‘प्रदेशको नामकरण र राजधानी हिउँदे अधिवेशनले टुङ्गो लगाउँछ’-मुख्यमन्त्री शेरधन राई

विराटनगर- प्रदेश–१ संसदको हिउँदे अधिवेशन सुरु हुनु अघि आइतबार प्रदेशका मुख्यमन्त्री शेरधन राईले यस विषयमा विराटनगरमा पत्रकारहरुसँग ‘ब्रिफिङ’ गर्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदमा कार्यालयमा पत्रकारहरुसँग छलफल गर्दे राईले हिउँदे अधिवेशनमा संसदमा प्रवेश पाउने विषयको जानकारी गराउनुभएको हो । आइतबार दिउँसो ३ बजे प्रदेशको अस्थायी राजधानी विराटनगरस्थित प्रदेशसभा भवनमा संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ ।
यो हिउँदे अधिवेशले प्रदेशको स्थायी राजधानी र नामाकरणलाई टुंगो लगाउने पत्रकारहरुमाझ मुख्यमन्त्री राईले जानकारी गरानुभयो । ‘स्थायी राजधानी कहाँ राख्ने र नाम के हुने भन्ने कुरा सबैको चासोको विषय बन्न पुगेको छ,’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘यस अघिको अधिवेशनमा यस विषयलाई टुँगो लगाउन नसकिएका कारण हिउँदे अधिवेशनमा भने नाम र राजधानीलाई मुख्य विषय बनाइने छ ।’
यो हिउँदे अधिवेशनले नाम र राजधानीको विषय टुंगो लगाउँछ । यसका लागि सहमतिको प्रयास हुनेछ,’ उहाँले भन्नुभयो, ‘सहमति नभए प्रक्रियामा गएर भए पनि टुँग्याइने छ । नाम र राजधानीको अन्तिम टुँगो लगाउने अधिकार प्रदेशसभालाई हुन्छ ।’
मुख्यमन्त्री राईले संसदका विभिन्न समितिका सभापतिहरु टुँगो लगाउन बाँकी रहेको भन्दै यस अधिवेशनले समितिका सभापति पनि टुँगो लगाउने जानकारी दिनुभयो । उहाँले प्रदेशको समृद्धि र विकासमा केन्द्रीत हुन सबैलाई आग्रह गर्नुभयो । राष्ट्रिय राजनीतिमा दलहरुबीचमा केही समस्या देखिए पनि प्रदेशमा यो समस्या नहोस भनेर सबै दलहरुबीचमा छलफल गर्दै उच्चस्तरिय सहमति गरेर अघि बढ्ने मुख्यमन्त्री राईको भनाइ छ ।
‘संसदमा प्रस्तुत हुने कुनै पनि विषयलाई छरपस्ट बनाउँदै असामान्य ढंगबाट लगिने छैन,’ उहाँले भन्नुभयो, ‘सबै दलहरुबीचमा सहमति र समझदारी गरेर नै अगाडि बढिने भएका कारण अन्य दलले पनि जिम्मेवार भएरै प्रस्तुत हुन आवश्यक छ ।’ कुनै कुरालाई असामान्य हिसावले प्रस्तुत गर्दा त्यसले सिंगो प्रदेशको विकास र समृद्धिमा बाधा पुग्ने मुख्यमन्त्री राईको ठम्याई छ । राईले सबै दलको चाहना प्रदेशको समृद्धि र विकास नै भएका कारण त्यही हिसावले सबैले सहयोग गर्नु पर्ने बताउनुभयो ।
उहाँले बजेट कार्यान्वयको चरणमा प्रदेश अघि बढिसकेको जानकारी दिंदै संघीय सरकारबाट हस्तान्तरण हुने संरचना र बजेटको अख्तियारी पठाउन ढिलाई हुँदा भने काममा केही बाधा परिरहेको बताउनुभयो । राईले प्रदेश सरकारले कृषिलाई प्राथमिकता दिएको बताउँदै कृषिलाई आधुनिकीकरण गरेर सिंगो प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने खालका योजना ल्याइने जानकारी दिनुभयो ।