Logo

‘मापसे’ सेवन गरे प्रहरीले परीक्षा लिने र परिक्षामा पास नहुन्जेलसम्म लाइसेन्स नपाइने


विराटनगर । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउदै हुनुहुन्छ ? होसियार रहनुहोला ! अब मोरङमा मापसे सेवन गरेर सवारी चलाएको ट्राफिक प्रहरीले भेटिए सचेतना परीक्षा दिनुपर्ने नयाँ नियम ल्याएको छ । यही असोज २३ गतेदेखि मापसे सेवन गर्ने चालकले जिल्ला प्रहरी कार्यालय मार्फत सचेतना परीक्षा दिनु पर्ने नयाँ नियम ल्याएको हो ।

ट्राफिक चेकजाँचका क्रममा मापसे गरेर सवारी साधन चलाएको पाइएमा चालकले परीक्षा दिनु पर्ने नियम मोरङमा लागू गर्न अन्तिम तयारीमा रहेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए । यो नियम चाँडै लागू हुनेछ । दशैं तिहार तथा छठ पर्वमा लागू गरिएको नियमलाई निरन्तर अघि बढाउने केसीले जानकारी दिए । मापसे गर्ने चालकसंग परीक्षा लिन त्यही हिसावको प्रविधिको पनि विकास गरिएको बताइएको छ । प्रहरीले लिने परीक्षा उत्तीर्ण गरेपछि मात्रै चालकले प्रहरीको नियन्त्रणमा रहेका सवारी चालक अनुमति पत्र (लाइसेन्स), ब्लु बुक समेतका कागजपत्र र सवारी साधन फिर्ता पाउने छन् ।

एसपी केसीका अनुसार परीक्षाका लागि चारवटा छुट्टा छुट्टै खण्ड भएको परीक्षा प्रणालीको विकास गरिएको छ । प्रत्येक खण्डमा ट्राफिक नियम उल्लंघन, ट्राफिक नियमको पालना र कानुनसंग सम्बन्धीत विषय समेटिएका १५ देखि २० वटा प्रश्न सोधिने र उत्तीर्ण हुनका लागि प्रत्येक खण्डमा ८० प्रतिशत अंक ल्याउनै पर्ने नियम बनाइएको उनको भनाइ छ ।

परीक्षा उत्तीर्ण नभए सम्म कागजपत्र र सवारी साधन प्रहरीकै नियन्त्रणमा हुने र चालकले फिर्ता लैजान नपाउने केसीको भनाइ छ । प्रहरी कार्यालयमा पुग्न नभ्याउने चालकलाई अनलाइनबाट पनि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । ट्राफिक प्रहरीले दिएको पुर्जीको नम्बर ‘मोरङ पुलिस डट कम’ मार्फत हालिसकेपछि मात्रै मापसे गर्ने चालकले अनलाइनमार्फत परीक्षा दिन सक्ने प्रविधिको विकास गरिएको एसपी केसीको भनाइ छ । अनलाइनबाट लिइने परीक्षाको अनुगमन समेत प्रविधिबाटै हुने भएका कारण एउटाको परीक्षा अर्कोले दिने सम्भावना पनि नहुने उनको भनाइ छ ।

ट्राफिक चेकजाँचै क्रममा जिल्ला प्रहरी कार्यालयमा रहेको एप्सले चालकको फोटो र भिडियो खिच्ने भएका कारण एउटाले अर्कोको परीक्षा दिने सम्भावना नरहने केसीले बताए । अर्को व्यक्तिले परीक्षा दिन खोजेमा प्रविधिले त्यसलाई अस्वीकार गरिदिने छ । चालकले मादक पदार्थ सेवन गरेका कारण अत्यधिक दुर्घटना हुन थालेपछि त्यसलाई नियन्त्रण गर्न तथा सवारी साधन चलाएका बेला चालकलाई मापसे गर्न निरुत्साहित गर्न नयाँ कार्यक्रमको सुरुवात गरिएको उनको भनाइ छ । मापसे चालकलाई लिइने परीक्षा दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी हुने बताइएको छ ।

यस अघि मापसे गरेर सवारी साधन चलाउने चालकलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँ सम्म जरिवाना र सवारी चालक अनुमति पत्र (लाइसेन्स) मा प्वाल पार्ने कारवाही गर्दै आएको थियो । चालकलाई राखेर सचेतना कक्षा पनि संचालन गरिंदै आएको थियो ।

परीक्षा उत्तीर्ण नगर्ने चालकले प्रहरी नियन्त्रणमा रहेका कागजपत्र र सवारी साधन फिर्ता लिन पुःन अर्को पटक परीक्षा दिनु पर्ने छ । परीक्षा उत्तीर्ण नगर्नेले फिर्ता पाउने छैनन् ।

साउन यता मात्रै मोरङमा एक सय ७१ वटा सवारी दुर्घटना भएका छन् । ८० प्रतिशत दुर्घटना चालकले मापसे गरेका कारण भएको पाइएको छ । दुर्घटनामा परेर साउन यता मात्रै मोरङमा १७ जनाको मृत्यु भएको छ । (ब्लाट खबर बाट)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्