सुरु भयो ‘रारा पदमार्ग सफाई अभियान’, मन्त्री बुढाले गरे उद्घाटन
सुर्खेत । पर्यटकीय गन्तव्य रारा तालका सरसफाई अभियान सुरु भएको छ । आर्ट समिट ट्राभल एण्ड टुर्स प्रा.लि. र होटल हिलसाइडले संयुक्त रुपमा सुरु गरिएको ‘रारा पदमार्ग सरसफाई अभियान’ को क्रममा रारा तालाको पदमार्गको साथै वरिपरीको फोहोरको सफाई गर्न अभियान गरिएको हो । रारा ताल फोहोर नहोस् भने तीनसय मिटरको दुरीमा ठाउँठाउँमा डस्टबीन राखिएका छन् ।
अभियानको उद्घाटन कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्दसिंह बुढाले कर्णालीको बिकासका लागि पर्यटन प्रमुख स्रोत रहेको बताए । रारा ताल कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य भएको बताउँदै यो क्षेत्रलाई पूर्णरुपमा सरसफाई गर्नु आवश्यक भएको बताए । मन्त्री बुढाले प्रदेश सरकाले सुरु गरेको ‘रारा पर्यटन वर्ष २०७५’ सुरु भएयता आन्तरिक र बाह्य गरी पचास हजार पर्यटकहरु रारा पुगेको जानकारी समेत दिए । उनले पर्यटन ब्यबसायलाई थप ब्यबस्थित बनाउन प्रदेश सरकारले बजेट बिनियोजन गरी कार्यान्वयन सुरु गर्न लागेको बताए ।
अभियान उद्घाटन कार्यक्रमा बोल्दै आयोजक तथा सरसफाई अभियान्ता सोमबहादुर तामाङले रारामा फोहोर भए सुन्दरतामा कमी हुनुको साथै पर्यटकको आकर्षण घट्ने भएकोले आफूहरुले अभियान सुरु गरेको बताए । त्यस्तै अर्का अभियान्ता धर्मराज शाहीले सरसफाईलाई अभियानकै रुपमा लैजाने बताए । उनले कालिकोटमा सुरु गरिने जानकारी समेत दिए ।
विगतदेखि सस्तो तथा शुलभ खर्चमा विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण गराउँदै अाएको अार्ट समिटले काठमाडौंदेखि रारा तथा पुनः राराबाट काठमाडौंसम्मको जम्मा १६ हजार ५ सय रुपैयाँमा ७ दिने भ्रमण गराउने भएको छ ।