Logo

सुनको लिङ्ग


– भूपाल राई

उहिले उहिले
लिङ्ग थियो मासुको

अर्थात मासु बाहेक
थिएन मासुको युगमा
लिङ्गको छुट्टै महाख्यान
थिएन त्यसको अतिरिक्त क्रीयाकलाप
न थियो प्रदुषण कुनै चल्ती धातुको
मासुकै पुर्खा
मासुकै वंशजवृक्ष
धर्म , कानुन
सब थोक थियो मासुको

मासुकै समानान्तर
लिङ्ग त फगत एक सेवा प्रदायक
जसको अनन्य हाजिरिमा
स्वतन्त्र थियो मासुको सत्ता
लिङ्ग
बिलकुल अधिनमा थियो मासुको

बिस्तारै
लिङ्ग बन्यो ढुङ्गाको

ढुङ्गा भए पछि
लिङ्ग
अचानक परिणत भयो
लिङ्गभन्दा बढी औजारमा
जसले परिक्षण गर्यो
मासुमाथि आफ्नो पहिलो पराक्रम
बिस्तारै ठडिदै गयो
मासुको मैनमाथी ढुङ्गाको वर्चस्व
ठडिदै गयो
उत्पादनको नया शक्ति सिद्दान्त

जहाँ थियो मासुको आराध्य गुफा
ठीक त्यहिँ छाडेर मासुलाई
अर्जाप्दै लिङ्गको लिङ्गिय चेतना
बिस्तारै बाहिर निस्कियो लिङ्ग
र संसारलाई दुई फ्याक चिरेर
बनायो लिङ्गको छुट्टै संसार

पछि
लिङ्ग बन्यो फलामको

एक्कासी प्रकट भयो
मासुको दुनियामा फलामको भगवान
टेकेर फलामकै गजुरले
मासुको मन्दिरमाथि
घोषणा गर्यो
भगवानले आफ्नो विशेषाधिकार

फलामकै दर्शनशास्त्र
फलामकै आख्यान
र , फलामकै उन्नत अर्थ-राजनीतिभित्र
कैद गरेर मासुलाई
सुरु गर्यो लिङ्गले
आफ्नो वीर्यको निजिकरण

अहिले
लिङ्ग छ सुनको

अर्थात सुनको भए पछि
बद्लिएको छ
एकाएक लिङ्गको अतिरिक्त लीला
बद्लिएको छ मासु
बहुराष्ट्रीय बजारको नाफामुलक बस्तुमा
जहाँ प्रशोधन गरिन्छ ठूलो पैमानामा
मासुको कच्चा पदार्थ
र , उत्पादन गरिन्छ एक से एक रङ्गिन पुतलिहरु

सुन र मासुबीचको
यो विनिमय बजारमा
सुनकै कलमद्वारा लेखिएको छ
मासुको बजारशास्त्र
जसले थामिरहेछ लिङ्गको पुँजिवाद

ओ ! मासुको ऐतिहासिक सत्ता
तिमि यतिखेर लिङ्गको स्वर्णयुगमा छौ
तर मासुबाट सुरु भएको यो धातु-यात्रा
जो यतिखेर सुनमा परिणत भएको छ
सर्बथा मासुकै बिरुध्दमा छ
त्यसैले , रोक धातुको लिङ्गलाई
रोक धातु हुनबाट लिङ्गलाई ।।

‘नयाँ पत्रीका’ दैनिकमा प्रकाशित कविता साभार  ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्