प्रतिनिधिसभाका १० समितिको निर्वाचन शुक्रबार : उम्मेद्वारी दर्ता आजैबाट
काठमाडौँ । शुक्रबार हुने प्रतिनिधि सभा अन्तर्गतका १० बिषयगत समितिका सभापतिको निर्वाचन प्रकृया आजबाट सुरु हुने भएको छ । आज बिहिबार ११ बजे देखि ५ बजेसम्म सभापतिका उम्मेदवारले प्रस्तावक र समर्थकसहित उम्मेदवारी दर्ता गराउनुपर्ने छ ।
संसद सचिवालयले १० वटै समितिमा दर्ता भएका प्रस्ताव आजै बेलुका उम्मेदवारको सूची प्रकाशन गर्ने छ । यसरी दर्ता भएका प्रस्ताव शुक्रबार ११ बजे बस्ने समितिको बैठकमा दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत गरिने छ ।
समितिको बैठकमा जुन उम्मेदवारको पक्षमा बहुमत पुग्छ त्यसलाई नै सभापतिमा विजयी घोषणा गरिनेछ ।
तर एक मात्र उम्मेदवार प्रस्ताव दर्ता भए निर्विरोध घोषणा गरिने ब्यबस्था नियमावलीमा छ ।
शुक्रबार निर्वाचन हुने प्रतिनिधिसभाका समितिहरु राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य, सार्वजनिक लेखा समिति, अर्थ समिति , अन्तर्राष्ट्रिय सम्बन्ध समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक समिति रहेका छन् ।