ओली-प्रचण्डविरुद्ध नेपाल-खनाल-श्रेष्ठ एकैसाथ मैदानमा
काठमाडौं । एकता प्रक्रिया नटुंगिँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का भित्र विवाद उपत्पन्न भएको छ । त्यसमा पहिलो पहिलो र दोस्रो पुस्ताका नेताहरु मैदानमा उत्रेका छन् । उनीहरुले पार्टी नेतृत्व र सरकारको काम कारवाही प्रति असन्तुष्टि व्यक्त गरेका छन् । पहिलो अध्यक्ष केपी शर्मा ओली र दोस्रो नम्बरका अध्यक्ष पुष्पकमल दाहाल विदेश भएको बेला नेताहरुबीच घोचपेच नै चलेको छ । वरिष्ठ नेता माधव कुमार नेपालले त भेला आयोजना गरेर आफ्नो धारणा राखे । उनले सरकार र पार्टीको काम कारवाहीप्रति असन्तुष्टी व्यक्त मात्रै गरेनन् देश नै डुब्न लागेको बताए ।
नेता नेपालले पार्टी र सरकार नेतृत्वको चर्को आलोचना गरेको केही घण्टामै प्रधानमन्त्री ओलीले अमेरिकाबाटै त्यसको प्रतिवाद गरे । ओलीले नेता नेपालले साहित्य भनेको समेत बताए । उता सिंगापुरमा रहेको दाहालले नेता नेपाललाई फोन गरेका छन् । दुबै नेताहरुबीच पछिल्लो अवस्थाबारे कुराकानी भएको बताइएको छ । यसैबीच पार्टी प्रवक्ता समेत रहेका नेता नारायणकाजी श्रेष्ठले सरकार काममा भन्दा अर्मुत नारामा सिमिति भएको बताए ।
सोमबार राजधानी आयोजित कार्यक्रममा नेता श्रेष्ठले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै दुई तिहाईको सरकार भएपनि भनेजस्तो परिणाम नआएको बताए । श्रेष्ठले पार्टीभित्र भ्रष्टाचार विरोधी सांस्कृतिक रुपान्तरणको आन्दोलन अनिवार्य भइसकेको बताउँदै आफूलाई सहयोग नगर्नेलाई अरुलाई कारवाही गर्छु भनेर भ्रष्टाचारविरोधी नहुने बताए । उनले नामै नलिएर सरकारले भ्रष्टाचारीलाई बचाएको संकेत गर्दै यसरी कम्युनिस्ट आन्दोलन नचल्ने बताए ।
यसैबीच अर्का नेता झलनाथ खनालले पनि सरकार र पार्टी नेतृत्वको तीव्र आलोचना गरेका छन् । खनालले पार्टी सन्चालन पद्दति र सरकार सन्चालन विधिमा सुधार नगरे नेकपा नामको डुंगा दुर्घटनामा पर्ने चेतावनी दिएका छन् । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको कार्यशैली सन्तोषजनक नभएको भन्दै पार्टीका वरिष्ठ नेताहरु नै सार्वजनिकरुपमा आलोचना गरिरहेका छन् । तरपनि प्रधानमन्त्रीको कार्यशैली सुध्रने संकेत भने देखिएको छैन । पार्टी एकीकरण भएकै दिन तल्ला तहका सबै कार्यसमिति भंग गरिदिएकाले अलमल भइरहेको खनालले बताए । उनले पार्टी सन्चालनको शैली, सरकारको काम–कारबाहीबारे समीक्षा गरेर सुध्रने बाटो तय गर्नका लागि तत्काल स्थायी समिति बैठक राख्नुपर्ने बताए ।