बिहानी एक जोवा घाम जुल्किंदै गर्दा
योगेश्वर खालिङ
उ बेला मेरि आमाको विशुद्ध प्राकृतिक
घडीअनुसार
असार मसान्तको बिहानी एक जोवा
घाम जुल्किंदै गर्दा जन्मिएको पनि
दुई मुरि पन्ध्र पाथी त नाघी पो गएछ गाँठे
लग भग यो दुई बिसा समय बिच
के के गरियो ? के के ? ?
तर ….
तर खासमा चै के के गरियो? साँची!?
नेताहरु झैं भाषण त पटक्कै गरिएन
न ताली न गाली केही पनि खाईएन
थत्त केही पो नापिएन छ त गाँठे
गरियो त केवल सानै उमेरमा
साहुको भारीसँग खाली खुट्टाले
जिरी देखि सल्लेरी र नाम्चे
कति नापियो कति
ऐसेलु खर्क र कटारी पनि धाईएकै हो
कति नाघिए निस्वार्थ हिउँका चुचुराहरु
कति कुल्चिएर भाँचिए तुषारोका करङहरु
तर केही पनि नापिएन
अँहँ केही नापिएन र हानिईएछ
बेपत्ता संग केवल निष्ठुरी मनहरुको शहर
अझ कठिन संघर्ष निर्दयीहरुको शहर
अनि कतै घोटेर हात पाउको धुलो र
पसिनाको धाराले पोतियो
रंगाईयो कति साहु महाजनको बिचित्र
ढुकुटीहरु
उनिहरुकै निम्ति आदि उदि जिन्दगि
पनि जोतियो
तब थकानै थकानमा बढदैछन बाँकि
पाहिलाहरु जिन्दगिको बाँकी मुरिहरु नाघ्नलाई
निरन्तर….निरन्तर ………………..!!!