Logo

किरातका २४ भाषाको नालीबेली सार्वजनिक, कुन कुन भाषा हेर्नुस ?


काठमाडौं — सरकारले भाषा आयोग गठन गरेसँगै किरात राईका भाषाहरुको अवस्थाबारे संयुक्त जर्नल प्रकाशनमा आएको छ । आदिवासी किरात राई जातिभित्र २५ भन्दा बढी भाषा जिवित छन् ।

सम्बन्धित भाषा बोलिने क्षेत्र, वक्ता संख्या र सम्बन्धित भाषिक वक्ताहरुको परिचयसहित भाषागत अवस्थाको समेटिएको ‘किरात प्रज्ञा’ जर्नल प्रकाशनमा आएको छ । किरात राई यायोक्खाअन्तर्गत किरात राई प्रज्ञा परिषद्ले यसरी यी भाषाको समसामयिक अवस्थालाई समेटेर प्रकाशनमा ल्याएको हो । यायोक्खाका कार्यवाहक अध्यक्ष दिवस राई, परिषद्का कुलपति जयकुमार राई, प्राज्ञ शान्तिराम राई, यायोक्खाका कोषाध्यक्ष अशोक दुमीराई तथा पूर्वउपाध्यक्षद्वय राजबहादुर राई र मनिकुमार राईले शनिबार राजधानीमा सार्वजनिक गरेका हुन् ।

जर्नलमा आठपहरिया, कुलुङ, कोयी, खालिङ, चाम्लिङ, छिन्ताङ, छुलुङ, जेरुङ, तिलुङ, थुलुङ, दुङ्माली, दुमी, नाछिरिङ, पुमा, फाङ्दुवाली, बान्तावा, बाहिङ, बेलहारे, मेवाहाङ, याम्फु, लिङ्खिम, लोहोरुङ, वाम्बुले र साम्पाङ राईबारे समेटिएका छन् । यी किराती भाषाहरु भोट–बर्मेली परिवारअन्तर्गत रहेका छन् । पूर्वी पहाडी क्षेत्रमा बोलिने यी भाषाका भौगोलिक क्षेत्र, उत्पत्ति मिथक, वक्ता संख्या, पाछा, मुन्धुम तथा पितृवंश, वंशावली, यसअघि भए/गरिएका अध्ययन तथा अनुसन्धान, लेख्य विकासक्रम, पत्रपत्रिका प्रकाशनबारे चर्चा गरिएको छ ।

त्यसैगरी विधागत कृति प्रकाशन, गीतसंगीत, श्रव्यदृश्य सामग्री, सञ्चारमा पहुँच विस्तार तथा यी भाषाहरुको पाठ्यसामग्री निर्माणका प्रयासहरु उल्लेख गरिएका छन् । किरात मुन्धुम परम्परा तथा भाषा, संस्कार संस्कृति जोगाउनका निम्ति हरेक भाषीले संस्थागत पहल गर्दैआएको रोचक पक्षहरु उल्लेख गरिएका छन् । कुल २ सय २८ पृष्ठ रहेको जर्नलको सम्पादन डा. तारामणि राई, भोगीराज चाम्लिङ र गणेश राईले गरेका हुन् ।

परिषद्का कुलपति जयकुमार राईका अनुसार २०४६ सालको राजनीतिक परिवर्तनपछि किराती राई भाषाहरु लेख्य रुपमा अघि बढेका हुन् । ‘भाषा, संस्कार, संस्कृतिलाई लिपिवद्ध गर्ने काममा संस्था गठन गरिएका हुन्,’ किराती राई जातिभित्रको विविधतालाई राज्य र समुदायले पहिचान गर्न नसकेको उल्लेख गर्दै कुलपति राईले भने, ‘भाषिक विविधताबीच एकता रहेको समाज र सरकारी निकायले नबुझिदिंदा जातीय संगठन खोलेकोमात्र देख्ने गरिएको छ । वास्तवमा हाम्रो जति भाषा छन् मुन्धुम पनि तिनै भाषाअनुसार फरक रुपमा पुकारिने गरिन्छ । मुन्धुमको सार एउटै भएर पनि संस्कार, संस्कृतिसमेत विविधता छ ।’ भरखरै गठन भएको भाषा आयोगका निम्ति यो शोधमूलक सामग्रीले संघीय प्रदेश–१ मा बोलिने भाषाहरुको अध्ययन गर्न सन्दर्भ स्रोत हुनसक्ने राईले बताए ।

किरात जातिभित्र राई, लिम्बु, याक्खा र सुनुवार पर्दछन् । किरातीले आफूलाई प्रकृति र पितृपूजक ठान्दछन् । उनीहरुले बोल्ने बोलिचालीको भाषा र पितृपूजा गर्दा फलाकिने मुन्धुमी भाषा फरक हुन्छ । त्यसै अवसरमा भाषाशास्त्रीद्वय डा. नेत्रमणि दुमीराई र डा. तारामणि कोयीराईले किरात राई भाषाहरुको अवस्था, तिनको प्रवद्र्धनका उपायबारे कार्यपत्र प्रस्तुत गरेका थिए

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्