चलचित्र कलाकार संघका अध्यक्ष बोगटीको मृत्यु
काठमाडौँ । चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको मृत्यु भएको छ । उनको विजुलीको पोलले च्यापिएर मृत्यु भएको हो । पोलले बोगटीको टाउको र पेटमा चोट लागेको थियो ।
काठमाडौँस्थित टिकाथली आफ्नै घर नजिकै रुख काट्दै गर्दा विजुलीको पोल ढलेर बोगटीलाई लागेको थियो । ५८ वर्षीय बोगटी रुख काटेको हेर्न गएका थिए ।
बोगटी गाडी रोकेर रुख काटेको हेर्न बाहिर निस्किएका थिए । विपरित दिशातर्फ रुख ढल्दा छेउमै रहेको ट्रान्समिटर सहितको विजुलीको पोलमा रुख ढल्यो । रुखलाई धान्न नसकेर पोल र ट्रान्समिटरले ढलेको थियो ।
गम्भीर घाइते भएका बोगटीलाई उपचारको लागि बीएन्डबी ल्याइएको थियो । तर, बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ ।
चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेका अनुसार बोगटीको पाटन अस्पतालमा पोष्टमार्टम गरिएको छ । लामो समयदेखि चलचित्रमा सक्रिय बोगटीको मृत्युले चलचित्र क्षेत्रमा क्षति पुगेको छ ।