Logo

संगीतमा हामी सय वर्ष पछाडि पर्‍यौं : पारस मुकारुङ


काठमाडौं- रेडियो नेपालमा मनै लोभ्याउने सुगम संगीतहरू गुञ्जन्थे। ती संगीतमा मुग्ध बन्थे पारस मुकारुङ। गीत सुनेपछि आफू पनि गुनगुनाउन खोज्थे।

यो त्यति बेलाको कुरा हो। जतिबेला कलिलो मस्तिष्कले उनी गीत बुझ्न खोज्थे। रागमा आह्लादित बन्थे। बाल्यकालमा सुनेका गीतले नै संगीतप्रतिको मोह बढ्यो र नजानिँदो सम्बन्ध गाँसियो। यही सम्बन्धले डोहोरिएका उनले संगीत साधनामै दुई दशक पार गरिसके।

उनी भन्छन्, ‘तर, त्यतिबेला मैले बुझेको संगीत फरक थियो।’

संगीतप्रतिको त्यो समयको बुझाइ र अहिलेको बुझाइमा आकाश-पातालको फरक पाउँछन् उनी। ‘किनकि त्यो समय राज्यले स्थापित गरेको संगीत थियो। कहिले सुगम संगीतको नाममा त कहिले शास्त्रीय संगीत र आधुनिकताको नाममा,’ उनमा जिज्ञासा रित्तिएको छैन, ‘वास्तवमा राज्यले स्थापित गरेको संगीत नेपाली संगीत हो कि होइन?’

राज्यले संगीतलाई सधैं आफ्नो स्वार्थअनुरुप प्रयोग गर्दै गएको मुकारुङको बुझाइ छ।

नेपाली संगीतले एक शताब्दी पार गरिसकेको छ। सेतुराम र मेलवादेवी हुँदै अहिलेसम्म आइपुग्दा संगीतले के उपलब्धि हासिल गर्‍यो त?

‘उपलब्ध केही हुन सकेन। हामीले फड्को मार्नै सकेनौँ,’ उनी भावुक हुँदै भन्छन्, ‘हामीले भाषा मात्र नेपाली गायौं, संगीतमा नेपालीपन भर्न सकेनौं।’

नेपाली संगीतको अस्तित्व नै संकटमा परेकोमा उनको चिन्ता छ। नेपालको आफ्नै पहिचान भए पनि संगीतमा अस्तित्व खोज्नुपर्ने अवस्था आउनु दु:खद भएको बताउँछन् उनी।

‘पूर्वार्द्धदेखि नै हामी आधुनिकताको पछि लाग्यौं। यसर्थ हाम्रो संगीत मिनिमाइज्ड भएको छ,’ उनी थप निराश देखिए, ‘आधुनिकताको नाममा संगीतलाई ‘मोर्डनाइज’ होइन ‘कोलोनाइज’ गर्‍यौं।’

भूगोलभित्र अटाएको संगीत
संगीत भनेको जीवन पद्धतिसँग गाँसिएर आउने हो। भूगोल, जाति वा लोकबाट निर्धारण हुन्छ संगीत। यी विविधताहरुबीच संगीत एकीकृत हुन नसकेको उनले तर्क गरे। हरेक भाषा, समुदाय र भूगोलबाट सिर्जित हुने संगीतको समग्रता नै नेपाली संगीत हुने उनको परिभाषा छ।

‘हाम्राे संगीत सानो भूगोलमा बस्ने राई समुदायमा छ। गन्धर्वहरुसँग छ। धिमालहरूसँग पनि आफ्नै संगीत छ,’ उनी भन्छन्, ‘हाम्रो संगीत भनेको त मुन्धुम हो, साकेला हो, तामाङ सेलो हो। तराईमा थारु जातिको आफ्नै संगीत छ। हाम्रो सबैभन्दा पुरानो सभ्यता मिथिला सभ्यतामा छ। किरात सभ्यताको आफ्नै संगीत छ। यी सबै संगीत एकै ठाउँमा आउँदा बल्ल नेपाली संगीत आफ्नो अस्तित्वमा आउँछ।’

हामीसँग फरक सांस्कृतिक सभ्यता छन्। यही अनरुप संगीतको छुट्टै मूर्च्छनाहरु गुन्जनुपर्ने हो। तर हाम्रो अस्तित्वलाई आफैले ठम्याउन नसकेकै कारण प्रगति हुन नसकेको उनको आकलन छ। ‘अबको समय हामीले हाम्रो संगीत कहाँ छ भनेर खोज्ने हो, साँच्चै हाम्रो संगीत कहाँ छ त?’ उनी आफैतर्फ प्रश्न तेर्स्याउँछन्,’ ‘संगीत एउटा भूगोलले निर्धारण गर्छ कि जातिले?’

यी प्रश्नको प्रमुख जिम्मेवार उनी राज्यलाई नै ठान्छन्।

‘राज्यले किन आफ्नो संगीतलाई स्वीकार नगरी आयातित संगीतलाई स्वीकार गर्यो?’ राज्यप्रति उनको आक्रोश यहाँनिर छ।

आफ्नो पहिचानको अभाव
संगीतका विद्वानहरुले बेलाबेला संगीतबारे गरेको चिन्ता सुन्दा मुकारुङ अचम्मित हुँदा रहेछन्। ‘नेपाली संगीतको विश्वव्यापीकरण हुँदै छ’ जस्ता कतिपयको बुझाइप्रति उनको गुनासो छ।

नेपाली संगीतमा जो मानक थिए, उनीहरूले नै संगीतको स्वरुप बिगारेको बताउँछन् उनी। ‘जबदेखि हाम्रो संगीतको स्थापना भयो, त्यस बेलादेखि नै हामी पछाडि परेका हौँ। हामीले संगीतमा आफ्नो पहिचान कहिल्यै खोजेनौं।’

अघिल्लो पुस्तादेखि नै संगीतको नेतृत्व गलत तरिकाले भएको उनले आरोप लगाए। त्यस बेलादेखि नै नेपाली संगीतमा पश्चिमी प्रभाव परेकाले नेपाली संगीत सेपमा परेको मुकारुङको बुझाइ छ। ‘हामी चाइनाको म्युजिक सुन्छौं, भारत तिब्बतकै म्युजिक सुन्दा पनि ठम्याउन सक्छौँ। अब हाम्रो संगीतमा पनि मौलिकता भेटिनुपर्छ,’ गम्भीर मुद्रामा उनी भन्छन्, ‘संगीतमा हामी सय वर्ष पछाडि पर्यौं।’

संगीतका साधक गन्धर्व नै हेपिए
संगीत कुनै जाति वा भूगोलले निर्धारण गर्ने कुरामा त उनी कैयौं दाबी पेस गर्न सक्छन्। उनले भने जस्तै नेपालमा एउटा यस्तो जाति छ। ऊ जन्मजात कलाकार हो। तिनै गन्धर्व गीत बनाउँछन् र गाउँछन्। ‘तर गन्धर्वलाई राज्यले सधैं विभेद गरिराखेको छ,’ उनी भन्छन्, ‘राज्यले उनीहरूलाई खरदारभन्दा माथिको जागिर दिन सकेन। अरु कवि केशरी, स्वरसम्राट केके भए। तर ऊ किन गाइने मात्र भइरह्यो?’

झलकमान गन्धर्व नेपालको ‘स्वर सम्राट’भन्दा माथिको तहका लाग्छन् उनलाई।

‘नेपाली संगीतलाई अस्तित्वमा कसरी ल्याउन सकिन्छ त?’ संवादकाे क्रममा उनीसँग अन्तिम जिज्ञासा राख्छु।

‘संगीत जहाँ र जुन भेगमा छ, त्यसलाई प्रयोगमा ल्याउन सके आफैं अस्तित्वमा आउँछ,’ उनले सटिक जवाफ दिए।


नेपाल लाईभ सटकमबाट साभार ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्