निर्मला हत्याकाण्डका : अधिकृतसहित दुई प्रहरी निलम्बित
काठमाडौँ । निर्मला पन्तको हत्याको अनुसन्धानमा लापरवाही गरेको भन्दै अनुसन्धान अधिकृतसहित दुई जना प्रहरी निलम्बनमा परेका छन् । अनुसन्धानमा संलग्न प्रहरीको भूमिका छानविन गर्न प्रहरी प्रधान कार्यालयबाट गठित छानविन समितिको सिफारिसमा उनीहरुलाई निलम्बन गरिएको हो ।
सोमबार प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले विज्ञप्ति जारी गरेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायव निरीक्षक हर सिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई निलम्बलन गरेको जनाएका छन् । धामी निर्मला हत्याको घटनास्थल अनुसन्धान अधिकृत समेत हुन् ।
प्रवक्ता थापाका अनुसार उनीहरुलाई प्रहरी नियमावली २०७१ को नियम ११५ को उपनियम ६ (क) र (ग) अनुसार कारवाही गरिएको हो ।
साउन १० गते भएको उक्त घटनाका दोषी अहिलेसम्म पत्ता लाग्न सकेका छैनन् । घटनालाई गुपचुप पार्न खोजेको भन्दै सडक अान्दोलन भएपछि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्वय जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको थियो ।
गृहमन्त्री रामबहादुर थापा र प्रहरी प्रमुख सर्बेन्द्र खनालको राजिनामा माग गर्दै सडकमा नारा लागिरहेको बेला दुई प्रहरी निलम्बनमा परेका छन् । यो विज्ञप्तिले गृहमन्त्री थापा र प्रहरी प्रमुख खनाल कडा बनेको शंकेत गरेको बताइएको छ ।
यस्तो छ प्रहरी प्रवक्ताले निकालेको विज्ञप्ति