प्रकाण्डले भने-हामीसँग हतियार छ, केपीको समय धेरै छैन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड रिहा भएका छन् । मंगलबार सर्वोच्चको आदेशमा उनी रिहा भएका हुन् । यसअघि रिहा आदेससँगै परिसरबाट प्रहरीले पुनः गिरफ्तार गर्दै आएको थियो । मंगलबार साँझ रिहा भएलगत्तै माइतीघर मण्डलामा आयोजित कोणसभामा बोल्दै प्रकाण्डले नामै नलिएर प्रधानमन्त्री केपी शर्मा ओलीको समय धेरै नभएको बताए । उनले आफूहरुसँग विचारको हतियार भएकै कारण सरकार डराएको बताए ।
स्वागतको लागि आएको नेता, कार्यकर्ता र समर्थकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले अहिलेको सरकारलाई भदौमा उम्रेको च्याउ भएको बताउँदै भने, “यिनीहरुको समय धेरै छैन । हामीसँग हतियार छ, त्यसको डरले मलाई र मेरा साथीहरुलाई रिहा गरेको हो ।” प्रकाण्डले देश र जनताको मुद्दा, देश र जनताको निम्तिको मुक्तिको लागि देशी र विदेशी प्रतिक्रियावादी र यो देशका दलालहरुका बीच जुनसुकै षड्यन्त्रमा पनि आफ्नो पार्टीको क्रान्ति अगाडि बढाउने प्रतिवद्धता जनाएका थिए । उनले जनताको सत्ता स्थापना नभएसम्म क्रान्ति जारी रहने बताए ।
“जब नेपाली जनताको राज्य सत्ता स्थापना हुँदैन, जब नेपाली जनता आफैं शासन सञ्चालन गर्ने हुँदैनन्, तबसम्म हाम्रो त्यो क्रान्ति जारी रहनेछ” प्रकाण्डले भने । उनले नेपालमा क्रान्तिको विरुद्धमा देशी–विदेशी दलालहरु जहिले पनि लाग्ने गरेको उनले बताए । सम्बोधनकै क्रममा प्रकाण्डले जनताको पक्षमा संघर्ष गर्दा ज्यान मुद्दा लगाएको भन्दै (नेकपा)का अध्यक्ष प्रचण्डलाई १० हजार जनताको हत्याराको मुद्दा जनअदालतमा लगाउने बताए ।
अहिलेको परिवर्तन प्रधानमन्त्री ओलीले नल्याएको भन्दै प्रकाण्डले धेरै ट्याँट्याँ नगर्न आग्रह भने । उनले तत्कालिन माओवादी र आफूहरुले अहिलेको परिवर्तन ल्याएको बताए । पाँचौ पटक परेको बन्द प्रत्यक्षीकरण रिटमाथि मंगलबार बहस गर्दै न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पुनः प्रकाण्डलाई छाड्न आदेश दिएको हो ।