उत्तर कोरियाली नेता किमसँग दोस्रो शिखर सम्मेलन गर्ने ट्रम्पको घोषणा

अमेरिकी कंग्रेसको संयुक्त बैठकसमक्ष गरिने वार्षिक सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँगको सम्बन्ध र मेक्सिको सिमानामा पर्खालको विषय छुटाएनन्।
“उच्चता को छनोट” नाम दिइएको उक्त सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले राष्ट्रिय एकताका निम्ति आह्वान समेत गरे। उनले उठाएका चार महत्त्वपूर्ण विषय विस्तारमा:
उत्तर कोरिया:
उत्तर कोरियाली नेता किम जङ्-अनसँग फेब्रुअरी २७-२८ मा भियतनाममा भेटवार्ता गर्ने ट्रम्पले घोषणा गरेका छन्।
गत वर्ष दुई नेताबीच भएको ऐतिहासिक शिखरवार्ता यता दुवै देशले दोस्रो वार्ताको तयारी थालेका थिए।
मङ्गलवार राति सम्बोधन गर्दै ट्रम्पले भने: “हाम्रा बन्दीहरू घर फर्किएका छन्। परमाणु परीक्षण रोकिएका छन्। गएको पन्ध्र महिनामा एउटा पनि क्षेप्यास्त्र प्रहार भएको छैन।”
“यदि म अमेरिकाको राष्ट्रपति निर्वाचित नभएको भए, मेरो विचारमा, अहिले हामी उत्तर कोरियासँग ठूलो युद्धमा हुने थियौँ।”
“धेरै काम गर्न बाँकी छ तर किम जङ्-अनसँगको मेरो सम्बन्ध राम्रो छ।”
राजनीतिक एकता:
दुई वर्षदेखिको विपक्षीसँगको विषाक्त सम्बन्धका माझ राष्ट्रपति ट्रम्पले मङ्गलवार राजनीतिक एकताका निम्ति आग्रह गरे।

“हामी मिलेर दशकौँदेखि विद्यमान राजनीतिक गतिरोध तोड्न सक्छौँ। हामी पुराना विभाजन मेटाउन, पुराना घाउ पुर्न र नयाँ गठबन्धन निर्माण गर्न सक्छौँ,” उनले भने।
उनले पूर्वाधार सुधार, औषधिको मूल्य घटाउने तथा बालबालिकामा हुने क्यान्सरविरुद्ध लड्ने जस्ता विषयमा दुवै पक्षको मिलनविन्दु भेटिने उल्लेख गरे।
“अमेरिकामा अहिले आर्थिक चमत्कार भइरहेको छ। यसलाई केवल मूर्ख्याईँपूर्ण युद्ध, राजनीति वा हाँसउठ्दा राजनीतिक पूर्वाग्रहपूर्ण छानबिनले रोक्न सक्छन्।”
डेमोक्र्याटिक दलका नेताहरूले प्रतिनिधिसभामा बहुमत पाएदेखि ट्रम्प प्रशासनमाथि श्रृङ्खलाबद्ध छानबिनको योजना बनाएका छन्।
सन् २०१६ को राष्ट्रपतिय चुनावताका रुससँग साँठगाँठको आरोपबारे विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलरले छानबिन गरिरहेका छन्।
विदेशी युद्ध:
राष्ट्रपति ट्रम्पले तालिबानसँग अफगानिस्तान युद्ध रोक्ने बारे उनको प्रशासनले ‘रचनात्मक कुराकानी’ गरिरहेको बताए।
“शान्तिका निम्ति कम्तीमा प्रयास गर्ने समय आएको छ।”
राष्ट्रपतिले भने, कुनै समय इस्लामिक स्टेट समूहले कब्जामा लिएको सिरिया र इराकको लगभग सबै भूभागलाई “ती रक्तपिपासु दैत्य” बाट मुक्त पारिएको छ।
“सिरियामा रहेका हाम्रा साहसी योद्धालाई अब घरमा न्यानो स्वागत गर्ने बेला आएको छ,” उनले भने।
मध्यपूर्वमा झण्डै दुई दशकयता भएका युद्धहरूमा अमेरिकाले सात हजार सैनिक गुमाएको तथा ७ ट्रिलियन डलरको नोक्सानी बेहोरेको उनले बताए।
“महान देशहरूले अन्तहीन युद्ध लड्दैनन्।”
सीमा सुरक्षा:
छिमेकी मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने कुरा राष्ट्रपतिले पुन: दोहोर्याए।
अवैध आप्रवासीको समस्यालाई उनले राष्ट्रिय सङ्कट भने।
तर कंग्रेसले पैसा नदिएपनि पर्खाल बनाउन अनुमति मिल्ने गरि तत्काल सिमानामा आपतकालीन स्थिति घोषणा गर्नेबारे भने उनले केही बोलेनन्।
यही विषयलाई लिएर अर्को साता फेरि सरकारी खर्चबन्दीको स्थिति आइपर्न लागेको बेला राष्ट्रपतिसमक्ष पर्खाल बनाउन लाग्ने कोष जम्मा गर्न अब थोरै विकल्पमात्र बाँकी छन्।
अवैध आप्रवासीका कारण काम गर्ने अमेरिकीहरूलाई धेरै अप्ठेरो परेको उनले बताए।