प्रविधि नहुँदा हातैले छामेर पासपोर्ट जाँच
पासपोर्ट जाँच गर्ने आवश्यकीय प्रविधि नहुँदा अवैध प्रकृयाबाट नेपाल भित्रिनेका लागि अन्तराष्ट्रिय विमानस्थल सजिलो मार्ग बनेको छ । जुनै देशमा प्रवेश गर्दा राहदानीमा सामान्य व्यक्तिगत विवरणबाहेकका सूचना पढ्ने प्रविधिले जाँच गरिन्छ । साथै रेटिना, डिजिटल औठाछाँप अध्ययन र फोटो खिच्ने प्रविधि छैन ।
भदौ ५ मा नक्कली इजरायली राहदानी लिएर आएका इमेई होसिन लास्कारी र नायदे याराम्दीले सजिलै पर्यटक भिसामा प्रवेश अनुमति पाए ।
१५ दिन काठमाडौं बसेर यो दम्पती जर्मनीका लागि उड्यो । तर, ट्रान्जिट देश टर्कीको अध्यागमनले राहदानी नक्कली रहेको भन्दै उनीहरूलाई नेपालै फिर्ता पठाइदियो ।
इजरायली राहदानी बोकेका उनीहरू इरानी नागरिक रहेको खुल्यो ।
त्रिभुवन विमानस्थलमा नक्कली राहदानीमा सक्कली भिसा लगाएर नेपाल पस्ने र केही दिनको ट्रान्जिटपछि युरोप र अमेरिका छिर्ने प्रयास बारम्बार हुँदै आइरहेको छ ।
गत असार ६ गते ५ बालबालिकासहित काठमाडौं उत्रिएका ९ विदेशी इस्ट टिमोरको राहदानी लिएर आएका थिए ।