गाई मारेको आरोपमा जेल परेको सोलुखुम्बुको कैदी छुटे
काठमाडौं । जिल्ला अदालत सोलुखुम्बुमा गौ हत्याको मुद्दामा कैद भुक्तान गरिरहेका ४ जनालाई कैदमुक्त गर्न जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले शुक्रबार उनीहरूलाई कैदमुक्त गर्न आदेश दिएको हो । सोलुखुम्बुको साविक चौरीखर्क गाविस-८ का दावाकाजी शेर्पा, बुङ् गाविसका गन्जधन कुलुङ राई, रजप्रसाद राई र नेचासल्यान गाउँपालिका-२ का हेमन्त राईलाई कैदमुक्त गर्न आदेश भएको हो ।
पुरानो कानूनअनुसार १२ वर्षको कैद भुक्तान गरिरहेका ४ जनाले यही भदौ ५ गते नयाँ कानूनअनुसार कैद घटाइ पाउँ भनी निवेदन दिएका थिए । सो निवेदनमाथि अदालतले नयाँ कानूनअनुसारको ३ वर्षको कैद भुक्तान गरिसकेकाले कैदमुक्त गर्न आदेश भएको जिल्ला अदालत सोलुखुम्बुका नायब सुब्बा भगीश्वर सराइलीले जानकारी दिए । दावाकाजी शेर्पा, गन्जधन कुलुङ राई र रजप्रसाद राईलाई जनही २२-२२ हजार जरिवानासहित र हेमन्त राईलाई विना जरिवाना कैदमुक्त गरिएको हो ।