चन्द्रागिरि वार्ता–दुई
–भूपाल राई
लगभग २८० वर्ष पहिले
यही ठाउँबाट
सोझिएथ्यो– उत्ता तीन शहर त्रिलोकमाथि
एउटा चोर औँला
चन्द्रागिरिको यही छप्परमा
भएको थियो पहिलो गोप्य वार्ता
र , आज
खोज्दै खोज्दै आफ्नै बूढो हंस
छुटेको त्यही ठाउँमा
आइपुगेको छ फेरि त्यो वार्ता–पुरुष
जो बडो अधीरताका साथ हेरिरहेछ
कसैको बाटो,
‘खै किन आइपुगेन यति वेलासम्म
त्यो कुलानन्द जैसी ?’
ठीक यति नै वेला
थानकोटको चर्को जाम छिचोलेर
ओर्लिन्छ केबलकारबाट
एउटा चीरपरिचित मान्छे
जसले च्यापेको छ हातमा
कोसेली स्वरूप
‘संवत् २०७२’ लेखिएको
एकथान नयाँ संविधान
र , यतिका वर्षपछि
फेरि
खस्छ एउटा उत्तेजित प्रश्न त्यहाँ
‘हे ! तन्नेरी राजसेवक
भन कस्तो छ
मैले दुःखले आर्ज्याको मुलुक ?’
भर्खरै केबलकारबाट निवृत्त
सेवकले जवाफ दिन्छ–
अच्छा छ महाराज !
हजुरले आर्जेको मुलुकमा
सब ठीक ठाक छ
न यो चन्द्रागिरिको उचाइ
एक अमल कहिल्यै घटेको छ
न त्यो तीन सहर खाल्डो
एक अमल कतै सरेको छ
हजुरले छाडेदेखि यता
सबथोक उस्तै छ
मात्र फरक छ एक थोक
उः वेला हजुरको शासन थियो
यो वेला हाम्रो शासन छ ।
उः वेला पनि
यहीँ थियो
अक्कलसिं आलेको आन्द्रा जस्तो
असरल्ल यो बाटो
जसले पुर्याउने गथ्र्याे हजुरलाई ससुराल
सुदुरपूर्वका ती नौलाख झन्डा
जो झुकिरहेका छन् अझै पनि
आफ्नै कुर्कुच्चामुनि
यी वारिपारि
आफ्नै आँसुमा ढलिरहेका ताम्बा पहाड
त्यो एक खुड्किलामुनि
आफ्नै छातीमा दबिएको कीर्तिपुर
सब हजुरकै पञ्जापत्र
हजुरकै अखण्ड सूत्रभित्र
यथावत् छन्
मात्र फरक छ एकथोक
उः वेला हजुर शासन गर्नुहुन्थ्यो
कानुन लेख्थ्यौँ हामी
यो वेला शासन गर्छौँ हामी
र कानुन पनि लेख्छौँ हामी नै
अच्छा छ
केही हजार वर्षको यो चतुर्मुखी कला
अथवा यही सात सय वर्षको सानो फेहरिस्त
जहाँ रचेका हौँ हामीले
जयस्थिति बाजेको अजेय थिति
फैलाएका हौँ
रामशाह बाबुको रामकहानी
र ‘न्याय नपाए गोर्खा जानू’
हामीले नै प्रदान गर्याैँ
हजुरलाई शास्त्र
सट्टामा प्राप्त भो हामीलाई सुरक्षा
हामीले बनायौँ हजुरलाई महाराज
हजुरले हामीलाई ईश्वर
र, त्यही ईश्वरको हातले
लेख्यौँ श्री ३ महाराजको मुलुकी ऐन
लेख्यौँ कानुनमा दुई अपरिवर्तनीय चिज
क्रमशः ‘ब्राह्मण र गौमाता’
जो खुद कानुन र दण्डभन्दा माथि छन्
हामीले नै आविष्कार गरेका हौँ
वर्णाश्रम कानुनको जंगलमा
मासिने जातका जनावरहरू
हामीले नै बनाएका हौँ
बडो यत्नका साथ ‘जातीय दण्ड विधान’
र, काटेका हौँ ब्राह्मणको कपालबराबर
शूद्रको टाउको
उस्तै छ आज पनि
ढंगे पिपाले बिछ्याएको
ढुंगैढुंगाको वसन्तपुर स्क्वायर
गोर्खाबाट जमरा आयात गर्ने
हनुमानढोका दरबारको भग्नावशेष
हजुरको दिव्योपदेश कुँदिएको
यो पवित्र छाती
हजुरलाई हजुर बनाउने राजकीय शास्त्र
शास्त्रको देवभाषा
नागरिकतामा टोपीसहितको तस्बिर
तस्विरमा देवदूतको हस्ताक्षर
र , सबभन्दा बढी
उस्तै छ, लबेदा सुरुवाल सिउने
दसौँ पुस्ताको दर्जी
सब उस्तै छ
बस फरक छ एकथोक
हजुरले आर्जेको मुलुकमा
जुन वर्णज्ञान थियो
त्यो आज वर्णविज्ञान भएको छ
र कदाचित् विज्ञानको पतन होइन
झन् त्यसको उत्थान भएको छ
नपत्याए नजर होस्
उः वेला द्वितीय पुरुषको अनन्त सत्ता
यो वेला प्रथम पुरुषमा उक्लिएको छ ।
२८० वर्षपछाडि
साँझ परिसकेको छ चन्द्रागिरिमा
वार्ताको अन्त्यतिर
पुनः एउटा आवाज खस्छ
‘हे ! कुलानन्द
भो आज म ससुराल जान्नँ
यही छप्परमा रात गुजार्छु
खै देऊ त्यो तिम्रो संविधान
त्यसभित्र कहाँ छन्
ती अपरिवर्तनीय दुई चिज
म आद्योपान्त पढ्न चाहन्छु ।’
नयाँपत्रिकाबाट