सिटीको जितमा स्टर्लिङ र अग्युरोको गोल
एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा साबिकको विजेता म्यानचेस्टर सिटीले छैटौं जित निकालेको छ ।
शनिबार भएको खेलमा ब्राइटन एण्ड होभ आल्बियनलाई २ – ० ले हराएर सिटीले उपाधि यात्रा कायम राखेको हो । घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन रहिम स्टर्लिङ र सर्जियो अग्युरोले एक एक गोल गरे । इतिहाद स्टेडियममा पहिलो हाफको २९ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ – ० ले अघि रहेको सिटीले दोस्रो हाफमा थप एक गोल गर्यो ।
खेलको ६५ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई २ – ० को सहज जित दिलाए । जितसंगै शीर्ष स्थानमा उक्लिएको सिटीले ७ खेलबाट १९ अंक जोडेको छ । सिटी लिभरपुललाई एक अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । पराजित ब्राइटन ७ खेलबाट ५ अंक जोडेर १४ औं स्थानमा छ । प्रिमियर लिग अन्तर्गत नै शनिबार टोटेनहमले हडर्सफिल्डलाई २ – ० ले हराएको छ । यस्तै एभर्टनले फुलहमलाई ३ – ० ले पराजित गरेको छ ।