चाम्लिङ फेरि उत्कृष्ट रचनाकार
काठमाडौँ, ३ असोज – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले प्रसिद्ध गीतकार टीका चाम्लिङलाई एक समारोहमा ‘उत्कृष्ट बालगीत पुरस्कार’द्वारा पुरस्कृत गर्नुभएको छ ।
नेपाल बाल संगठन र रेडियो नेपालद्वारा संयुक्त रुपमा ‘राष्ट्रिय बाल दिवस’का अवसरमा आयोजित राष्ट्रिय बाल गीत प्रतियोगितामा गीत रचनातर्फ उत्कृष्ट भएबापत चाम्लिङलाई पुरस्कार प्रदान गरिएको हो ।
‘सुखी नेपाली समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार’ भन्ने मूल ध्येयसहित आयोजना भएको बाल गीत प्रतियोगितामा चाम्लिङको ‘आमा सधैँ भन्नुहुन्छ– पढ पढ नानू, तर मेरो आँखाभरि खोज अर्कै छ’ बोलको गीत उत्कृष्ट घोषित भएको थियो ।
खोटाङका गीतकार चाम्लिङले यसअघि रेडियो नेपालबाटै उत्कृष्ट गीतकार पुरस्कार हात पारिसकेका गीतकार हुन् । उनका तीन गीतिकृति प्रकाशित छन् भने दर्जनौँ गीतहरू रेकर्डिङ भइसकेका छन् ।