मिलेन भागबण्डा : प्रधानमन्त्रीलाई अमेरिकामा कालोझण्डा
काठमाडौ । संयुक्त राष्ट्रसंघको सभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाइएको छ । अमेरिकामा रहेका मधेसीहरुको छाता संगठन ‛मधेस एशोसियसन इन अमेरिका’को नेतृत्वमा कालोझण्डा प्रदर्शन गर्दै ओलीको आगमनको विरोध गरिएको हो । विरोधसँगै त्यहाँ बस्ने मधेसीहरुले न्युयोर्कमा आयोजित प्रधानमन्त्रीको नेपालीसँगको भेटघाट समेत बहिष्कार गरेका छन् ।
तर यो विरोध भने त्यसै गरिएको होइन । ‛मधेस एसोशियसन इन अमेरिका’ले आफनो अधिबेशन हुँदा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिकामा आमन्त्रण गरेको थियो । तर प्रधानमन्त्री ओलीले राउतलाई अमेरिका जान अनुमति नै दिएनन । यसरी अमेरिका जाने अनुमति नपाएपछि राउतले जनकपुरबाटै भिडिया कन्फरेन्समार्फत अधिवेशनको सम्बोधन गरेका थिए ।
यस घट्नाले अमेरिकामा बस्ने मधेसीहरु रिसले चुर भएका थिए । रिस सेलाउन नपाउँदै ओलीले अमेरिका जानै पर्ने भयो । अब, यसैलाई रिस पोख्ने मुख्य अवसरको रुपमा त्यहाँका मधेसीहरुले लिएका हुन् ।
तर यसरी मधेसीद्धारा अर्काको देशमा आफ्नै प्रधानमन्त्रीलाई कालो झण्डा नै देखाइनु राम्रो होइन । यसले विश्व समुदायमा नेपालको नकारात्मक सन्देश प्रवाह गरेको छ । देशभित्र मिल्न नसकिरहेका नेपालीले विश्वमै आफनो बेमेल छताछुल्ल पारिसकेको छ । यो कुनै पनि कोणबाट नेपालीको हितमा नरहेको स्वत : स्पष्ट छ । अन्तत : राजनीतिक भागबण्डाको कुरा नमिल्दा नै देशले विश्वसमुदायमा लज्जित हुनु परेको यथार्थ लुकेको छैन ।