Logo

चिन्डो किन महत्व ?


गणेश कुमार राई

काठमाण्डौ- ‘चिन्डो’ यस्तो पदार्थ हो, जो मानव सभ्यतासँग जोडिएको छ । विश्वका सबै मानिसहरु ‘चिन्डो’को प्रयोग त्योबेला गर्ने गर्दथे, जुन बेला कुनै पनि धातुलाई प्रयोग गर्नेगरी मानिसको चेतना विकसित थिएन । कार्ल मार्क्सको व्याख्याअनुसार पदार्थ प्रथम र चेतना दोस्रो हो । चिन्डोको सन्दर्भमा पनि यो लागु हुन्छ । चिन्डोलाई मानिसले विभिन्न रुपमा प्रयोजन गरे । कहिँ यसको डाडु बनाइयो, कहिँ टुम्लेट बनाइयो, कहिँ नदी तर्ने साधन बनाइयो, कहिँ औषधि बोक्न प्रयोग गरियो, कहिँ सरसामान सुरक्षित  गर्न प्रयोग गरियो त कहिँ कुनै अन्य प्रयोजनका लागि । त्यसपछि नै मानिसले धातुबाट भाँडा वर्तनको बिकास गरेको पाईन्छ ।

मुन्दुमलाई आधार मान्ने हो भने किरातीहरुले यसको पत्तो लगाए । मुन्दुमको कथनअनुसार एकै लहरामा फलेको कुभिन्डो र चिन्डोलाई प्रयोगशालामा राख्दा कुभिन्डो कुहियो र चिन्डो जस्ताको त्यस्तै रह्यो । त्यसपछि किरातीहरुले चिन्डोलाई जीवनको प्रतिक माने र कुभिन्डोलाई मृत्युको । यसबाट थाहा हुन्छ, संसारमा किरातीहरु कति प्राचीन रहेछन् ? महाभारतलगायतका कृतिहरुमा किरातीहरुलाई भेट्नु त सामान्य हो । र वर्तमान नेपाललाई हेर्ने हो भने किरातीहरुले चिन्डोलाई आफ्नो संस्कृतिको रुपमा जोगाएर ल्याएको देखिन्छ ।

तर केही समयअघिसम्म नेपालमै पनि नदी तर्न, पानी बोक्नलगायतका लागि सबै समुदायले यसको प्रयोग गरेको पाइन्छ । भू–गर्भशास्त्री टोनी हेगनले नेपालमा लामो समय बिताए । उनले सुरुमा भू–गर्भसम्बन्धी काम पनि गरे । करिब १४ हजार किलो मिटर नेपालमा पैदल यात्रा गरेका उनको रुची फेरिएर भू–गर्भ सर्वेक्षणबाट नेपालका मान्छेमा बदलियो । त्यसबेला नेपालमा झोलुङ्गै पुल, काठका साँघुसमेतको विकास भएको थिएन । यसैमा केन्द्रीत उनको ‘1950s Nepal’ नामक वृत्तचित्रमा सुनकोशी नदी तर्नका लागि उनका भरियाहरुले कम्मरमा सुकेका चिन्डोका दानाहरु रिंगै बाँधेको दृश्य देख्न सकिन्छ ।

चीनको फान्चियायुआन अहिले पर्यटकहरुमाझ ‘चिन्डो’कै लागि प्रख्यात मानिन्छ । पैदल यात्री हिँड्ने बाटोदेखि पुराना बजारमा चिन्डोलाई आकर्षक रुपमा सजाएर बेच्न राखिएको हुन्छ । फान्चियायुआन बजारमा चिन्डोकै मात्र दर्जनौं पसल छन् । त्यहाँ पाइने चिन्डोको संख्या र आकारप्रकार पनि अन्यत्रभन्दा अधिक छ । चिनियाँ भाषामा चिन्डोलाई ‘हुलु’ भनिन्छ । नेपालमा किरात खालिङ राईहरु ‘तीन चुल्हा’लाई ‘हुलु’ भन्दछन् । चिनियाँ परम्परामा उपचार गर्ने व्यक्तिले चिन्डो बोकेर आउँथे । त्यो चिन्डोभित्र औषधि अथवा कुनै जादुमय पेय बस्तु हुन्थ्यो, जसका कारण चिन्डो उपचार गर्नमा प्रख्यात मानिन्थ्यो । चिन्डोले आसपासको सबै नकारात्मक शक्तिलाई सोस्छ भन्ने मान्यता थियो । अहिले पनि त्यो मान्यता कायम रहेकाले चिन्डो हरेक शुभकार्यमा सजावटका रुपमा रहन्छ ।

त्यसैगरी बंगलादेशमा चिन्डोलाई आधुनिक रुपमा प्रयोग गरेको पाइन्छ । उनीहरुले चिन्डोलाई बत्तिको ‘कभर’का रुपमा निकै सुन्दर ढंगले सजाएर राखेका हुन्छन् । त्यस्तै इरानी तथा अफ्रिकन सिनेमाहरुमा पनि यसको प्रयोग व्यापक पाइन्छ । त्यसैले यो विश्व मानव सभ्यतासँग जोडिएको अति महत्वपूर्ण वस्तु हो । नेपालमा हाल किरातीहरुले यसको प्रयोग गर्ने गरेका भए पनि यसको इतिहास वृहत रहेको छ, यसको खोजी गर्नु निकै महत्वपूर्ण हुनेछ ।

Sources: 1. Mundum-1 (Kirat Rai Chamling Khambatim), 2. Hot Nepal Magazine, 3. 1950s Nepal (Documentary by Toni Hegan) and so on…गणेश कुमार राईको फेसबुकबाट ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्