Logo

तराईमा जितिया पर्व धुमधाम मनाइदै


राजविराज  विवाहित हिन्दु नारीहरुले पति तथा सन्तानको सुख, शान्ति र लामो आयुको कामना गर्दै मनाइने पवित्र जितिया पर्व सुरु भएको छ।जितिया पर्व तराईका थारु र मैथिल समुदायका विवाहिताले ‘नहा, खा’ (नुहाएर खानु) सोमबारबाट धार्मिक विधिअनुसार सुरु गरेका छन्।

अन्य पर्वमा नुहाए पछि चोखो खाने कुरा खाने चलन रहे पनि यस पर्वमा ब्रतालु महिलाले स्नान गरी माछा र कोदोको रोटी खाएर ब्रत आरम्भ गर्छन्। शाकाहरी र एकल महिलाले भने अरुवा(अरुवाइन खाने गर्छन्।
सन्तानको रक्षा र दीर्घायुको कामनासहित सोमबार पहिलो दिन ब्रतालु नदी, पोखरी वा इनार किनारमा नुहाएर चोखिएका छन्। कतिपय महिलाले रातो माटो तोरी र पिनाले कपाल समेत पखालेका छन्। राजविराजस्थित कल्टु दासको पोखरीमा नुहाउन आएकी ब्रतालुले जिमुतवाहन र दिंवगत पितृलाई घिरौंलाको पातमा घिरौंलाको फूल, माटो, पिना, दही, फलफूल चढाएका छन्। घिरौलाको पातमा चढाएको पिना, शख्खर र तोरीको तेल सन्तानको टाउकोमा लगाइदिनाले रोगव्याधी नलाग्ने तथा दीर्घायु हुने धार्मिक विश्वास रहेको छ ।
पूजापछि उनीहरुले कोदोको रोटी, नुनीको साग र माछा खाने बताए। जसलाई स्थानीय भाषामा माछमरुवा भनिन्छ। त्यसपछि, बुधबार बिहानसम्म ब्रत बस्नुपर्ने हुन्छ ।

मंगलबार मध्याह्नतिर नजिकैको मन्दिर वा टोलमा भेला भएका महिलालाई पुरेतले वा पाका महिलाले जिमुतवाहन व्रतको महत्व र पर्वको आरम्भका बारेमा कथा सुनाए पछि सबैजना आ(आफ्ना घर फर्किएर साँझमा आँगनमा खनेर बनाएको पोखरीको डिलमा पाकडी रूखको सानो हाँगा गाड्नुका साथै हाँगामा माटोको चिलको आकृति र हाँगामुनि स्यालको आकृति बनाएर जिमुतवाहनको पूजापाठ गरिने पण्डित दुर्गानन्द मिश्रले बताए। धार्मिक कथाअनुरुप सूर्यपुत्र जिमुतवाहनलाई संकटमोचक एवं सफलताको प्रतिकको रुपमा लिइन्छ।

तेस्रो दिन बुधबार बिहान सुर्योदयसँगै स्नान गरी पूर्णरुपले उपवास बसेकी ब्रतालुले विधिवत् पूजा गरेपछि अन्न ग्रहण गर्छन्। पूजाको समापनपछि नयाँ लुगाफाटो र कोसेलीसहित माइती आएकी छोरीचेलीलाई बिदाई गर्छन्।

नियमपूर्वक पूजा गर्नाले आफ्नो पुत्रको आयु वृद्धि हुने जनविश्वासका कारण ५० वर्षदेखि जितिया पर्व मनाउँदै आएको राजविराज ७ की ७० वर्षीया सोमनी साहले बताइन्। कुनै व्यक्ति ठूलो दुर्घटनाबाट बाँच्न सफल भयो भने तराई मधेसमा उसको आमाले खड् जितिया गरेकी रहिछन् भन्ने गरिन्छ।

परिवारका पुरुष र अन्य सदस्यको सहयोगी भूमिका मात्र हुने यो पर्व छठजस्तै महिला प्रधान रहेको छ । निष्ठा, नियम र विधिमा जोड दिइने यो पर्व आमा र सन्तानबीचको गाढा सम्बन्धलाई समेत दर्शाउँछ। यो व्रत कुनै धनधान्य अनि ऐश्वर्यका लागि नभई नितान्त मातृस्नेह र मातृवात्सल्यको एउटा अद्भूत उदाहरण बनेको छ ।

 


 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्