Logo

संविधान असंशोधनीय धर्मग्रन्थ र स्तुतिश्लोक होइन : प्रधानमन्त्री


संविधानका तीन वर्ष :

प्रधानमन्त्री केपी ओलीले संविधान कुनै धर्मग्रन्थ वा स्तुतिश्लोक नभएको बताएका छन् । संविधान दिवसका अवसरमा रासससँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले संविधान असंशोधनीय धर्मग्रन्थ वा पाठ गरेर बसिने स्तुतिश्लोक होइन भन्दै संशोधन र आवश्यक बहस गर्न सकिने बताएका हुन् । एउटा बिरुवा रोपेपछि हुर्कने, फुल्ने र स्वादिष्ट फल दिने अवस्थासँग तुलना गर्दै ओलीले संविधानले अब सुशासन, समृद्धि र सुखको गन्तव्यमा नेपाललाई पु-याउने बताएका छन् । प्रधानमन्त्री ओलीले संविधान दिवसका सन्दर्भमा दिएको अन्तर्वार्ताको मुख्य अंश यस्ता छन् :


  • संविधानको स्वीकार्यता

कहिले कहिले केही खास समस्याहरू आउँछन् । त्यस्ता समस्या समाधान हुन्छन् । कुनै–कुनै समस्या समाधान गरेर पनि समाधान हुँदैनन् । कहिलेकाहीँ राजनीतिका लागि मुद्दा –माग) बनाइन्छ, मुद्दा बाँकी राख्नका लागि उठाइन्छ । ती मुद्दा कसैले सम्झाएर वा सम्बोधन गरेर हुँदैन । कुनै मानिस भोकै छ भने खान्छ तर भोक नलागे पनि भोक लागेको छ भन्छ तर खाँदैन । भोकै छु भन्ने नाममा ऊ भोकको मुद्दा कायम राख्न चाहन्छ । उसलाई भोकै छु भन्ने देखाउनु छ । त्यसैले भोक नलागी भोकै छु भन्न खोज्नेहरूलाई खासै महत्व दिनुपर्छ जस्तो मलाई लाग्दैन ।

यहाँ कहीँ कतैको स्वार्थ र घुसपैठमा लाग्ने केही पृथकतावादी तत्वहरू हुन सक्छन् । त्यस्ता तत्वहरूलाई नेपाली जनताले एक्ल्याउने र अस्वीकार गर्नेछन् । नेपालीले पृथकतावाद सहिरहँदैनन । त्यसैले त्यस्ता पक्षहरूमा त्यति ध्यान दिइरहनु पर्दैन । कसैको स्वार्थका लागि ती तत्वहरू, नेपालको पानी खाएर नेपाल टुक्र्याउन चाहनेहरूको आपराधिक सोच नेपाली जनताले राख्न पनि सक्दैनन् ।

संविधानलाई पूर्णता दिने सन्दर्भमा बसेर छलफल गरेर मिलाउन सकिन्छ । संविधान त्यस्तो असंशोधनीय धर्मग्रन्थ वा पाठ गरेर बसिने स्तुतिश्लोक होइन । यो गतिशील दस्तावेज हो । यो लोक सपार्ने मार्गदर्शक हो । यसलाई संशोधन गर्ने पक्षमा बहस गर्न हामी तयार छौँ ।

निर्वाचनमा भाग लिएका वा नलिएका दलहरूले छिटपुट रुपमा संविधानबारे केही कुरा राख्न सक्छन् तर उनीहरूले संविधान नमान्ने नाममा बिखण्डनतिर लाने कोशिश गर्ने मनसायको गठबन्धनमा देखिने गरी तिनको साथ दिन्छन्न् जस्तो मलाई लाग्दैन ।

  • समृद्ध नेपालका लागि

हामी संविधानको कार्यान्वयनका लागि संवैधानिक प्रावधानमा रहेका कानूनी र परिकल्पना गरेका संरचनालाई पूर्णता दिइरहेका छौं र जनताका सेवा, सुविधा र सहुलियतसम्बन्धी आकाङ्क्षाहरूको सम्बोधन गर्ने क्रममा छौँ ।

‘समृद्ध नेपाल र सुखी नेपाल’को लक्ष्यका लागि विभिन्न प्रयास शुरु गरेका छौँ । यसका लागि हाम्रो आफ्नै प्रयासले मात्र विकासको गति ढिलो हुन सक्छ । हाम्रो आर्थिक र प्राविधिक क्षमताले मात्र नभ्याउन सक्छ । त्यसैले हामीले राष्ट्रिय हित, प्रतिष्ठा र सरोकारलाई ध्यानमा राखेर छिमेकी र मित्रराष्ट्र तथा संस्थाहरूसँगको बिग्रिएको वा असमझदारीमा रहेको सम्बन्ध सुधार्दै, सन्तुलित बनाउँदै सहकार्य र सहयोगको नयाँ उचाइको सम्बन्ध विकास गरेका छौँ ।

  • अगाडि काम नहुँदा कानुनका ढिलाई

संविधानले सुनिश्चित गरेका अधिकारहरूको स्थापनाका लागि हामीले तोकिएको समयभित्र मौलिक हकहरूसँग सम्बन्धित कानून तयार गरेका छौँ । हामीले संविधान कार्यान्वनका लागि कानूनी र संरचनाका क्षेत्रमा संविधानले सुम्पेका कार्यभारहरू पूरा गरेका छौँ । यो सन्तोषको कुरा हो । अघिल्ला समयमा पर्याप्त काम नगरेका हुनाले हामीलाई समयमा कानून ल्याउन सकस प-यो ।

  • संविधानको मूल्यांकनमा विद्यार्थी भर्ना

मैले भन्दै आएको छु, म मुलुकको सरदर प्रतिव्यक्ति आय वा कुल गार्हस्थ्य उत्पादनको प्रतिशतमा सन्तोष मानेर बस्दिन । सरदर विकासको मापनभन्दा माथि पुगेर कोही पनि नागरिक खान, लाउन, बस्न र छोराछोरी पढ्न नपाउने अवस्था हुनुहुँदैन ।

हामीले यसै वर्ष विशेष विद्यार्थी भर्ना अभियान चलाएर विद्यालय नगएका र नजाने करीब तीन लाख बालबालिकालाई विद्यालयमा भर्ना गराएका छौँ । फेरि हामी अर्को अभियान चलाएर बाँकी बालबालिका भर्ना गराउनेछौँ । भर्ना भएका विद्यार्र्थीलाई टिकाउने छौँ । यो संविधानले सुनिश्चित गरेको शिक्षाको अधिकार हो । तल जगदेखि उठाउने र माथि पनि उन्नत शिक्षामा जाने जस्ता कुराहरूबाट समृद्धिको यात्रा तय गर्ने संविधानको लक्ष्य हो ।

  • सबै तहका सरकार छुट्टै र स्वतन्त्र होइनन्

हामीले प्रदेशलाई प्रदेश हो भन्ने बुझ्नुपर्छ, ती अलग राष्ट्र होइनन् । हामीले केन्द्रमा दुई सदनको सङ्घीय संसद्, प्रदेशमा सात प्रदेशसभा, ७५३ स्थानीय तह र ७७ वटा जिल्ला समन्वय समिति बनाएका छौँ । ती क्रियाशील छन् । विभिन्न तहमा ७६१ सरकार छन् । ती छुट्टै र स्वतन्त्र सरकार होइनन् । सबै नेपाल सरकारका स्वाभाविक अङ्ग हुन् । सरकार नभनिएको समन्वय समिति पनि जनप्रतिनिधि संस्था हो । यी सबैका आफ्ना कामकर्तव्य छन् ।

प्रदेश सरकारसँग प्रदेश प्रहरी हुन्छ । नगरपालिकासँग नगर प्रहरी हुन्छ तर बन्न नपाइकन कहाँ सबै कुरा हुन्छ ? प्रदेश सभा र सरकार गठन भयो, तिनलाई राख्ने ठाउँ अझै छैन । विभिन्न कार्यालय खाली गरेर प्रदेशसभा र सरकारका कार्यालय खडा गरिएका छन् । तीन वर्ष अगाडि विभिन्न निर्वाचन र प्रदेश संरचनाको तयारी गरेको थिएँ, त्यसबेला सरकार ढाल्ने कुरामा साथीहरू आँगनमा निस्किएर नाच्दानाच्दै बित्यो । वास्तवमा केही पनि गरिएको थिएन ।

  • उछालिने र उत्तेजक हुने प्रवृत्ति

यसबीचमा यी सबै गरिए । यस बीचमा यो सरकार आएपछि यति धेरै कानूनहरूको निर्माण भयो । सभाहरू, सरकारहरू सञ्चालन भए । स्थानीय तहमा कानून बनाउने, न्यायाधीश हुने, कर लगाउने भनिएको छ, कसरी गर्ने ? कोही अभ्यस्त थिएन १ कतिपय कुराहरू नमिलेका छन् तर यसो भन्दैमा यो विषय कुनै बाबुले छोराछोरीलाई अंश दिएन भनेर लडाइँ झगडा गरेजस्तो होइन । कुन कुन तहमा कहाँ कहाँ कसरी कसलाई जिम्मेवारी लिएर जनताको सेवा, सुविधा र विकास दिन सकिन्छ, त्यो हामीले मिलेर सल्लाह गरेर गर्ने हो । हामीकहाँ अलि बढी उछाल्ने र उत्तेजक कुरा गर्ने एक प्रकारको प्रवृत्ति पनि छ ।

शान्ति सुरक्षाका सन्दर्भमा म भन्न चाहन्छु, नेपाली समाज सामाजिक नैतिक मूल्यमान्यताका हिसाबले उच्च मूल्यमान्यता र आदर्शमा बाँचेको समाज हो । आर्थिक रुपमा सम्पन्न नभए पनि हामी उच्च मूल्य र आदर्शमा बाँचेका मानिस हौँ । अहिले पनि थारु जातिमा सयभन्दा बढी सदस्यको परिवार मिलेर बसेको छ । एउटै भान्छामा खाएर बसेको छ । यो सहिष्णुता यो दुनियाँमा नेपालबाहेक अरु कसैले कल्पना गर्नै सक्दैन । यस्तो ठाउँमा हामी हाम्रा मूल्यमान्यता र सामाजिक, धार्मिक मूल्य र बन्धनहरूमा बाँधिएका छौँ ।

  • संविधान लङ्गुरबुर्जा खेल्दा जस्तो दाउ परेर ल्याएको होइन

लोकतन्त्रको मुख्य पक्ष जनताको अभिमतलाई स्वीकार्नु हो । जुनसुकै बहानामा लोकतन्त्रलाई अस्वीकार गर्नु तानाशाहीपन हो । जनताको भावनालाई तानाशाहले अनेक बहानामा अस्वीकार गर्ने प्रवृत्तिहरू हुन सक्छन् तर नेपालमा त्यस्ता प्रवृत्तिको कुनै भविष्य छैन । नेपाली जनताले यो संविधान लङ्गुरबुर्जा खेल्दा आफूलाई दाउ परेको जस्तो गरेर ल्याएको होइन । यसमा जनता सजग छ ।

  • स्वादिष्ट फल दिने बेला आयो

समृद्ध नेपाल र सुखी नेपालीको नारा हाम्रा पुर्खाहरूको ज्ञान र निष्कर्ष सर्वे भवन्तु सुखिनः (सबै सुखी रहुन्) को मर्ममा आधारित छ । सुख समृद्धिबाट हुन्छ तर समृद्धिबाट मात्र सुख प्राप्त हुँदैन । समाजमा भय र अपमान छ भने मान्छेलाई निद्रा लाग्दैन । चैन हुँदैन ।

हाम्रा पुर्खाहरूको ज्ञान र ऋषिमुनिहरूका साधनाका निष्कर्ष, पछिल्ला ऋषिमुनि कार्ल माक्र्सको दुःखको व्याख्या मात्र नगर दुःखलाई सुखमा बदल्नुपर्छ भन्ने विचार, पुष्पलाल–मदन भण्डारी आदिले भनेको निष्कर्ष जनताको प्रतिस्पर्धात्मक, लोकतान्त्रिक गणतन्त्रको समष्टि प्रतिफल नै सुख हो ।

राजनीतिक परिवर्तन त आइसक्यो । हामी जनताका आकाङ्क्षाहरू सुन्थ्यौँ । अब हामीले त्यसलाई प्रत्यक्ष अनुभव गर्नुपर्छ । यी सबै कुराको निष्कर्ष सुशासन र विकासको बाटो हुँदै समृद्धितर्फको यात्रा हो ।

एउटा बिरुवा रोपेपछि हुर्कन्छ, फल्छ अनि स्वादिष्ट फल दिन्छ । हामी सुशासन र विकासको बाटोबाट समृद्धि र सुखको गन्तव्यमा पुग्न चाहन्छौँ ।

  • संविधान संसोधनपछि मात्र उत्साह देखापर्छ : उपेन्द्र यादव

मधेस, जनजाति, दलितहरूको मुद्दा सम्बोधन हुन बाँकी छ । संविधान संसोधन भएर मुद्दा सम्बोधन भएपछि मात्र उनीहरूमा उत्साह देखापर्छ । तीन वर्ष उत्साहवर्धक छैन । मौलिक हक कानुन बन्यो, आवश्यक कानुन बनाएर छिटो संविधान संसोधन गरेर जानुपर्छ । तर, अब ढिलाई गर्नु हुन्न । संविधान संसोधन नगरी सुख छैन । संविधान संसोधन भएपछि असन्तुष्ट पक्ष पनि सहमतिमा आउँछन् । लोकतन्त्रमा कुनै पनि दलहरूले कुनै कार्यक्रममा भाग लिन वा नलिन सक्छन् । संविधान दिवसमा कुनै दलले भाग लिंदैनौं भने पनि यो बाध्यकारी होइन ।

रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्