पश्चिमी वायुको प्रभावले सोमबार रातिदेखि  देशभरको मौसममा बदली भएको छ। राजधानी काठमाडौं उपत्यकासहित पश्चिम नेपालमा बिहानैदेखि बादल लागेको छ भने पूर्वी भागमा पनि यसको प्रभाव देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार साँझ राजधानी उपत्यका हल्का वर्षा हुने बताएको छ।

‘उपत्यकामा आज साँझ हल्का वर्षा हुने देखिएको छ, ’ महाशाखाका बरिष्ठ मौसमविद् सुजन सुवेदीले सेतोपाटीसँग भने,‘फूल्चोकी लगायत आसपासका डाँडामा हिउँ पर्ने सम्भावना पनि छ।’

उनका अनुसार बुधबार पनि मौमसमा बदली जारी रहनेछ।

यसअघि पुस २३ गते राजधानीमा यो वर्षको पहिलो हिउँदे वर्षा भएको थियो भने चन्द्रागिरी, फूल्चोकीलगायत डाँडामा हिउँ परेको थियो।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ ०८  गते (मंगलवार)

दिउँसो: देशको पश्चिमी भुभागमा सामान्य देखि पुर्ण बदली र बाँकी भुभागमा सामान्य बदलि हुनेछ।पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै पश्चिमि र मध्यका हिमालि भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ भने पूर्वी हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिः देशको पहाडी भुभागमा सामान्य देखि पुर्ण बदलि र बाँकी भुभागमा सामान्य बदलि हुनेछ।पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै पश्चिमि र मध्यका हिमालि भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ भने पूर्वी हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ ०९  गते (बुधवार)

दिउँसो: देशभर सामान्यतया बदलि हुनेछ। पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ।  साथै देशको हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ।

रातिः देशभर सामान्यतया बदलि हुनेछ।पश्चिमि क्षेत्रका केहि स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ।

माघ १०  गते (बिहिवार)

दिउँसो: देशको पश्चिमी भुभागमा आंसिक देखि सामान्य बदली, पुर्वी तथा मध्यका पहाडी भुभागमा आंसिक बदली र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः देशको पहाडी भुभागमा आंसिक बदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ तथापि मध्यरात पश्चात देशभरी आंसिक बदली रहने संभावना छ।