संसारका पाँच खतरनाक महिला जासुस
हेलेन विटाकर /बीबीसी
जासुसी ड्रामा धेरैका लागि निकै रोमाञ्चक हुनसक्छ । अझ त्यसमाथि जासुसी कहानीमा कुनै महिला हत्यारा हुने हो भने त्यो थप रोचक बन्ने गर्छ । यसको सबैभन्दा ठूलो कारण हो महिलालाई यस्तो प्रकारको भूमिकामा कमै देखिन्छ र जुन सामान्य हुँदैन त्यसले सँधै आकर्षित गर्छ । यी त भए काल्पनिक कहानीका कुरा तर यहाँ यस्ता महिलाको कहानी बताइएको छ जो वास्तविक जीवनमा एक खतरनाक जासुस थिए र उनीहरुको जीवनशैली अचम्मित गरिदिने कहानीले भरिएको छ ।
१. डबल एजेन्ट ‘माता हारी’
मार्गेथा गिरत्रुइदा म्याकलियोडलाई ‘माता हारी’ को नामले चिनिन्छ । उनी एक कामुम नृत्यांगना थिइन् जसलाई पहिलो विश्वयुद्धमा जासुसी गरेको आरोपमा गोली हानी हत्या गरिएको थियो । माता हारीको जीवनमा सन् १९३१ मा हलिउड फिल्म बन्यो जसमा ग्रेटा गर्बो मुख्य भूमिकामा थिइन् । मार्गेथाको जन्म होल्याण्डमा भएको थियो र विवाह एक फौजी क्याप्टेनसँग । एउटा नराम्रो सम्बन्धमा फसेकी मार्गेथाले आफ्नो नवजात शिशुलाई पनि गुमाइन् ।
सन् १९०५ मा मार्गेथाले आफूलाई ‘माता हारी’ को पहिचान दिइन् र इटालीको मिलानस्थित ला स्काला र पेरिसको ओपेरामा एक कामुक नृत्यांगनाको रुपमा उदाइन् । त्यतिबेला मार्गेथा हराइसकेकी थिइन् र उनी माता हारीको नामले मानिसहरुबीच चर्चित थिइन् । आफ्नो पेशाका कारण उनका लागि यात्रा गर्नु सजिलो थियो । यसकारण जर्मनीले प्रथम विश्वयुद्धको क्रममा माता हारीलाई पैसाको बदलामा जानकारी साझा गर्ने प्रस्ताव गर्यो । यसरी नै उनी जर्मनीकी जासुस बनिन् ।
माता हारी आफैंले त कसैको पनि हत्या गरिनन् तर उनको जासुसीका कारण लगभग ५० हजार फ्रान्सेली सैनिकको हत्या भएको थियो ।त्यसपछि फ्रान्सलाई उनीमाथि शंका लाग्न थाल्यो । सन् १९१७ फेब्रुअरीमा उनलाई पेरिसबाट पक्राउ गरियो र अक्टोबरमा उनको गोली हानी हत्या गरियो । उनको हत्या भएको सय वर्ष पछि उनको अपराधमा पुनः बहस सुरु भयो । माता हारीलाई आज पनि ‘फेमिनिन सिडक्शन’ र देशलाई धोका दिने प्रतिकको रुपमा लिइन्छ ।
२. शार्लेट कार्डीः
शार्लेटको पूरा नाम मेरी एन शार्लेट डी कार्डी थियो र उनी फ्रान्सको क्रान्तिको हिस्सा बनिन् । शार्लेट एक गिरोडिन थिइन् । फ्रान्सको क्रान्तिमा गिरोडिन ती हुन् जो राजशाहीलाई जरैबाट उखेल्न चाहन्थे तर उनीहरु हिंसाका विरोधी थिइन् । तर क्रान्तिका लागि हिंसालाई नस्विकार्ने शार्लेटले आफ्ना विपक्षी ज्याकोबिन समूहका नेता जिन पल मेराटको हत्या गरिन् ।
जुलाई सन् १७९३ मा शार्लेटले बाथटबमा नुहाइरहेका मेराटलाई चक्कुले हमला गरिन् । जब उनलाई यसका लागि पक्राउ गरियो तब शार्लेटले यसलाई देशको हितमा गरिएको हत्या बताइन् । एकजनाको हत्या गरेर आफूले हज्जारौंको ज्यान बचाएको उनले दाबी गरिन् । तर त्यसको चार दिन पछि नै उनलाई मृत्युदण्ड दिइयो ।
३. शी जिआनकिआओः
जासुस आफ्ना उपनाम राख्न रुचाउँछन् र यसै तथ्यलाई यथार्थमा परिवर्तन गर्दै शी गुलानले जासुसीको दुनियाँमा आफ्नो नाम शी जिआनकिआओ राखिन् । जिआनकिआओ आफ्नो बुवाको मृत्युको बदला लिन जासुस बनिन् । उनको हत्या चीनका नेता सुन चुआंगफांगले सन् १९२५ मा गरेका थिए ।
त्यसको १० वर्षपछि जिआनकिआओ एक बौद्ध मन्दिरमा पुजा गरिरहेका बेला चुआंगफांगले उनलाई टाउकोमा गोली हानिन् । उनको हत्या गरेपछि घटनास्थलबाट भाग्नुको साटो उनी त्यही बसिन् र आफ्नो अपराध कबुल गरिन् । यो हाई प्रोफाइल केसमा सन् १९३६ मा निर्णय भयो र जिआनकिआओलाई दोषमुक्त गरियो । यसबारे अदालतले उक्त हत्या आफ्नो पिताको हत्याले आहात भएर गरिएको बतायो । सन् १९७९ मा शि जिआनकिआओको मृत्यु भयो ।
४. ब्रिगित मोआनहप्टः
कुनै बेला जर्मनीकी सबैभन्दा खुंखार महिला मानिने ब्रिगित मोअनहप्ट रेड आर्मी फ्याक्शनकी सदस्य थिइन् । ब्रिगित सन् १९७७ मा जर्मनीमा एक आतंककारी गतिविधीमा संलग्न भइन् । ७० को दशकमा पश्चिम जर्मनीमा एक बाम चरमपन्थी समुहद्वारा एकपछि अर्को गर्दै थुप्रै अपहरण, हत्या र बम हमला गरियो । यो समूहले जहाज अपहरणका साथै लगभग ३० व्यक्तिको हत्या गर्यो । यो अपराध पश्चिम जर्मनीमा पुँजीवादलाई समाप्त गर्ने नाममा गरियो ।
सन् १९८२ मा यो अपराधमा संलग्न भएका कारण मोअनहप्टलाई पक्राउ गरियो र पाँच वर्षको सजायँ सुनाइयो । यसबाहेक उनलाई ९ जनाको हत्याको मामलामा थप १५ वर्षको सजायँ दिइयो । मोअनहप्टले कहिले पनि आफ्नो अपराध स्विकारिनन् र सन् २००७ मा उनी परोलमा जेलबाट बाहिर निस्कने मौका पाइन् । उनी अझै जीवितै छिन् ।
५. एजेन्ट पेनेलोपः
इजरेली इन्टेलिजेन्स एजेन्सी मोसादका लागि काम गर्ने एजेन्ट पेनेलोपे प्यालिस्टिनी समूह ब्ल्याक सेप्टेम्बरका नेता अली हुसेन सलामेको हत्याका संलग्न थिइन् । अली हुसेनले सन् १९७२ मा म्युनिख ओलम्पिकको क्रममा ११ इजराइली खेलाडीलाई बन्धक बनाए र उनीहरुको हत्या गरिदिए यो हत्याको जवाफमा इजरेली प्रधानमन्त्री गोल्डे मेरीको आदेशमा ‘अपरेशन व्रैथ अफ गड’ सुरु भयो जसमार्फत अली हुसैन सलामेको हत्या गरियो ।
अली हुसेनलाई हत्या गर्नका लागि पेनेलोपेले उनी बस्ने अपार्टमेन्ट नजिकै लगभग ६ हप्ता बिताइन् । जुन बम हमलामा अली हुसेन सलामेको हत्या भयो त्यसमा पेनेलोप पनि मारिइन् । मृत्युपछि उनको सामानमा एउटा बेलायती पासपोर्ट पनि भेटियो जसमा नाम लेखिएको थियो एरिका चेम्बर ।