कलंकी–नागढुंगा सडक बनाउन स्थानीयसँग सम्झौता
काठमाडौं । सैलुङ कन्ट्रक्सनले कलंकी–नागढुंगाका सडकखण्ड मंसिरभित्र पिच गर्ने भन्दै स्थानीहरूसँग सम्झौता गरेको छ । चन्द्रागिरीका सडकमा अध्याधिक धुलोले सास्ती भएपछि आन्दोलनमा उत्रिएका स्थानीयहरूसँग् सैलुङ कन्ट्रक्सनले स्थानीयहरूसँग पिच गर्ने दुई बुँदे सम्झौता गरेको हो ।
दुई बुँदे सम्झौता अनुसार चन्द्रागिरी नपा–१५ को विभिन्न खण्डमा मंसिर मसान्तसम्म पिच सम्पन्न गर्ने, कंलकी–नागढुङ्गा सडक निर्माण सम्पन्न नभएसम्म धुलो नउड्ने वातावरण सिर्जना गर्ने र सडकमा पानी हाल्ने सम्झौता गरेको छ ।
२ घण्टा सडक अवरोध भएपछि सडक कार्यालयका प्रतिनिधि ठेक्का पाएको कम्पनी सैलुङ कन्स्ट्रक्सनका प्रतिनिधि नवराज भण्डारी, महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डिएसपी नवरत्न पौडेल, चन्द्रागिरी नगरपालिका १५ का वडा अध्यक्ष उत्तम वहादुर राउत र स्थानीयबीच वार्ता भएको हो ।
काठमाडौं उपत्यका सडक सुधार योजना कार्यालयका त्रिपुरेश्वर–कलंकी–नागढुंगा ९.१ किलोमिटर सडकको ठेक्का शारदा प्रसाद अधिकारीको सैलुङ कन्स्ट्रक्सनले पाएको छ । यो सडक एक अर्ब १३ करोड, ८४ लाख ३२ हजार ७३० रूपैयाँमा ठेक्का लागेको हो । अधिकारी नेकपाका अध्यक्ष प्रचण्डका घरबेटी हुन् ।
एक वर्षे सम्झौता अनुसार २०७२ असार मसान्तमा अधिकारीले ठेक्का लिएका थिए । कार्यालयका अनुसार बढीमा पुस मसान्तसम्म सक्नुपर्नेमा उनले पूरा गरेका छैनन् । अहिले ५० प्रतिशत काममात्र पूरा भएको छ ।
यो सडक निर्माण गर्न सैलुङले तीन भाग लगाएको छ । यसको पृष्ठभूमिमा मुख्य ठेकेदार सैलुङ छ । ज्वाइन्ट भेन्चर ठेक्कामा अरू कम्पनी छन् । सैलुङको प्राविधिक पक्ष कमजोर छ, त्यसैले ज्वाइन्ट ठेक्का लिन्छन् ।
कलंकी नागढुंगाको तीन किलोमिटर खण्ड एमएस शर्मा, सैलुङ र कान्छाराम जेभी, ३.६ खण्ड लुम्बिनी–सैलुङ र साप जेभी र ६–९–१ खण्ड एमएस शर्मा–शैलुङ र कान्छाराम जेभीलाई निर्माण जिम्मा दिइएको छ ।