन्दुम एक मुखबाट अर्को मुख, एक समाजबाट अर्को समाज हुँदै एक पुस्ताबाट अर्को पुस्तासम्म मौखिक तथा परम्परामा हस्तान्तरण अर्को पुस्तासम्म मौखिक तथा श्रुति परम्परामा हस्तान्तरण हुँदै वर्तमानसम्म आइपुगेको हो । मुन्दुमभित्र सामाजिक, धार्मिक, साँस्कृतिक मूल्य र मान्यताहरुको अतिरिक्त विशेषतः मानिसको उत्पत्ति, जीवजन्तुको उत्पत्ति, पञ्च तत्त्वका उत्पत्ति तथा समग्र जीवन र जगत्को उत्पत्ति कथाका वर्णनहरु समेत पाइन्छ ।

ज्ञान के हो ? यसको स्रोत के हो ? ज्ञान कसरी प्राप्त गर्न सकिन्छ ? ज्ञानको सीमा के हो ? ज्ञानको लक्ष्य, विकास, ज्ञाता र श्रेयको सम्बन्ध आदि विषयको खोजी नै ज्ञान मीमांसाले गर्दछ । यसरी हेर्दा के देखिन्छ भने ज्ञान विषयको समग्र खोजी नै ज्ञान मीमांसा हो ।

किरात राई जातिको मुन्दुम भनेको पितृहरूले देखेर, भोगेर, सुनेर, बुझेर प्राप्त गरेको ज्ञान भण्डार हो । त्यसैले मुन्दुमी दर्शन र चिन्तनबाट प्रँप्त ज्ञान विश्वसनीय तथा विश्वजनिन हुन्छ । कस्तो काम गर्न हुन्छ, कस्तो काम गर्नु हुदैन, कुन काम कुन समयमा गर्ने, किन गर्ने, किन नगर्ने, कसरी गर्ने, कोद्वारा गर्ने, कहाँ गर्ने ? जस्ता ज्ञानहरू मुन्दुमबाट प्राप्त गर्न सकिन्छ । प्राचीन समयदेखि नै किराती पुर्खाहरूले प्रकृतिसँगको साहचर्य र सहकार्यबाट प्राप्त ज्ञानभण्डार मुन्दुमभित्र उनिएका हुन्छन् र त्यही ज्ञान अघिल्लो पुस्तामार्फत् पछिल्लो पुस्तासम्म अनवरत रूपमा मौखिक तथा श्रृतिपरम्परामा हस्तान्तरण हुँदै आएको छ । किराती जातिमा लिखित ग्रन्थहरू पाइदैन । भर्खर भर्खर मात्र किरातीहरूले आफ्ना प्राचीन भाषा, साहित्य, संस्कार, संस्कृति, धर्म ग्रन्थ, दर्शन आदि विषयहरूलाई लिखित रूपमा उतार्न थालेका छन् । त्यसैले किरातीहरूको ज्ञान मौखिक तथा श्रुतिपरम्परामै एक पुस्ताबाट अर्को पुस्तासम्म हस्तान्तरण हुँदै आएका छन् । किराती मुन्दुम पनि मौखिक परम्परामै हालसम्म पनि हस्तान्तरण हुँदै आएका छन् । भर्खरै मात्र मौखिक परम्परामा रहेको मुन्दुमलाई सङ्कलन गर्ने, विश्लेषण गर्ने कार्यको शुभारम्भ हुन थालेको छ । मुन्दुमी ज्ञान सीमित व्यक्तिहरूस“ग मात्र हुने हुनाले यसको लोप हुने अवस्था समेत देख्न सकिन्छ । त्यसैले मुन्दुमलाई बेलैमा सङ्कलन गरी अभिलेखीकरण गर्नुपर्ने देखिन्छ । मुन्दुमलाई सङ्कलन गरी यसका विषयवस्तु, प्रसङ्ग, सन्दर्भ तथा भावार्थलाई बुझेर वर्गीकरण, विश्लेषण गरी व्यापक बनाउनु आवश्यक देखिन्छ । किराती जातिमा ज्ञान प्राप्त गर्ने प्रमुख दुई वटा आधार छन् । एउटा भनेको आफ्ना पुर्खाहरूले जीविकापार्जन गर्ने क्रममा अनुभव, अनुभूति र चिन्तनका आधारमा तयार पारेको मुन्दुमी ज्ञान र अर्काे भनेको आफै प्रकृति र पितृहरूस“गको सहकार्य, सामीप्यता र साहचर्यबाट प्राप्त प्रत्यक्ष ज्ञान ।

ज्ञान के हो ? यसको स्रोत के हो ? ज्ञान कसरी प्राप्त गर्न सकिन्छ ? ज्ञानको सीमा के हो ? ज्ञानको लक्ष्य, विकास, ज्ञाता र श्रेयको सम्बन्ध आदि विषयको खोजी नै ज्ञान मीमांसाले गर्दछ । यसरी हेर्दा के देखिन्छ भने ज्ञान विषयको समग्र खोजी नै ज्ञान मीमांसा हो ।

‘ज्ञान’ भनेको कुनै पनि वस्तु वा विषय बारेको यथार्थता प्राप्त गर्नु हो । ज्ञान अध्ययन, अनुसन्धान, अनुभव र अनुभूतिका आधारमा प्राप्त गर्न सकिन्छ । यसरी नै सुनेर, देखेर, छामेर, चाखेर, सुँघेर पनि ज्ञान प्राप्त गर्न सकिन्छ । ज्ञानका अनेकौं प्रकार र आयामहरू छन् । यसलाई प्राप्त गर्नु यसको विशेषताका आधारमा कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयबोध हुने गर्दछ । किराती मुन्दुमले आफ्नै भोगाइबाट प्राप्त ज्ञानलाई नै सर्वाेपरि महत्त्व दिने गर्दछ । साक्षात् रूपमा आफैले भोगेको ज्ञान नै वास्तविक ज्ञान मान्ने किराती दर्शनले पढेरभन्दा परेर जानिन्छ भन्ने मान्यतालाई अङ्गीकार गर्दछ । जब मानिस जन्मन्छ त्यसपछि नै उसले विस्तारै विस्तारै ज्ञान प्राप्त गर्दै जान्छ । रुँदै, कराउँदै, बामे सर्दै, टुक्टुकु हिड्दै सर्वप्रथम आफ्ना आमा त्यसपछि, परिवार, छिमेकी र अन्य समुदायसँग घुलमिल हुन सिक्दछ । यसरी एउटा बालकले आफ्ना प्रत्येक पल नयाँ-नयाँ कुराहरू भोगिरहेका हुन्छ र त्यही भोगाइबाट नयाँ-नयाँ ज्ञान प्राप्त गरिरहेको हुन्छ । यसरी उसले आफ्ना आँखाले नयाँ-नयाँ कुरा हेरेर, छालाले नयाँ-नयाँ छोएर (स्पर्श गरेर), वस्तुहरू छामेर, नाकले नयाँ-नयाँ बास्नाहरू सुँघेर, जिब्रोले नयाँ-नयाँ स्वादहरू चाखेर र कानले नयाँ-नयाँ आवाज सुनेर नया“ नया“ ज्ञान प्राप्त गरिरहेको हुन्छ । यसरी पञ्च इन्द्रियद्वारा प्रत्यक्ष रूपमा प्राप्त ज्ञान नै प्रत्यक्ष ज्ञान हो । यही ज्ञानलाई किराती मुन्दुमले सर्वाधिक सत्य र शाश्वत मान्ने गर्दछ । ज्ञानका प्रमुख दुई वटा स्रोत पुर्खाैली विरासतका रूपमा प्राप्त मुन्दुमी ज्ञान र प्रत्यक्ष ज्ञानमध्ये प्रत्यक्ष ज्ञानलाई नै सर्वाधिक महत्त्व प्रदान गर्ने मुन्दुमी दर्शनले प्रत्यक्ष भोगाइबाट प्राप्त ज्ञानलाई नै वास्तविक ज्ञान पनि ठान्दछ ।

यसरी हेर्दा के देखिन्छ भने किराती मुन्दुमी दर्शनले पुर्खाैली विरासतका रूपमा प्राप्त ज्ञानलाई आफूले प्रत्यक्ष रूपमा परीक्षण गर्दै, प्रत्यक्ष अनुभव र अनुभूतिले पर्गेल्दै पुनः प्रयोग र परीक्षण गर्दै व्यवहारिक जीवनमा प्रयोग गर्दै आफ्ना जीवन पद्धतिमा समाहित गर्दै जानु पर्दछ भन्ने मान्यता राख्दछ । किराती मुन्दुमले वेदलाई औपुरुषेय, देववाणी वा इश्वरीय वाणीको रुपमा लिएजस्तो मान्दैन । वेदान्तीहरुले वेदलाई नै एक मात्र शास्वत सत्य र वेदमा बताइएका सम्पूर्ण वैदिक मन्त्र, ऋचाहरु इश्वरीय वाणी हुन् भन्ने अतिशय भक्तिभाव मुन्दुममा पाइँदैन । इसाईहरुले बाइबलमा बताइएको कुराहरु बाहेक सबै झुटा हुन अथवा बाइबललाई थप्न पनि मिल्दैन, घटाउन पनि मिल्दैन भन्ने मान्यता राखेजस्तो यसरी नै इश्लामहरुले कुरानका प्रत्येक हरफलाई खुदाका वचन मानेजस्तो किरातीहरुले मुन्दुमलाई आत्मसात गर्दैनन् ।
मान्छेले जन्मनासाथ प्राप्त पुर्खाका विरासतहरू भाषा, संस्कार, संस्कृति, जाति, परिवार, समुदाय, देश र परिवेशलाई आफ्नै प्रत्यक्ष अनुभवबाट पुनः अभ्यास, परीक्षण र प्रयोग गर्दै समयानुकूल बुझ्दै र ग्रहण गर्दै जानु पर्दछ भन्ने चिन्तन मुन्दुमी दर्शनले बोकेको देखिन्छ ।

यसबाट के बुझिन्छ भने ज्ञान भनेको समय र परिस्थिति अनुसार प्रँप्त गर्न सकिन्छ । जीवन भोगाइबाट प्राप्त ज्ञान र पुर्खाको विरासतका रूपमा प्राप्त ज्ञान बिच के फरक पाउन सकिन्छ भने प्रत्यक्ष ज्ञान आफ्नै समय र परिवेशबाट प्राप्त भएको हुन्छ भने पुर्खाैली ज्ञान तत्कालीन समय र परिवेशमा प्राप्त भएको ज्ञाान भएको हुनाले त्यो वर्तमान समयमा सान्दर्भिक तथा सत्य नहुन पनि सक्छ । त्यसैले परम्परित मूल्य र मान्यताहरू, चिन्तन, विचार र ज्ञानहरू आफ्नै सापेक्षताको कसीमा परीक्षण गर्दै पूर्व प्राप्त अप्रत्यक्ष ज्ञानहरूलाई परिक्षण गर्दै अवलम्बन गर्नु पर्दछ भन्ने मान्यता मुन्दुमी दर्शनको रहेको देखिन्छ ।

पितृ र प्रकृतिलाई सृष्टिको आधार मान्ने मुन्दुमी दर्शनले मानिसले जे जति ज्ञान प्राप्त गर्दछ त्यो पितृबाट विरासतका रूपमा प्राप्त पुख्र्याैली ज्ञान र प्रकृतिसँगको साहचर्य र सहकार्यबाट प्राप्त प्रत्यक्ष रूपमा प्राप्त भएको ज्ञान नै हो भन्ने ठान्दछ । ज्ञानका प्रमुख दुई स्रोतमध्ये किराती मुन्दुमी दर्शनले प्रत्यक्ष रूपमा प्राप्त ज्ञानलाई वास्तविक ज्ञान मान्ने गर्दछ किनभने पुर्खाले आफ्ना पालामा देखेको सत्य, भोगेको सत्य र बुझेको सत्य वर्तमान समयमा गलत साबित हुन पनि सक्दछ । मानिस जुन परिवेश र पर्यावरणमा बाँच्दछ उसले सोही अनुसारको चिन्तन र दर्शनको निर्माण गर्दछ र दर्शन अनुसारकै जीविकापार्जन गर्ने गर्दछ । मान्छेले जहिले पनि आफ्नै सापेक्षतामा बाँच्ने र सोही अनुरूपको ज्ञान प्राप्त गर्दछ । त्यसैले मानिसले जुन समय र परिवेशमा ज्ञान प्राप्त गरेको हुन्छ त्यो फरक समयमा वा हजारौं वर्षपछि सत्य र स्वाभाविक नहुन सक्छ । समय र परिस्थितिले पुराना परम्परित मूल्य र मान्यतालाई भत्काउ“दै जाने हुनाले हरेक समयमा नया“ नया“ ज्ञान, चेतना, दर्शन, मूल्य र मान्यताहरू स्थापित हुँदै जाने गर्दछन् । हिजोका पुस्ताले सत्य र शाश्वत ठानेका विचार र ज्ञानहरू वर्तमान पुस्ताका लागि सही र सत्य नहुन सक्छ । त्यसैले किराती मुन्दुमले संसारमा सत्य र शाश्वत वस्तु कुनै पनि नभएको सत्यलाई अङ्गीकार गर्दछ । किराती जातिमा प्रचलित सामाजिक, सांस्कृतिक, राजनैतिक आदि विभिन्न क्षेत्रमा प्रचलित ज्ञान यिनै दुईवटा ज्ञानका स्रोतका आधारमा प्रँप्त भएका हुन् ।

निष्कर्षः किराती मुन्दुमले ज्ञानलाई समायानुकूल उपयोग गर्दै, अभ्यास, प्रयोग र परीक्षण गर्दै प्राप्त गरिने वस्तुको रूपमा लिएको देखिन्छ । ज्ञानका प्रमुख दुईवटा स्रोत पुख्र्यौली प्राप्त ज्ञान वा पूर्ववर्ती रूपमा स्थापित ज्ञान र प्रत्यक्ष रूपमा प्राप्त इन्द्रियजन्य ज्ञानमध्ये प्रत्यक्ष ज्ञानलाई वास्तविक ज्ञान मानेको छ । पितृहरूबाट विरासतका रूपमा प्राप्त ज्ञानलाई पुनः परीक्षण, अभ्यास र अवलम्बन गर्दै आफ्नो परिवेश र पर्यावरण अनुसार जाँच पड्ताल गरी ती ज्ञानहरूलाई आफ्नो जीवनयापनमा आवद्धता गर्नु पर्दछ भन्ने दार्शनिक चिन्तन किराती मुन्दुमी दर्शनले आत्मसात् गरेको देखिन्छ ।

सन्दर्भसामग्री
उपाध्याय, गोविन्दशरण (२०६४), पाश्चात्य दर्शन, काठमाडौं : पैरवी बुक हाउस ।
उपाध्याय, गोविन्दशरण (२०६६), आर्यदर्शन, काठमाडौं : विद्यार्थी पुस्तक भण्डार ।
प्रभात, विष्णु (२०७०), सम्पा. दर्शनावली, काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठान ।
भुसाल, वेदुराम (२०६८), नेपालमा प्रचलित दार्शनिक चिन्तनहरु, काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठान ।
राई, भक्त (२०७४–०४–०६), किरात राई मुन्दुमको तत्व मीमांसा, नेपाल प्रज्ञा प्रतिष्ठान तथा नेपाल प्राज्ञिक अनुसन्धान केन्द्रद्वारा संयुक्त रूपमा सञ्चालित दर्शन गोष्ठीमा प्रस्तुत कार्यपत्र ।
सांकृत्यायन, राहुल (सन् २०१६), दर्शन, दिग्दर्शन, इलाहावाद : किताब महल ।

 

 

 

 

 

 

 

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्