Logo

म पो ‘चैते’ भए, ‘बैशाखे’ माओबादी ‘प्रचण्ड-बादल-पासाङ’ले जनसेनाको संरक्षण गर्नु पर्दैन ?-पौडेल


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता डिआर पौडेलले जनयुद्धमा तत्कालिन शाही नेपाली सेना–प्रहरीलाई विद्रोहको लागि आह्वान गर्नेहरु प्रचण्ड, बादल, पासङले संरक्षण नगरेको बताएका छन् । उनले जनमुक्ति सेनामा भर्नाको लागि आह्वान गर्नेहरु नयाँ सत्ताको शिर्ष स्थानमा भएको तर संरक्षण नगरेको बताएका हुन् ।

नेता पौडेलले जनयुद्धमा आफू नलागेको भएपनि तत्कालिन शाही सेना र प्रहरीबाट विद्रोह गरेका विद्रोही जनमुक्ति सेनाको संरक्षण्मा नगरेकोमा असन्तुष्ट जाहेर गरेका छन् ।

“म ‘चैते माओवादी’ लाई पनि यो कुरा हजम हुन सकेको छैन भने हिजो विद्रोहको लागि आह्वान गर्ने नेता साथीहरू, जो अहिले परिवर्तित नयाँ सत्ताको शिर्षस्थानमा हुनुहुन्छ, आफ्नो आह्वानमा तत्कालिन शाही नेपाली सेना वा नेपाल प्रहरीबाट विद्रोह गरेका विद्रोही जनमुक्ति सेनाको संरक्षणमा कुनै ठोस कदम चाल्नुपर्दैन ?” नेता पौडेलले सामाजिक संजालमा लेखेका छन् ।

जनयुद्धको क्रममा भागेको आरोपमा नेपाली सेनाको समरी जनरल सैनिक अदालतले कालिकोटका सिंहबहादुर शाहीलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेपछि नेता पौडेलले प्रतिक्रिया जनाउँदै उक्त धारणा सार्वजनिक गरेका छन् ।

कालिकोटको शुभकालिका गाउँपालिका–५ सुकाटियाका शाहीलाई सेनाले १४ वर्षपछि जन्मकैदको फैसला सुनाइएको हो । समरी जनरल सैनिक अदालतले १९ वैशाखमा सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । फैसलामा शत्रुसम्बन्धी कसुर ऐनअन्तर्गत दोषी ठहर गरिएको जनाउँदै सर्वस्वसहित जन्मकैद, भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त गरेको छ ।

शाही तारादल गणका कार्यरत रहँदा १८ पुस ०६१ मा धादिङको चरौदीमा अप्रेसनमा खटिएका बेला एउटा इन्सास राइफल, तीन म्यागजिन र त्यसको ६० राउन्ड काट्रिज लगेर जनमुक्ति सेनामा भर्ना भएका थिए । सोही आरोपमा शाहीलाई गत ७ फागुनमा घरबाटै गिरफ्तार गरिएको थियो । समरी जनरल सैनिक अदालतले भने ९ वैशाखदेखि थुनामा रहेको जनाएको छ ।

शाहीको सामाचार सार्वजनिक भएसँगै पौडेलले लेखेका छन्, “जनयुद्ध चलिरहेको बेला कामरेड प्रचण्ड, बादल, वैद्य, बाबुराम, अनन्त, पासाङ, बलदेव, जनार्दनलगायतका नेता कार्यकर्ताहरूको आह्वानमा तत्कालिन शाही नेपाली सेना र नेपाल प्रहरीको जागिर छोडेर, त्यहाँबाट विद्रोह गरेर हतियारसहित वा हतियाररहित कैयौं व्यक्ति जनयुद्धमा सामेल भए । जनमुक्ति सेना बने । त्यसरी विद्रोह गरेर आउनेलाई विशेष सम्मान गरियो, उनीहरूको साहसको प्रशंसा गरियो । ठाउँठाउँमा अभिनन्दन गरियो ।” उनले उनीहरुको योगबाट पुरानो सत्ता पराजित भएको, शाही नेपाल सेनाका नाम फेरियो तर विद्रोह गरेर जनमुक्ति सेना भएका योद्धाहरुलाई छानीछानी सर्वस्वसहित जन्मकैद गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

शाही नेपाली सेना र नेपाल प्रहरीबाट विद्रोह गरेर जनमुक्ति सेना बनेका योद्धाहरूलाई अहिले पनि गर्व गर्न सक्ने वातावरण नबनाए उनीहरुले फेरि विद्रोहको झण्डा बोक्ने पौडेलले ठोकुवा गरे । विद्रोह नगरे आफ्नो सीप र क्षमतको दुरुपयोग गर्न सक्ने बताए ।

“हिजो तपाईं हामीले लगाइदिएको अभिनन्दन र सम्मानको टिका पुछेर ‘तत्कालिन माओवादीले आफूहरूलाई कब्जामा लिएर ‘युद्धबन्दी’ बनाएको बताउँदै स्वाभिमान बेचेर आत्मसमर्पण गर्नेछन्” पौडेलले लेखेका छन् । उनले यसले अर्को विद्रोह जन्माउने भन्दै समयमै विचार गर्न आग्रह गरेका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्