Logo

पश्चिम सेती: “शून्यबाट प्राविधिक अध्ययन”


महत्त्वपूर्ण मानिएको ‘पश्चिम सेती’ जलविद्युत आयोजनालाई कस्तो ढाँचामा निर्माण गर्न सकिन्छ भन्नेबारे शून्यस्तरबाट प्रविधिक अध्ययन गर्न लागिएको सरकारी अधिकारीहरूले बताएका छन्।

करिब दुई दशकअघि नै अष्ट्रेलियाको एउटा कम्पनीले उक्त आयोजनाको त्यस्तो अध्ययन गरिसकेको थियो भने केही वर्षअघि चिनियाँ कम्पनी थ्री गोर्जेजले पनि प्राविधिक अध्ययन गरेको थियो।

तर, थ्री गोर्जेजले उक्त आयोजना ‘वित्तिय रूपमा उपयुक्त नभएको’ भन्दै सर्तहरू तेर्स्याएपछि सरकारले आयोजना निर्माण सम्भाव्यताको सुरुको चरणबाटै अध्ययन गर्ने बताइएको छ।

विज्ञहरू भने एकपटक प्राविधिक अध्ययन भइसकेको आयोजनामा उस्तै खाले अध्ययनको आवश्यकता नपर्ने बताउँछन्।

गृहकार्य

सात सय ५० मेगावाट क्षमताको उक्त जलविद्युत आयोजना कस्तो ‘निर्माण प्रणाली’मा बनाउन सकिन्छ भन्ने निर्क्यौल गर्न प्राविधिक अध्ययन आवश्यक परेको अधिकारीहरूले बताए।

उनीहरूका अनुसार त्यस्तो अध्ययन एक-दुई महिनाभित्रै सक्ने गृहकार्य भइरहेको छ।

गत महिना आयोजनाबारे थप अध्ययन गर्न भन्दै सरकारले उर्जा र अर्थमन्त्री एवं लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत रहेको एउटा अध्ययन समिति बनाएको थियो।

उक्त समितिले प्राविधिक कार्यदल गठन गरी शून्यबाट अध्ययन गराउने तय गरिसकेको समितिका एकजना सदस्य एवं लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए।

परिवर्तन

“आयोजना कसरी अघि बढाउँदा ठीक हुन्छ भनेर हामीले ताजा रूपमा हेर्न खोजेका छौँ,” उनले भने, “अध्ययनपछि जलासययुक्तको ठाउँमा सानो जलासययुक्त पनि हुनसक्छ, अरू नै पनि हुनसक्छ भनेर सबै कुरालाई खुला रूपमा राखेका छौँ।”

उनका अनुसार त्यस्तो अध्ययनपछि आयोजनाको क्षमतामा परिवर्तन समेत गर्न सकिनेछ।

तर लगानी बोर्ड, उर्जा र अर्थ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण एवं उर्जा आयोगका प्राविधिक रहेको उक्त कार्यदलले नै त्यसबारे निर्क्यौल गर्ने उनको भनाइ छ।

विज्ञहरू भने दोहोर्‍याएर उक्त आयोजनाको प्राविधिक अध्ययन गराउनु आवश्यक नरहेको बताउँछन्।

समस्या

एकजना पूर्व उर्जा सचिव शीतलबाबु रेग्मीले भने, “योजना राम्रो नबनेकाले फेरि अध्ययन गर्नुपर्छ भन्ने जस्तो देखियो। तर फेरि अध्ययन गर्नु भनेको निर्माण पछि धकेल्नु नै हो।”

उनले सरकारले बनाउने टोलीमा योजना कार्यान्वयन गर्न सकिने खालको प्राविधिक विश्लेषण गर्न सक्ने जनशक्ति नभएको दाबी समेत गरे।

पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण गर्ने भनिएको लामो समय बितिसक्दा पनि खासै काम हुन सकिरहेको छैन।

निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनीले भने पछिल्लोपटक जग्गा अधिग्रहण र आयोजना क्षेत्रका नागरिकहरूको पुनर्स्थापना नेपालले नै गरिदिनुपर्ने सर्तअघि सारेको बताइएको छ।

लगानी

प्राविधिक अध्ययनपछि उसले राखेका सर्त कसरी हल गर्ने भन्ने टुङ्गो लाग्ने अधिकारीहरू बताउँछन्।

करिब २ खर्ब रुपैयाँ लाग्ने उक्त आयोजना निर्माणका लागि चिनियाँ निर्माण कम्पनी थ्री गोर्जेजले ७५ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणले २५ प्रतिशत लगानी गर्ने सम्झौता भएको थियो।

तर, विभिन्न स्वार्थ समूहको उद्देश्य पूरा गर्नका निम्ति कहिले यो त कहिले त्यो खाले निर्णयहरू गरिँदा पश्चिम सेतीजस्ता ठूला आयोजनाहरूको निर्माण पछि धकेलिने गरेको कतिपयको तर्क हुने गरेको छ।(बिबिसिबाट)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्