नेकपाभित्रको गडबडले काजी चिन्तित
केही महिनाअघि एमाले र माओवादी(केन्द्र)बीच पार्टी एकीकरण भएको सर्वविदितै छ । अपत्यारिलो ढंगले एकीकृत यी दुई पार्टीबाट ‛नेपाल कम्युनिष्ट पार्टी’ नामको दलपनि बन्यो । सकेसम्म विवाद रहित ढंगले पार्टीका अवयवहरुमा नेतृत्वको व्यवस्थापन गर्ने कुरा पनि जोडले गरियो । तर चिज भनेजस्तो गरी व्यवस्थापन भने हुन सकेन ।
प्रथमत : नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ताबाट राजीनामा नै बुझाउनुले मुख्य नेतृत्वमा ठूलो अन्तरद्धन्द सिर्जना भइसकेको अनुमान गरियो । यो सँगै पछिल्लो समयमा फेरि माधवकुमार नेपालले पनि चियापान प्रकरण थपेपछि त अहिले पार्टीभित्रको अन्तरद्धन्द छताछुल्ल भएको छ ।
नेकपाका अध्यक्षद्वय देशबाहिर रहेका बेला नेपालले पार्टीभित्र एकात्मक शैली हाबी भएको दाबी गर्दै स्थायी कमिटीको सदस्यहरुको भेला बोलाए । उक्त भेलामा नेकपाका प्रवक्ता नआउने कुरै थिएन । प्रवक्ता नारायणकाजी श्रेष्ठ आइहाले । माधव कुमार नेपाल र अन्य नेताको अभिव्यक्ति सवै सुने । र, आफ्नो पनि सुनाए ।
तर, आज सोमबार भने नारायणकाजी श्रेष्ठले चिन्तन होइन खुब चिन्ता जाहेर गरेका छन् । श्रेष्ठले नेकपा पार्टी माक्र्सवादी सिद्धान्त र चिन्तनबाट विचलित हुँदै गएकाले ठूलो चिन्ता लागेको बताएका छन् । राजधानीमा आज आयोजित एक कार्यक्रममा उनले आफु चिन्तित रहेको सुनाएका हुन् । यो चिन्तासँगै श्रेष्ठले पार्टीभित्रको वैचारिक र साँस्कृतिक कमजोरी र बढीरहेको भ्रष्टाचारप्रति असन्तुष्टी समेत पोखेका छन् ।
उनले पछिल्लो समय पार्टीभित्र माक्र्सवाद र लेनिनवादको सिद्धान्त र विचारको अध्ययन गर्ने पद्धती कमजोर बनेकोप्रति दुखेसो पनि गरेका छन् । अब, समयमै वैचारिक बहस नचलाए कम्युनिष्ट पार्टी नाममा मात्र सिमित रहने उनको आँकलन छ ।
उनले भनेका छन्– ‛सरकार काममा भन्दा अमुर्त नारामा सिमित भएको छ । पार्टीभित्र भ्रष्टाचार विरोधी सांस्कृतिक रुपान्तरणको आन्दोलन अनिवार्य भएको छ । मेरो गिरोहको वा मेरो गुटको वा मलाई आर्थिक सहयोग गर्ने भ्रष्टाचारी बाहेक अरु सबलाई सफाय गरेर भ्रष्टाचारी विरोधी आन्दोलन हुँदैन । त्यसरी कम्युनिष्ट आन्दोलन चल्दैन । माक्र्सका अनुसार क्रान्तिको पहिलो निशाना आफु हो । दैनिक रुपमा युवाहरु विदेशिएका छन् । अमुर्त नारा दिएर मात्रै क्रान्ति हुँदैन । अब, दुई तिहाइको सरकारलाई असफल हुने छुट छैन । राजनीतिक उपलब्धिलाई सामाजिक–आर्थिक रुपमा विस्तार गर्दै सामाजिक न्यायसहितको संमृद्धि हासिल गरी समाजवाद उन्मुख समृद्ध नेपाल बनाउनुपर्छ ।’