Logo

विप्लव-वैद्यसँग एकता गरेर सशस्त्र विद्रोह गर्ने-गोपाल किराती


पुनर्गठित नेकपा (माओवादी केन्द्र)का संयोजक गोपाल किराँतीले क्रान्तिकारी विचार बोकेका पार्टीहरूसँग सहकार्य गरी सशस्त्र विद्रोह गर्ने चेतावनी दिएका छन्। बिहीबार दमकमा पत्रकार सम्मेलन गरी किराँतीले माक्र्सवाद, लेनिनवाद र माओवाद सिद्धान्त आत्मसात गरिरहेका क्रान्तिकारी पार्टीहरूबीच चाँडै एकता हुने र सशस्त्र विद्रोह थाल्ने चेतावनी दिएका हुन्।

पत्रकार सम्मेलनमा किराँतीले आगामी फागुन १ गते आठौं राष्ट्रिय महाधिवेशन गर्ने बताए। किराँतीले आठौं महाधिवेशनलगत्तै माक्र्सवाद, लेनिनवाद र माओवादको सिद्धान्त मान्ने पार्टीहरूबीच एकता प्रक्रिया अघि बढ्ने र त्यसले सशस्त्र विद्रोह सुरू गर्ने दाबी गरे।

किराँतीले तत्कालीन नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा केही नेताहरू एमालेसँग ‘आत्मसमर्पण’ गरी विलय पथमा अघि बढेका कारण क्रान्तिकारी माओवादी शक्तिहरूबीच एकता गर्नुपर्ने आवश्यकता रहेको बताए।

उनले विद्रोहका लागि ढिलो–चाँडो क्रान्तिकारी माओवादीहरूले सशस्त्र संघर्ष गर्नुपर्ने अवस्था निम्तिएको पनि दाबी गरे। उनले भने, ‘महाधिवेशनलगत्तै विप्लव नेतृत्वको नेकपासँग र त्यसपछि वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसँग एकता हुन्छ। उहाँहरूले माओवादको सिद्धान्त
त्यागिनसकेको कारण एकता पूरा तयारी गरेर सशस्त्र विद्रोह हुनेछ।’ त्यो ‘विद्रोह’मा माओवादी पार्टीले विगतमा सर्वहारा वर्गका मुक्तिका खातिर उठाएका मुद्दाहरूलाई केन्द्रिकृत गरेर अघि बढ्ने किराँतीको भनाइ छ ।

पत्रकार सम्मेलनमा किराँतीले नेकपा (माओवादी केन्द्र)को १ नम्बर प्रदेशस्तरीय संघीय परिषद बैठक तथा प्रशिक्षण कार्यक्रम हालै सम्पन्न भएको पनि बताए। सो कार्यक्रमको प्रथम सत्रमा प्रशिक्षण, नीति एवम् कार्यक्रम सम्बन्धि छलफल भएको र दोस्रो सत्रले पार्टीको प्रदेश कमिटी गठन गरेको किराँतीले बताए।

कमिटीको अध्यक्षमा विमल निरौला, उपाध्यक्षमा गंगाराम गोमदेन र सचिवमा बद्री पासवानलाई निर्वाचित गरेको र प्रदेश कमिटी १५१ सदस्यीय रहेको उनले बताए। पार्टीको राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै प्रदेश नम्बर १ मा पुस २५ देखि माघ २५ गते एक महिनासम्म जनसहयोग अभियान सञ्चालन गर्ने निर्णय पनि भएको उनले बताए। सो अभियान अन्तर्गत प्रदेश नम्बर १ का करिब ३ लाख जनताबीच पुग्ने र पार्टी सुदृढीकरण तथा वैचारिकरण गर्न ‘संशोधनवादी रुझानविरुद्ध वैचारिक संघर्ष गर्ने’ पनि निर्णय भएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ।

तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण घोषणालगत्तै माओवादीका नेता किराँतीले असहमति राख्दै नयाँ पाटी गठन गरेको घोषणा गरेका थिए। पुष्पकमल दाहालनिकट मानिने किराँती पार्टीको वैचारिक आन्दोलनमा विगतदेखि नेतृत्वसँग असहमति र फरक विचार राख्दै आएका थिए।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्