Logo

आजका छापा खबर


  • विप्लवसँग वार्ता गर्न प्रकाण्डलाई रिहा गर्दै सरकार, विप्लवका तीन सर्त

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतले छाड्न आदेश दिए अर्को मुद्दा नलगाउने निर्णयमा सरकार पुगेको छ ।

नेकपासँग वार्ताको वातावरण बनाउने तयारीमा रहेको सरकारले यस्तो रणनीति बनाएको हो । पक्राउ परेका नेकपाका अन्य नेता–कार्यकर्ताको हकमा पनि यही नीति अपनाउन सरकार तयार भएको छ ।

सरकारद्वारा गठित राजनीतिक वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा बादलबीच बिहीबार गृह मन्त्रालयमा भएको छलफलमा अबदेखि अदालतले रिहाको आदेश दिएपछि नेकपाका कुनै पनि नेता–कार्यकर्तालाई अर्को घटनासँग सम्बन्धित मुद्दा लगाएर पक्राउ नगर्ने समझदारी भएको हो ।

‘गृहमन्त्रीज्यूलाई हामीले नेकपा वार्ताका लागि तयार रहेको, तर पहिले पक्राउ परेका आफ्ना नेता–कार्यकर्ता रिहा हुनुपर्ने सर्त राखेको जानकारी गरायौँ,’ सरकारी राजनीतिक वार्ता टोलीका एक सदस्यले  भने, ‘गृहमन्त्रीज्यूले हाम्रो कुरा गम्भीरतापूर्वक लिँदै सरकार वार्ताको वातावरण बनाउन तयार रहेको र त्यसका लागि पक्राउ परेका कुनै पनि नेता–कार्यकर्तालाई अबदेखि अर्को मुद्दा नलगाउने प्रतिबद्धता पनि जनाउनुभएको छ ।’यो खबर आजको नयाँ पत्रिकामा छ ।

यी हुन् विप्लवका तीन सर्त
सरकारी वार्ता टोलीका एक सदस्यका अनुसार अनौपचारिक संवादमा रहेका विप्लव नेतृत्वको नेकपाका नेताहरूले वार्तामा बस्नुअघि तीनवटा मुख्य माग पूरा हुनुपर्ने सर्त राखेका छन् । सरकारले आफ्नो पार्टीलाई राजनीतिक पार्टी या हिंसात्मक समूह कुन दृष्टिकोणका साथ हेरिरहेको छ प्रस्ट औपचारिक धारणा सार्वजनिक गर्नुपर्ने, देशव्यापी गैरकानुनी धरपकड बन्द गरेर पक्राउ परेका पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा, पदम राई, किरण राई, उमा भुजेलसहित पोलिटब्युरो र केन्द्रीय तहका नेताका साथै सबै कार्यकर्तालाई विनासर्त रिहा गर्नुपर्ने तथा विनाअवरोध राजनीतिक पार्टीको हैसियतमा निर्वाध गतिविधि गर्न पाउनुपर्ने सर्त छ । यी सर्त पूरा भए वार्तामा बस्न पार्टी तयार हुन सक्ने नेकपाका नेता गुणराज लोहनीले बताएका थिए ।

  • सरकारी अस्पतालभित्र अझै निजी फार्मेसी

बारा – बार जिल्ला अस्पताल, कलैयाको सटरमा गैरकानुनी ढंगले निजी फार्मेसी सञ्चालनमा रहेको पाइएको छ ।  अस्पतालको मूख्य प्रवेशद्धारसँगै रहेका सटरमा केही व्यवसायीले बर्षौंदेखि अवैध तरिकाले फार्मेसी सञ्चालन गर्दै आएका छन् ।

सर्वोच्च अदालतले २०७२ असार १३ मा चिकित्सा विज्ञान प्रतिष्ठान, वीर अस्पताल र अन्य सबै सरकारी अस्पतालले फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने र अस्पताल परिसरका निजी फार्मेसी बन्द गराउने आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि कलैया अस्पतालले फार्मेसी सञ्चालनमा ल्याए पनि निजी फार्मेसीलाई बन्द गराउन नसकेको समाचार आजको  कान्तिपुरको पृष्ठ ५ मा छापिएको छ ।

  • सिंहदरबारमा सुरक्षा थ्रेटः पश्चिम गेट बन्द

काठमाडौं – सुरक्षा कारण देखाउँदै देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेश गर्ने पश्चिम उत्तरको दुई नम्बर गेट सर्वसाधारणको लागि बन्द गरिएको छ ।

सर्वसाधारणका लागि पनि सञ्चालनमा रहेको दुई नम्बर (नेपाली सेना) को गेट निजामती कर्मचारीले मात्र प्रवेश पाउने गरी बन्द गरिएको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

सुरक्षाकर्मी र कार्यालय समयमा निजामती कर्मचारीले मात्र प्रयोग गर्ने गरी पश्चिम उत्तरतर्फको गेट बन्द गरिएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले बताए ।

उनले सिंहदरबारभित्र प्रवेश गर्न सहज बनाउनका लागि अध्ययन भइरहेको जानकारी दिए ।

  • स्कुल लाइसेन्स लिन १ लाख घूस

वीरगञ्ज – विद्यालयलाई प्रदान गरिने लाइसेन्स् (इजाजतपत्र) का लागि १ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाको शिक्षा शाखा प्रमुखसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

अख्तियारको हेटौंडास्थित कार्यालयबाट आएको टोलीले बिहीबार अपराह्न महानगरपालिका ६, लाठगल्लीमा बिस्मिलाह होटलमा घुस लिने क्रममा अरुण साह कानुलाई पक्राउ गरेको समाचार आजको कान्तिपुरमा छापिएको छ ।

उनी महानगरपालिकाको शिक्षा शाखामा कार्यरत नायब सुब्बा शशिभूषण साह कानुका भान्जा हुन् । बिद्यालय सञ्चालक एकबाल हैदरसँग १ लाख रुपैयाँ लिँदालिँदै पक्राउ परेका कानुको बयानका आधारमा अख्तियारले महानगरपालिका शिक्षा शाखा प्रमुख मञ्जुर आलम र शशिभूषणलाई पनि पक्राउ गरेको हो ।

सञ्चालकका अनुसार गत आवमा वडाध्यक्षले शिशु कक्षा सञ्चालनको अनुमति दिएका थिए ।

  • यस्तो छ निर्मला पन्तको पोस्टमार्टम रिपोर्ट, सैनिकमाथि पनि अनुसन्धान

दुई महिना हुन लाग्दा पनि कञ्चनपुरकी बालिका निर्मला पन्तको बालत्कारपछि हत्या घटनाको अनुसन्धान शुन्यमै छ ।

अनुसन्धान लाम्बिँदै जाँदा घटना झन् रहस्यमय बन्दै गएको छ ।

प्रहरीले सुरुवाती अनुसन्धानमा लापबाही गर्दा कतिपय प्रमाण नष्ट भएका छन् ।

जसकारण अनुसन्धान डिएनए र पोस्टमार्टमा रिपोर्टमा भर पर्नुपरेको छ ।

निर्मलाको पोस्टमार्टमा रिपोर्टमा बलात्कारपछि नै हत्या गरिएको उल्लेख छ ।

सेती अञ्चल अस्पतालमा भएको पोस्टमार्टममा मृत्युको कारण घाँटी अठ्याएर भन्ने उल्लेख छ ।

बालत्कारपछि आफ्नो पहिचना खुल्ने डरले बलात्कारीले घँटी अठ्याएर हत्या गरेको हुन सक्ने प्रहरी अधिकारीहरु बताउँछन् ।

पोस्टमार्टमा रिपोर्टमा शरीरका अन्य भागमा चोटपटक देखिन्न ।

रिपोर्ट अनुसार १० साउनमा साँझ करिब ५ बजेतिर उनको हत्या भएको देखिन्छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

त्यस्तै, घटनास्थलबाट नजिकै सेनाको २५ नम्बर बाहिनीमा रहेका सैनिकमाथि समेत प्राविधिक रुपमा अनुसन्धान केन्द्रित गरिएको छ ।
तर, पचात्रार भने भइनसकेको प्रहरी स्रोत बताउँछन् ।

  • सरकारी पैसामा काठमाडौका मेयर श्रीमतीसहित अमेरिका

सरकारले वेदेशिक भ्रमणमा नियन्त्रण गरेको बताईरहँदा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारी खर्चमा श्रीमती लिएर अमेरिका गएका छन् ।

महानगरमा सुधारका काम नगरेको भन्दै आलोचना खेप्दै आएका शाक्य सडकभर फोहोर डंगुर छाडेर पत्नी सुचितासहित अमेरिका लागेका हुन् ।

उनको भ्रमण टोलीमा ९ सदस्य छन् ।  १० दिने भ्रमणतालिका छ ।  सरकारी पदमा रहेका व्यक्तिको आवश्यक विदेश भ्रमण रोक्न कडाई गरेको बताउँदै आए पनि सरकारले सामान्य अवलोकन भ्रमणमा मेयरलाई श्रीमतीसहित लिएर जान भने स्वीकृति दिएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।


Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्