जोशीविरुद्ध महाअभियोग लगाउने (नेकपा)को तयारी, खाली कागजमा सांसदहरुको हस्ताक्षर संकलन
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानन्यायाधीश हुनबाट रोकिएका सर्वोच्च अदालतका न्यायाधीश दिपकराज जोशीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको छ । बरिष्ठतम न्यायाधीश समेत रहेका जोशीविरुद्ध महाअभियोग लागि हस्ताक्षर संकलन भइरहेको छ ।
(नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङको नेतृत्वमा विहीबार दिउँसो हस्ताक्षर संकलन गरिएको हो ।
संसद भवनाको शंकर हलमा बोलाएर गुरुङले खाली कागजमा हस्ताक्षर गराएका थिए । हस्ताक्षर कुन प्रयोजनको लागि सुरुमा नभनिए पनि केही सांसदहरुले जानकारी नदिए नगर्ने भनेपछि गुरुङले महाअभियोगबारे जानकारी गराएका बताइएको छ ।
नयाँ प्रधानन्यायाधीश नियुक्तिसँगै सर्वोच्च फर्किएका जोशीले राजीनामा दिने बचन तोडेको (नेकपा)का नेताहरुले बताएका छन् । जोशीले केही मुद्दा हेरेपछि आफूले राजिनामा दिने भनेको उनीहरुको दाबी छ । तर, न्यायाधीश जोशीले आफू प्रधानन्यायाधीश हुन अयोग्य भएपनि न्यायाधीश भएरै काम गर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
आफूभन्दा जुनियर ओमप्रकाश मिश्र प्रधानन्यायाधीश भएर सर्वोच्च पुग्दा जोशीले अंगालो हालेर स्वागत गरेका थिए ।
प्रतिनिधिसभाका २५ प्रतिशत सदस्यले महाअभियोग प्रस्ताव दर्ता गराउन सक्छन् ।