रुसी जासुसी विमानमाथि क्षेप्यास्त्र प्रहार, भूमध्यसागरमा खस्दा १५ सैनिकको मृत्यु
काठमाडौँ । रुसी जासुसी विमानलाई क्षेप्यास्त्र प्रहार गरेर खसालिएको छ । सिरियाको आकाशमा उडिरहेको विमानमाथि आक्रमण भएको हो ।
रूसी रक्षा मन्त्रालयका अनुसार क्षेप्यास्त्र प्रहारपछि विमान भूमध्यसागरीय क्षेत्रमा खासेको थियो । विमानमा सवार १५ सैनिकको मृत्यु भएको छ ।
अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार आक्रमणमा इजरायली हात रहेको रूसले बताएको छ । सिरियाको उत्तरपश्चिमी क्षेत्रमा इजरायली लडाकुसँग भएको दोहोरो भिडन्त भइरहेको बेला विमानमाथि क्षेप्यास्त्र प्रहार भएको हो । विमानका चालक दलका सदस्यसहित सबैजनाको मृत्यु भएको रूसी रक्षामन्त्रालयले पुष्टि गरेको छ ।
रूसी सेनाले दिएको जानकारी अनुसार सोमबार राति आफ्नो जासुसी विमान आइएल–२० हवाई अखडामा फर्किरहेका बेला सामुद्रिक सतहदेखि ३५ किलोमिटर टाढा आक्रमण गरिएको हो । इजरायली चालकले रूसी विमानलाई ढालका रूपमा प्रयोग गर्दै आक्रमणको निशाना बनाउन सफल भएको रूसी रक्षामन्त्रालयका प्रवक्ता मेजर जनरल आइगोर कोनासेनकोभद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
रूसी रक्षामन्त्री सर्गेइ सोइगुले आफ्ना इजरायली समकक्षी अभिगडोर लाइबरम्यानलाई मङ्गलबार फोन गरी घटनामा पूर्णतया इजरायल दोषी रहेको बताए । तर, इजरायली सैनिक तथा विदेश मन्त्रालयले विमान आक्रमणबारे रूसी दावीको खण्डन गरेका छन् ।
रूसले विमानको भग्नावशेष र केही मृत शरीरलाई समुद्रबाट बाहिर ल्याइसकिएको बताएको छ ।