Logo

‘बलात्कारी’ कविता -राजु स्याङ्तान 


 

कसैको अनैतिक गर्भ बोकेर
त्रिशूलीमा फाल हानिन्
फूलमाया विक

सरकारले गिरफ्तार गर्‍यो मंगलेलाई
मंगलेले रुँदै भन्यो–
‘सरखार !
म त गोठालो मान्छे
उनकै लागि प्रेमपत्र बोकेर
पर्खिरहेछु वर्षौदेखि’

सरकारले घेरा हाल्यो गाउँलाई
गाउँले एक स्वरले बयान दियोे–
‘हजुर !
फूलमाया कलाकार थिइन्
दुःखका गीत गाउँथिइन् एक्लै
सुन्य बनाएर गएकी थिइन् सहर’

सरकारले समायो सहरलाई
सहरले बयान दियो–
‘श्रीमान !
हातमा अस्वीकृत प्रमाणपत्र च्यापेर
दिनभर भौतारिन्थी कतै
साँझ आएर उ त्यो गल्लीमा
बस्थिइन् एक्लै धुमधुम्ती’

सरकारले पक्राउ पुर्जी थमायो गल्लीलाई
गल्लिले बयान दिँदै भन्यो–
‘अत्याचारको आँधीले लुछेको
एउटा फूल थिइन् फूलमाया
उडाएर लग्यो हुरीले टाढा’

त्यसपछि बन्द भयो
एउटा मुल्तबी मुद्दा

आज फेरि सुनियो
कसैको अनैतिक गर्भ बोकेर
सुनकोशीमा फाल हानिन्
दिलमाया तामाङ

यस पटक ‘सुसाइट नोट’ फेला पर्‍यो
नोटमा थियो बलात्कारीको नाम
लेखिएको थियो
‘राज्य’
….

राजु स्याङ्तान
उन्मुक्त पुस्ताको सामूहिक कविता संग्रह ‘आफर’मा प्रकाशित�


राजु स्याङ्तानको फेसबुकबाट ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्