सुरु भयो ‘अखण्ड सुदूरपश्चिम’ आन्दोलन, रावल र भट्टले उचालोको आरोप
धनगढी । प्रदेश नं. ७ को नाम र राजधानीको विषयमा संसदमा बहस हुने भएपछि फेरि आन्दोलन सुरु भएको छ । स्थायी राजधानी र नामांकनका लागि गठित विशेष सुझाव समितिले मंगलबार प्रदेशसभामा आफ्नो प्रतिवेदन पेस गरेसँगै आन्दोलन सुरु भएको हो ।
‘अखण्ड सुदूरपश्चिम’ को माग गर्दै आएकाहरु आन्दोनलमा उत्रेका छन् । आन्दोनलमा धनगढी उपमहानगरपालिकाका मेयर नृप वडसहित जनप्रतिनिधिहरुसमेत सक्रिय रुपमा लागेका छन् । धनगढी उपमहानगरका विभिन्न वडाका वडाध्यक्ष, सदस्यसहित नेपाली कांग्रेसनिकट नेता–कार्यकर्ताहरु स्थायी राजधानी धनगढीमै हुनुपर्ने माग गर्दै टायर बालेर प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदेशको नाम र राजधानी तोक्न गत साउन १४ गते प्रदेशसभा सदस्य तारा लामा तामाङको संयोजकत्वमा गठित संसदीय समितिले मंगलबार प्रदेशसभामा प्रतिवेदन प्रस्तुत् गरेको थियो ।समितिले नाम ‘सुदूरपश्चिम’ राख्न र राजधानी कैलालीकै गोदावरी नगरपालिका क्षेत्रलाई तोक्ने सिफारिससहितको प्रतिवेदन संसदमा पेस गरेको विरोधमा आन्दोलन सुरु भएको छ । उनीहरुको माग राजधानी धनगढी नै राख्नुपर्ने माग छ ।
‘अखण्ड सुदूरपश्चिम’ को सुरुदेखि नेतृत्व गर्दै आएको सत्तारुढ (नेकपा)का नेता तथा प्रदेश इन्चार्ज भीम रावल,लेखराज भट्ट र मेयर वडले स्थानीलाई उचालेको आरोप पनि लागेको छ । अखण्डको विरोधमा रहेका थारु नेता र सांसदहरुले केन्द्रीय नेताहरुले नै फेरि स्थानीयलाई उचालेको आरोप लगाएका छन् ।