जेलले हामीलाई झन् शक्तिशाली बनाएको छ-राई र पुन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य पदम राई र ओमप्रकाश पुन रिहा भएका छन् । पुनकी श्रीमती गौरा धामीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै सर्वोच्चको आदेशमा उनीहरु शुक्रबार रिहा भएका हुन् ।
राई र पुनलाई गैर कानुनी रुपमा बन्दी बनाइएको भन्दै परेको रिटमाथि न्यायाधीश मिरा खड्का, अनिलकुमार सिन्हाको संयुक्त इजलासले रिह ागर्न आदेश दिएको हो ।
बन्दीको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु कपिलचन्द्र पोखरेल, खिमानन्द अधिकारीलगायतले बहस गरेका थिए ।
रिहा भएलगत्तै सम्मान कार्यक्रममा बोल्दै पुनले आफूहरुलाई जेल–हिरासतले झन् शक्तिशाली बनाएको बताए । उनले आफूहरु रिहाईको लागि सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए ।
त्यसैगरी अर्का पोलिट्ब्यूरो सदस्य राईले अाफूहरु राष्ट्रियता र स्वाधिनताको लागि लडेको बताए । सरकारले वार्ता चाहेको भए अाधिकारिक रुपमा पत्र पठाउन सक्नु पर्ने बताउँदै बाहिर गरिने वार्ताको हल्लाको कुनै अर्थ नभएको बताए ।
राईलाई संखुवासभा र पुनलाई बाँकेबाट रिहा भएपछि पुनः गिरफ्तार गरेर दाङ र्पयाइएको थियो । असार १६ गते पार्टीको सार्वजनिक कार्यक्रमबाट राईलाई र पुनलाई असार १९ गते लाजिम्पाट प्रहरीले गिरफ्तार गरेको थियो ।