Logo

नेकपाकै उच्च नेता भन्छन् : छिट्टै पार्टी फुट्न सक्छ !


काठमाडौं – ‘माइन्ड नगर्नुहोला अब नेकपा लामो समयसम्म नफुटी बस्न सक्दैन’, एकजना सचिवालय सदस्यले भने,‘ भारतीय कार्डका कारणले नै एकीकरण भएको थियो, चित्त नबुझेर फुटाउने षडयन्त्र हुँदैछ ।’

दुई तिहाई बहुमत भएको नेपाल कम्युनिस्ट पार्टीभित्र विभाजनको खेलको विउ भारतले रोपीसकेको छ । त्यसको पहिचान अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरिसकेका छन् । र त उनले पनि सांकेतिक रूपमा भने,‘पार्टीलाई असन्तुलन बनाउनका लागि विदेशी शक्ति क्रियाशील छन् ।’ उनको संकेत भारततिरै थियो ।

नेपालको राजनीतिमा भारतबाहेकका देशले विरलै चासो दिन्छन् । चीनले नेपालका कम्युनिस्टलाई आफुतिर ढल्काउने कोशिश त गरेको छ तर आन्तरिक राजनीतिमा भारतजसरी हस्तक्षेप गरेको छैन ।

नेकपा भित्रका भारतीय कार्ड अरु कोही नभएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै भएको धेरैको ठम्याई छ । प्रचण्ड केही दिनअघि भारत भ्रमण पुगेर चीनतिर लागि सकेका छन् । आफुलाई सन्तुलित देखाउनका लागि उनी चीन भ्रमणमा पुगेका हुन् । भारतले जति चीनले उनलाई उच्च महत्व दिएको छैन । बरु, कांग्रेसका सांसदको टोलीलाई चीनको नम्र स्वागत भएको छ ।

प्रचण्डले भारतमा दिएका अभिव्यक्ति र उनको शैलीका कारण नेकपाभित्र माधव नेपाल, झलनाथ खनाल समुह सशंकीत भएको छ । ओली आफैं पनि शंकामा छन् । कहिलेकाहीँ उनलाई हतारमा एकीकरण गरेको भन्ने सुझाव आउने गरेको छ ।

पछिल्लो समय ओलीले चीनसँगका हरेक सहमतिलाई गति दिने प्रयास भइरहेका बेला भारतले प्रचण्डमार्फत नेकपामा खेल्न थालेको हो । एकताका प्रक्रियामा आएका ह्रासको कारण पनि त्यहि रहेको उच्च स्रोतहरूले दाबी गरेका छन् ।

ओलीसँग सम्बन्ध विग्रिएका बेला भारतको प्रस्तावका आधारमा नै प्रचण्डले सरकार सम्हालेका थिए, जसलाई कांग्रेसको समर्थन थियो । तत्कालिन माओवादी र कांग्रेसको गठजोडले तत्कालिन एमालेलाई कमजोर बनाउने अपेक्षालाई नेपाली जनताले असफल बनाएपछि झस्किएका प्रचण्डले पत्तासाफ हुने अवस्था देखेपछि ओलीलाई फकाएका थिए । चाणक्य नीतिअनुसार चल्ने प्रचण्डको बोली र निर्णयमा अडान नभएको कतिपय प्रसङ्ग त ओलीले तत्कालिन कार्यकालबाट राजीनामा दिँदा संसदमा भाषण गर्ने क्रममा नै भनेका थिए ।

अझ प्रचण्डको भेट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनीतिक सल्लाहकार अजित डोभाल, रिसर्च एन्ड एनालाइसीस विङ (रअ)का पूर्वप्रमुख अशोक मेहेता, भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीसँग भएपछि नेकपा पक्कै विभाजनमा जान्छ भन्ने संकेत मिलेको छ । यहि क्रममा विवादमा आउनेगरी प्रचण्डले भनिदिए– दुई बर्षमा म प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

यसले त अझ पार्टीका अन्य नेतालाई झस्काएको छ । प्रधानमन्त्री बन्नका लागि खुट्टा उचालेका माधवकुमार नेपाल मात्र होइन, अर्को बाटोबाट संसदमा छिरेर प्रधानमन्त्री बन्ने अभिलाषा राखेका बामदेव गौतमलाई पनि चोट परेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजले पनि प्रचण्डलाई ‘रिसेप्सन’ दिएका थिए । बिम्स्टेक सम्मेलनमा मोदीको जम्बो टोलीसँग नेपालमा राजनीतिक कुराकानी भएको केही दिन पनि नबिति प्रचण्डको दिल्ली भ्रमणलाई अन्य रणनीतिक योजना हुनसक्ने आशंकाका रूपमा नेताहरूले हेरेका छन् ।

त्यसो त रअका पूर्व प्रमूख जनरल मेहताले प्रचण्डलाई सार्वजनिक कार्यक्रमका दौरान दिल्लीमा नै ओली चीन परस्त र प्रचण्ड भारत परस्त भएको उदाहरण दिएका थिए । तर, त्यसलाई प्रचण्डले राजनीतिक व्याख्या गर्न कोशिश गरेका थिए ।

नेकपाको आन्तरिक विवादलाई कलह बनाउन सके इस्ट इन्डिया कम्पनीको नीतिअनुसारै नेपालमा राजनीतिक अस्थिरता उत्पन्न गराई त्यसमा आफ्नो भुमिका प्रभावकारी राख्न सकिने नयाँ दिल्लीको ठम्याई छ । यसैकारण संविधानसम्मत निर्वाचन प्रक्रिया पुरा गरी राजनीतिको मुलधार र सरकारमा रहेका मधेसवादी दललाई ३ असोजमा हुने संविधान दिवसको विरोध गर्नका लागि भारतीय उक्साहट हुनसक्ने आशंका जन्मिएको छ ।

तत्कालिन माओवादी भारतीय संस्थापनसँगको सम्बन्धमा सन्तुलित नहुँदा नै पटक–पटक विभाजन भएको थियो । अझ, भारतको विश्वासपात्र मानिएका डा. बाबुराम भट्टराईले पार्टी विभाजन गरेपछि प्रचण्डका लागि आफु नजिकिनुको अर्को विकल्प थिएन । भारतले त्यसबेला उनलाई विश्वास गरेको थिएन ।

०७२ सालमा नाकाबन्दी गरेका बेला ओली सरकार भत्काउनका लागि मुख्य दायित्व निर्वाह गरेपछि प्रचण्डप्रति भारत नरम बनेको थियो । त्यहि नरमपनका कारणले मोदी सरकारले प्रचण्डलाई उच्च सम्मान दिएको थियो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्