Logo

साढे ४ अर्बमा ५ जहाज थप्ने यतीको घोषणा


काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी यती एयरलाइन्सले साढे ४ अर्ब रुपैयाँ लगानीमा थप पाँचथान जहाज खरिद गर्ने घोषणा गरेको छ । यतीले फ्रान्सको जहाज निर्माता कम्पनी एटीआरमा निर्मित ७२ सिट क्षमतायुक्त ‘एटिआर ७२–५००’ सिरिजका तीनथान र ४७ सिटे ‘एटीआर४२–३२०’ सिरिजका दुईथान जहाज एक वर्षभित्र खरिद गर्ने घोषणा गरेको हो । यतीले शुक्रबार स्थापनाको दुई दशक पूरा गरेको छ ।

“एक वर्षभित्र थप पाँचवटा जहाज खरिद गरी आक्रमक बजार विस्तार गर्ने तयारी छ,” यतीका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले शुक्रबार बाह्रखरीसँग भने, “यसका लागि हामी लगभग ४ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने छौं ।”

उनका अनुसार ७२ सिटे एटीआर७२–५०० जहाज खरिद गर्न एउटाको १ अर्ब रुपैयाँ लगानी गर्नुपर्छ । त्यस्तै ४७ सिटको एटीआर४२–३२० एउटा किन्न ७० करोड रुपैयाँ खर्च गर्नुपर्छ । सन् २०१८ डिसेम्बर (आगामी मंसिर १५ देखि पुस १५ गते) भित्र अर्को एकथान एटीआर७२ जहाज ल्याउने योजना छ ।

हाल यतीले ७२ सिट क्षमतायुक्त तीनथान एटीआर७२–५०० र २९ सिटे ६ थान ‘जेटस्ट्रिम–४१’ जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट माउन्टेन फ्लाइट, पोखरा, नेपालगन्ज, भैरहवा, भद्रपुर, जनकपुर, विराटनगर, भरतपुर र तुम्लिङटार गन्तव्यका लागि दैनिक २५ देखि ३० उडान गर्दै आएको छ । “पाँचवटा जहाज थपिएपछि उडान संख्या बढाएर दैनिक चार दर्जन पुर्याउँछौं,” वरिष्ठ प्रबन्धक राईले भने ।

कम्पनीले आफ्ना सबै सेक्टरका उडानमा अपांगलाई ५० प्रतिशत, ज्येष्ठ नागरिकलाई २५, बालबालिकालाई ३३.३३ र शिशुलाई ९० प्रतिशत छुट दिँदै आएको छ ।  पछिल्लो तथ्यांकअनुसार यतीले वार्षिक करिब ५ लाख यात्रुलाई विभिन्न गन्तव्य पुर्याउँदै आएको छ । हाल आन्तरिक उड्डयन बजारमा यतीको हिस्सा ३५ देखि ४० प्रतिशत रहेको कम्पनीको भनाइ छ ।

जेटस्ट्रिम जहाजबाट एटीआरमा फड्को मारेको यतीले विस्तारै जेटस्ट्रिम विस्थापन गर्दै जाने नीति लिएको छ । उसले गत वर्षबाट एटिआर जहाज थप्दै उडान गरिरहेको छ । नयाँ जहाज आए पनि गन्तव्य नथपिने तर उडान संख्या भने बढाउने कम्पनीले जानकारी दिएको छ ।

एटीआर जहाज थप्दै आएको यतीको प्रतिस्पर्धा अर्को प्रमुख वायुसेवा कम्पनी बुद्ध एयरसँग मात्र भइरहेको छ । यतीसँग रहेका ७२ सिट क्षमतायुक्त एटीआर७२–५०० सिरिजका जहाज प्रतिस्पर्धी बुद्धसँग हाल ६ थान सञ्चालनमा छन् । त्यस्तै यतीले एक वर्षभित्र ल्याउने घोषणा गरेको ४७ सिटे एटिआर४२–३२० सिरिजका जहाज बुद्धले तीनथान उडाइरहेको छ ।
“बजार र यात्रुको मागअनुसार एटीआर जहाज ल्याइरहेका हौं । प्रतिस्पर्धा भनेको व्यवसायमा चलिरहन्छ,” वरिष्ठ प्रबन्धक राईले भने, “बुद्धको आफ्नो बजार छ, हाम्रो आफ्नै बजार, ब्रान्ड, प्रतिष्ठा, यात्रु र आफ्नै खालको सेवा छन् । हामी प्रतिस्पर्धी भाडा दरमा उडान गर्छौं जसको प्रत्यक्ष फाइदा यात्रुलाई नै हुने गर्छ । तर, हामी पैसाभन्दा सेवामा प्रतिस्पर्धा हुनुपर्छ भन्ने मान्यता राख्छौं ।’

यतीले गत वर्ष साउन पहिलो साता ७२ सिटे पहिलो एटीआर७२–५०० जहाज काठमाडौं ल्याएको थियो । यो क्रमलाई निरन्तरता दिँदै उसले एक वर्षभित्र तीनथान यस्तै जहाज ल्याइसकेको छ । तीन जहाजका लागि यतीले ३ अर्ब रुपैयाँहाराहारी लगानी गरेको थियो ।

यतीले असोज १ गते तेस्रो एटीआर७२ जहाज ल्याएको थियो । यो जहाजलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘९एन–एएलएन’ दर्ता नम्बर दिएको छ । केही दिनपछि नयाँ जहाजले नियमित व्यापारिक उडान सुरु गर्ने कम्पनीले जनाएको छ ।

यती र यसको भगिनी वायुसेवा तारामा गरी हाल ९ सय कर्मचारी कार्यरत छन् । तारासँग भने १९ सिट क्षमताका दुईथान ‘डीएचसी६–३००’ र दुईथान ‘डीएचसी६–४००’ तथा १८ सिटे दुईथान ‘डोर्नियर–२२८’ सिरिजका गरी ६ थान जहाज सञ्चालनमा छन् । यती र तारामा गरी १ सयभन्दा बढी पाइलट छन् । ताराले दैनिक २५ देखि ३० उडान गर्दै आएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्