नेपालमा पनि कराेडकाे सवालजवाफ !
काठमाडौं/ भारतमा लाेकप्रिय रहेकाे सवालजवाफ कार्यक्रम ‘काैन बनेगा कराेडपति’ नेपालमा भित्रिएकाे छ । एपी वान टिभी च्यानलले यसलार्इ ‘काे बन्छ कराेडपति’ नामले निर्माण गर्ने भएकाे छ । भारतमा अमिताभ बच्चनले सञ्चालन गर्ने याे कार्यक्रमलार्इ नेपालमा भने राजेश हमालले चलाउने भएका छन् ।
अन्तर्राष्ट्रिय रूपमा ‘हु वान्ट्स टु बी ए मिलिनेयर’ र भारतमा ‘कौन बनेगा करोडपति’का नामले लाेकप्रिय कार्यक्रमलार्इ नेपालीबीच प्रस्तुत गर्न पाउनु अाफ्नाे अहाेभाग्य रहेकाे अभिनेता हमालले बताए । कार्यक्रममार्फत् दर्शक तथा सहभागीले बाैद्धिक तथा अार्थिक दुवै रूपमा लाभ लिनसक्ने विश्वास पनि हमालले प्रकट गरे । नेपाली कार्यक्रमकाे पहिलाे शृंखला अागामी मंसिर पहिलाे साता एपी वान च्यानलबाट प्रसारण हुनेछ ।
बिहीबार काठमाडाैंमा अायाेजित पत्रकार सम्मेलनमा ‘को बन्छ करोडपति’को प्रोमो रिलिज गरियाे । प्रोमाेमा ‘नमस्कार नेपाल, तपाईहरु सन्चै हुनुहुन्छ’ भन्ने नेपाली संवादसहित बलिउड अभिनेता अमिताभ बच्चनले कार्यक्रमलार्इ शुभकामना दिएका छन् । नेपालमा पनि ‘काैन बनेगा कराेडपति’ सञ्चालन हुन लागेकोमा आफूलाई खुसी लागेको अमिताभले प्रोमोमार्फत् बताएका छन् ।
कार्यक्रममा सहभागी हुनका लागि दर्ता प्रक्रिया सुरु गरिएको आयोजकले जनाएका छन् । केबिसी नेपाल मोबाइल एप्सबाट घरमै बसेर पनि खेलमा सहभागी हुन सकिने व्यवस्था गरिएकाे छ । आयोजक विपिनकुमार आचार्यले नेपालीहरुलाई गेम खेलाउँदै आर्थिक रुपमा समृद्ध र अझ बौद्धिक बनाउन आफूहरुले कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।
सिभिल बैंकका सिईओ गोविन्द गुरुङले अन्तराष्ट्रिय रुपमा लोकप्रियता कमाएको कार्यक्रमलाई फ्रेन्चाइजका रुपमा नेपालमा पनि ल्याइएकोमा खुसी लागेको बताए । यसले आफूहरूको व्यवसायमा पनि प्रवर्द्धन हुने भएकाले ‘को बन्छ करोडपति’सँग आफूहरु जोडिएको बताए । कार्यक्रमका विजेतालार्इ एक कराेड रूपैयाँ पुरस्कार दिइनेछ ।
एपी वानले यसअघि अन्तर्राष्ट्रिय फ्रेन्चाइजका रूपमा ‘नेपाल अाइडल’ र ‘बुगी वुगी’ कार्यक्रम अायाेजना गरिसकेकाे छ ।