बजुको अन्तिम कथा
-भाई किराती
सुनाउनु भो कथा बजुले,
हल्लिँदै छाल झैँ मधुर स्वरमा,
रोकेर केही क्षण घडीको सेकेन्ड सुई
“घोत्लिएर सम्झी त नाती !
नपारेको त कहाँ थियो र मलाई पनि ?
छिया-छिया
तीनका जम्मै अस्त्रहरुले
तर त मुलाङलाई बचाए
गुट्मुट्याएरै फरियाई भित्र
क्रूर कालीपल्टनको
सैतानी हर्कतहरुबाट
स्वीकार्दै छेद्-बिच्छेदताको हनिमुन
सिरिङ्ग हुन्छ आङ्ग, सम्झँदा पनि
निन्द्राबाटै ब्युँझिने गरि
बाँकी भेटे जत्ती पार्दै चिरा-चिरा
कलिला ज्यानहरुमा
नचाए तरवार मनलागी वारपार
त्यत्ती मात्रै कहाँ हो र ?
मिल्काईदिए लुछी-लुछी
पाठेघरको जुइनोसँगै पो
नबुझेर चित्त बलात्कारले
चोक्टाहरु छरस्टै स्तनका
संगीन त कत्ति धसे कत्ति
काठका छड्केहरु नै
किलो झैँ ठोक्न भ्याए योनीमा
खै कहिलेको, केको बदला थियो कुन्नी ?
देखेको छु मैले ता वावै !
आयो..यो !
त्यो बन्दुकमा सिउरिएको
धारे भालाको छेदन मात्र कहाँ होर ?
घुसारेरै खुनी हात बलैले
अन्तिम चीत्कार एकोहोरो
सिर्रर सिर्रर रगतको सिर्काहरुसँगै
गर्भिणी आमाहरुको योनीबाट निकाल्दै
फुत्त-फुत्त फालेर भुइँ भरी छरपस्ट
मनाए महान विजय महोत्सव
ओभाउँनै लागेको रगतका
निराकार ङ्यालदुङ डल्लाहरुको
बिभत्सता माथि
त्यस्को के जान्थ्यो र ?
आमा पट्टीको, न बाउ पट्टीको !
लोग्नेमान्छे त बाँकी नै थिएन
मार्नलाई कोही”
ए प्यारो नाती,
हिड्दैछस अहिले कुन बाटो हँ ?
के खाँदैछस ?
जे खायो त्यही हग्ने त हो !
छाडिराखे झैँ आफ्नो गुँड
हुर्केपछि बचेराले
छोडेउ चटक्कै थातथलो पनि
भुलिहालेउ त खेतीपाती गर्नु
सकियो त भएभरको सिटोपिठो
कति बाँच्छस अरुको भरमा,
बोकि बोकि, गुदी कुहाएर सिंगारिएको बोक्रा
जोगाएर माई क्लीएर ब्यागसँगै
लाग्छस अरुकै लहै-लहैमा,
सिँगार्छस अरुको हावादारी दोकान ?
चास्न थाल आफ्नो खपिताउलोहरु नै बरु
जोड्दी राखेकै छन त वाउ बाजेले
भेटिनेछ त्यहाँ
भावी दर सन्तानको लागि भनेर
च्याब्जुले जोहो गर्दिराखेको गाड्धन
र त्यो पुँजीको शक्तिमा मिसाउ
आफ्नो नयाँ विवेक
अनि जुटाउ दस औंलाको मुठी
गर आगोको नयाँ आविस्कार
ओकल आगोको ज्वालै-ज्वाला
र पारिदेउ ध्वस्त
बित्तण्डावादी राजनीतिक दर्शन
डिलिट गर त्यो
मेमोरि कार्डको सारा भाइरसहरु
अनि उभ,
उभ, बदलिँदो सामाजिक परिवेशको
वास्तविक धरातलमा ।
अचानक चल्न थाल्यो घडीको सुई
निदाउनु भो बजु सदाको लागि !
सुन्नु थ्यो अरु धेरै कथा ढिलो भएछ ।