प्रचण्डको टिप्पणीः सरकारले परिणाम देखिने काम नगरे सिद्धिने खतरा !
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहदेखि केन्द्रसम्म नै धेरै जनताको सर्मथनप्राप्त सरकार रहेको बेलामा पनि काम गर्न नसकिए सकिने खतरा हुने बताएका छन् । प्रचण्डले अहिलेको सरकारले परिणाम देखिने काम नगरे सिद्धिने खतरा रहेको टिप्पणी गरेका हुन् ।
जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्ला सभाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले काम गर्न सकेनौं भने जनताले हामीलाई पत्याइदिरहनु पर्दछ भन्ने आवश्यकता छैन, जनताले विकल्प खोज्छन्’ अध्यक्ष प्रचण्डले अगाडि थपे, ‘यो त कम्युनिष्ट पार्टीका लागि निकै दुर्भाग्यको विषय हुन्छ ।’

‘हामीले १२र१५ हजार मेगवाटका ठूला विद्युत परियोजनाहरु निर्माण गरी अन्तर्देशीय सम्बन्धलाई मजवुत बनाउन सक्छौं, अब हाम्रो ध्यान यता जान जरुरी छ’ अध्यक्ष प्रचण्डले भने ‘अब एक्सनमा जाने बेला भएको छ ।’पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजनामा आफूले गरेको निर्णयमा अहिलेको सरकार पनि आइपुगेको टिप्पणी गरेका छन् । ‘एउटाले बनाउन दिने निर्णय गर्ने, अर्कोले भत्काउने, फेरि अर्कोले दिने यस्तै काम भएको छ’ अध्यक्ष प्रचण्डले भने, ‘मैले जहाँ लगेर प्रक्रिया टुंग्याएको थिएँ, अहिले सरकार त्यही आइपुग्यो ।’