ओली-प्रचण्ड, बादलविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं । प्रधानमन्त्री तथा (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । जनयुद्धको क्रममा तत्कालिन शाही नेपाली सेनाबाट विद्रोह गरी जनमुक्ति सेनामा प्रवेश गरेका मोरङका झलकुमार भगतले ओली–दाहालसहित २१ जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।
मोरङको ग्रामथान गाउँपालिका–३ स्थायी घर भएका भगतले २०६२ साल साउन ८ गते हतियारसहित जनमुक्ति सेनामा प्रवेश गरेका थिए । शान्ति प्रक्रियासँगै भगत वाइसीएलको जिम्मा लिएर बाहिर निस्केका थिए ।
माओवादी पार्टीमा आएको विभाजनसँगै भगत विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमा आवाद्ध भएका थिए । चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले भगतलाई २०७४ मंसिर ८ गते राति आफ्नै निवासमा सुतिरहेका बेला गिरफ्तार गरेको थियो । प्रहरीले भगतलाई नेपाली सेनाको पूर्वी पृतना इटहरीको जिम्मा लगाएको थियो ।
सेनाले भगतलाई भगौडा भन्दै २०७४ पुस १७ मा सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो । हाल मकवानपुरको भीमफेदी कारागारमा रहेका भगतले आफूलाई विस्तृत शान्ति समझौता, तत्कालिन सात राजनीतिक दल र विद्रोही माओवादीबीच भएको सहमति लगायतको भावनाविपरीत फैसला सुनाइएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।
रिटमा प्रधानमन्त्री ओलीसहित शान्ति सम्झौताका हस्ताक्षरकर्ता तत्कालीन नेकपा माओवादी र हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित २१ जनालाई विपक्षी बनाइएको छ ।
भगतको पक्षमा वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी, शम्भु थापा, हरि फुयाँल, रमणकुमार श्रेष्ठ, गोविन्द बन्दी, बालकृष्ण न्यौपाने, उपेन्द्रकेसरी न्यौपाने, तुलसी भट्ट, शेरबहादुर केसी, रामप्रसाद श्रेष्ठ र एकराज भण्डारीले बहस गर्ने बताइएको छ ।
तत्कालिन नेकपा (माओवादी)का अध्यक्ष तथा जनमुक्ति सेनाका सर्वोच्च कमाण्डर प्रचण्डको अाह्वानमा भगतले शाही सेनाबाट अत्याधुनिक हतियारसहित विद्रोह गरी जनमुक्ति सेनामा भर्ती भएका थिए । त्यति बेला माओवादीले भगतको भव्य सम्मान र स्वागत गरेको थियो ।
https://www.youtube.com/watch?v=PB7Ofbetxkw