प्रदेश न १ किन प्रदेश किन चाहाना ?
शम्भु निरौला
नामकरणको प्रसववेदना
“किरात प्रदेश” आजको चाहना !
मेरो एउटा साथीको छोरो जन्मियो । स्टाफै थियो ऊ पनि । हामी अती मिल्थ्यौँ। ताक परे एउटै थालमा खान पनि पछि नपर्ने। सयकडा नब्बे उसका र मेरा बानीव्यहोरा मिल्थे। हामीमा तँतँ र मम चल्थ्यो। महाकुलुङको एउटा विद्यालयमा पढाउँथ्यौँ। जातीयरुपमा ऊ किराती, म बाहुन। मलाई पनि किरातीहरूले मन पराउँथे, उसलाई पनि बाहुनहरूले उधुम रुचाउँथे। हामी सहिष्णुतावादी थियौँ(अद्यापि छौँ)। त्यै भएर होला हाम्रो मित्रतामा कहिल्यै घुनपुत्ली लागेन। उसले अन्तरजातीय विवाह गरेछ। अर्थात् क्षेत्री कन्या रहिछिन्। उनीहरूको जस्तो सुखद दाम्पत्त्य जीवन सबैको कहाँ हुन्थ्यो र !
हो,त्यही साथीको छोरोजन्मियो । “ए शम्मे! सुन् त ! ”उसले केही सुनाउँने सुर कस्यो । “भन्,के भन्न आँटिस्?” मैले अनुमति दिएँ। “मेरा छोराको न्वारन गर्दे बाहुन विधिबाट” मलाई अरायो। “हन कुरिलो पटट पारेर न्वारन सक् न” मैले सुझाएँ। “बुढी मान्दिन”उसले आफ्नो विवशता जनायो। “हुन्छ नि जानेको गरौँला” मैले सहमति जनाएँ र आवश्यक वस्तुको जोहो गर्न पनि भनेँ। उसकी जाहान क्षेत्रीकन्या भएकाले वैदिक प्रक्रियाबाट नामकरण गर्न चाहेकी रहिछिन् । त्यो कुरालाई उसले सहर्ष स्वीकार गर्यो। एघार दिन पुग्दा म उसका डेरामा पुगेँ। पँहेला डोरा बाटिए। पहेलै पुवा खुँडिए। सल्लाका समिधा चिरिए। पिठाको धर्का(रेखी)कोरिए। दियो,कलश,गणेश ईत्यादि थापिए। साइँली औँलामा “कुशेऔँठी” बाध्न लगाइयो। दीप प्रज्ज्वलित भए। अग्निस्थापनाको पुस्तक(book)फुकाइयो। पढ्न थालियो। नाम राख्ने बेला भयो। “थ”अक्षरबाट राख्नुपर्ने थियो। सोचेँ। भेट्तिन। के राखौँराखौँ भएँ। निक्कैबेर घोरिएपछि नाम जुराएँ -थलेश्वर राई। ठूलो स्वरले नाम सुनाएँ-तिमी बालकको शुभनाम श्री थलेश्वर राई। दीर्घजीवी भव:बालकलाई सूर्यदर्शन गराइयो। बाउआमालाई डोरा बाँधियो। साथीले दिएको दक्षिणा “पर्स इन्ट्री” भयो। पँहेला पुवा तोडियो। न्वारन सकियो। वैदिक संस्कार बमोजिम नामकरण सम्पन्न भयो। यो मैले मेरो संस्मरण सुनाएँ।
‘किरात र किराती’ यी दुइटा शब्दका बिचको अर्थमा के फरक छ? मलाई लाग्छ -किराती जाति हो भने किरात सभ्यता। सभ्यता यसको उसको भन्ने हुँदैन। साझा हुन्छ। त्यसकारण यो प्रदेशको नाम “किरात प्रदेश” राखिनुपर्छ।
अहिले प्रदेश नं १ को न्वारन गर्ने चटारो छ। जताततै बहस चुलिएको छ। बहस, छलफल तथा तर्कवितर्कद्वारा निष्कर्ष निस्किन्छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले आआफ्ना निजी अभिमत राख्ने क्रम बढ्दो छ। पङ्क्तिमा उभिएर म मेरा विचार प्रवाह गर्दै छु। सर्वप्रथम कसैलाई पनि झुक्याउनु हुँदैन। हिजो “यो भूगोलको नाम किरात प्रदेश राखिने छ” भनेर भनिएकै हो।अहिले अर्को नाम जुराउदा एउटा भावनामा चोट पुग्न सक्छ। तिक्तता आउँन सक्छ। त्यसो हुन नदिन “किराँत प्रदेश” नाम राखिनुपर्छ।
नेपालको प्राचीन इतिहासको अध्ययन गर्दा नेपालको पूर्वीय भुभागबाट किरातहरूको सभ्यता, संस्कार, संस्कृति र भाषा मौलाएको पाइन्छ। त्यसैले एउटा विशिष्ट ऐतिहासिकतालाई जोगाउन “किरात प्रदेश” नाम राखिनुपर्छ। ‘किरात र किराती’ यी दुइटा शब्दका बिचको अर्थमा के फरक छ? मलाई लाग्छ -किराती जाति हो भने किरात सभ्यता। सभ्यता यसको उसको भन्ने हुँदैन। साझा हुन्छ। त्यसकारण यो प्रदेशको नाम “किरात प्रदेश” राखिनुपर्छ। कसैको अभिमत छ- सगरमाथा राखौँ, कसैको कोसी राखौँ, कसैको लिम्बुवान। सगरमाथा विश्वले चिनेकै छ। कोसी जलसम्पदा हुँदै हो। मूलत:यी निर्जीवन निधि हुन्। आफैँमा परिचित छन्। किन चिनाइरहने? । लिम्बुवान किरात सभ्यताभित्रको अर्को सभ्यता हुँदै हो। अत:यो प्रदेशको नाम “किरात प्रदेश” राखिनुपर्छ।
किरातीहरू जल, जमिन, जङ्गललाई औधी माया गर्छन्। प्राकृतिक वस्तुको संरक्षणलाई धर्मसँग जोड्छन्। यसको ज्वलन्त उदाहरण हो “भूमेपूजा”। मैले बुझेसम्मन यस्ता धेरै अनुष्ठान छन्, जहाँ प्रकृतिको, मानवताको र सहिष्णुताको भावना छताछुल्ल हुन्छ। त्यसैले यो प्रदेशको नाउँ “किरात प्रदेश” राखिनुपर्छ। प्राचीन ग्रन्थहरूमा किरात सभ्यताको कुरा छ।भारविले “किरातार्जुनियम्” महाकाव्य नै लेखे। संस्कृत साहित्यमा यसको उपल्लो स्थान छ। भगवान शम्भु किराँती रुप धारण गरी अर्जुनसँग गरेको संवाद बहुत रोचक छ। पुराणहरूमा, महाभारतमा यस्ता प्रसङ्गहरू भेटिन्छन्। हजारौँ वर्ष पहिले लेखिएको “अमरकोश”(Sanskrit Dictionary)मा किराती शब्दको अर्थ दिइएको छ। अत:यस्तो ऐतिहासिकतालाई सम्मान गर्न यो प्रदेशको नाम “किरात प्रदेश” राख्नुपर्छ।
वर्तमान अवस्थाको सामाजिक अध्ययन गर्यौँ भने आफ्नो थातथलो छोडेर “सहरमोह” ले बसाइँ सरिहाल्ने दर किरातीहरूमा कम छ। छँदै छैन म भन्दिनँ, जति छ- एकदम न्यून। यसबाट के बुझिन्छ भने पुर्खाको थातथलोप्रति उनीहरूको अगाध माया छ, विश्वास छ र समर्पणभाव लुकेको छ। स्थानीय परिवेशकै उन्नति चाहन्छन् भन्ने प्रतीत हुन्छ-सूक्ष्मरुपमा। त्यसैले, म आग्रह गर्छु ! प्रदेश सभालाई-यो प्रदेशको नाम “किरात प्रदेश” राखियोस्।
नेपालमा जात, भाषा, धर्म संस्कृतिमा विविधता छ,अनि पो सुन्दर छ। यो भूमि एउटा जातको मात्र हो र ? भन्नेहरू पनि छन्। पक्कै हो। यो साझा हो। कसैको पेवा होइन। किरात प्रदेश हुँदैमा किरातीहरूको एकलौटी हुने होइन। उनीहरूले त्यो चाहेकै छैनन्। सबैले रमाउने, खेल्ने कुरामा कसैको अनुमति लिनुपर्दैन। सबै संविधान र कानुनबमोजिम हुन्छ। अझ जातीय सुसम्बन्धको गाँठो कसैले फुकाउनै नसक्ने गरी कसिन्छ। अत:यो प्रदेशको नाम ”किरात प्रदेश” हुनुपर्छ। यो मेरो निजी विचार हो। स्वस्थरुपमा आफ्नो विचार प्रवाह गर्ने संवैधानिक अधिकारको प्रयोग गरेँ। अङ्कमा यससम्बन्धी अरु प्रमाण पेस गर्नेछु।